सरकारी भवन अलपत्र छाडेर भाडामा वडा कार्यालय सञ्चालन !

 माघ १, २०७५ मंगलबार १६:४०:५८ | मुना हमाल
unn.prixa.net

सुर्खेत – सुर्खेतको बराहताल गाउँपालिका वडा नम्बर २ ले सरकारी भवन छोडेर भाडाको घरमा कार्यालय सञ्चालन गर्दै आएको छ ।

अन्य टोलहरुलाई पायक नपर्ने भन्दै वडा कार्यालयले वडा नम्बर २ मै पर्ने रानिघाटमा भएको भवनलाई छोडेर भाडामा कार्यालय सञ्चालन गरेको हो । पाँच कोठे भवन अहिले बेवारिसे अवस्थामा छ ।

वडा कार्यालयकाे नयाँ भवन

स्थानीय र केही जनप्रतिनिधिहरुको विरोध भएपनि अन्य क्षेत्रका लागि पायक नपर्ने भन्दै थापाडेरा वडा कार्यालय सारिएकोे हो । गएको मंसिर २९ गते रानिघाटबाट वडा कार्यालयलाई थापा डेरा सारिएको हो ।  अलपत्र  परेको भवनमा पशुसेवा इकाई लेखेको बोर्ड मात्र झुड्याइएको छ ।

वडा कार्यालय भाडाको घरमा अहिले कर कटाएर महिनाको पाँच हजार रुपैयाँ भाडा तिर्दै आइरहेको छ । कर कटाएर वार्षिक ६० हजार घर भाडामा मात्र खर्च हुन्छ । सरकारी भवन हुँदाहुँदै पनि भाडामा कार्यालय सञ्चालन गरेको भन्दै स्थानीयले गुनासो गरेका छन् ।

खाली सरकारी भवन

थापा डेराबाट रानिघाट जाँदा भेरीमा रहेको झुलुङ्गे पुल तरेर जानुपथ्यौँ ।  ‘भेरी नदीको पुल तरेर वारी रानिघाट  आउन धेरै समय लाग्दैन ।  त्यस्तै १० देखि १५ मिनेटसम्म लाग्छ । हामीले हाम्रो टोलमा ‘वडा कार्यालय भएन्’ भनेर पनि विरोध गरेका होइन’, स्थानीय कबिराज थापाले भन्नुभयो, ‘अहिले महंगो भाडा तिरेर वडा कार्यालय सञ्चालन भइरहेको छ । हाम्रो यस प्रति मात्र गुनासो हो ।’

पहिले वडा कार्यालय भएको सरकारी भवनमा स्वास्थ्य चौकी, भेरी माध्यमिक विद्यालय छ । स्थानीय डिलबहादुर पुलामीले स्वास्थ्य चौकी, विद्यालय पुरानै ठाउँमा भएकाले प्रायः सेवा लिन रानिघाट आउनुपर्ने भएकाले भाडामा वडा कार्यालय मात्र संचालन गर्न नहुने बताउनुभयो ।

पहिलाको वडा कार्यालय भएको भवन नजिक बस्ती भएकाले त्यो जग्गा एलानी भएकाले अरुले हड्प्न सक्ने स्थानीयको भनाई छ । पहिला वडा कार्यालय सरकारी भवनमा नै सञ्चालन गर्ने भनेर दुईजना वडा सदस्यले भाडाको घरमा सञ्चालन गर्न मानेका थिएन् । दुईजना सदस्य र वडा अध्यक्षले पारि सार्ने भनेपछि पारि सारिएको हो ।

‘पहिला सरकारी कार्यालयमा नै सञ्चालन गर्ने भनेर मसहित अर्को एकजना वडा सदस्यले मानेका थिएनौँ’, वडा सदस्य दुर्गा बिष्टले भन्नुभयो, ‘अब जसरी पनि नागरिकलाई सेवा नै दिने हो भन्ने सोचेर हामीले भाडाको घरमा कार्यालय सञ्चालन गर्न सहमति जनाइयौँ ।’

यता वडा अध्यक्ष युवाराज कार्कीले सबै नागरिकलाई पायक पर्ने ठाउँ भएकाले वारि वडा कार्यालय सारिएको जानकारी दिनुभयो । आफ्नो ठाउँमा वडा कार्यालय नभएकाले विरोध गर्नु स्वभाविक भएको भन्दै उहाँले पम्का  र डोप्काका नागरिक र रानिघाटका नागरिक दुवैलाई पायक पर्ने ठाउँमा वडा कार्यालय सारिएको बताउनुभयो ।

‘वडा कार्यालय टाढा भयो भनेर जनगुनासो बढेपछि म बाध्य भएर वडा कार्यालय सारेको हुँ’, उहाँले भन्नुभयो, ‘त्यो भवन स्वास्थ्यको पनि हो । गाउँपालिकाको निर्णयले पाँच हजार भाडा दिने भनेर भनेका छौँ । त्यो भवन अब मर्मत गरेर केही व्यवस्था गर्ने निर्णय भएको छ ।’

अन्तिम अपडेट: बैशाख ६, २०८१

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया