प्रहरीको फोनले अपहरणकारीबाट बचे एक युवक

 माघ १, २०७५ मंगलबार १७:३८:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

कैलाली – धनगढीको जलशा होटलमा दुई कामदारबीच सामान्य विवाद हुँदा एक युवक अपहरणमा परेका छन् ।

जलशा होटलको रेस्टुरेन्टमा काम गर्ने २० वर्षीय चक्र खड्का र १९ वर्षीय वसन्त भाटबीचको समान्य विवाद चुलिँदा एक युवक अपहरणमा परेका हुन । विवाद बढेपछि खड्काले साथीहरु बोलाएर भाटलाई मोटरसाइकलमा राखी मोहना नदीतर्फ लैजाँदै गर्दा प्रहरीले भाटको उद्धार गरेको छ ।

घटना बिहान ९ बजेतिर भएको प्रहरीले जनाएको छ । खड्काले चारपाँच जना साथी बोलाएर आफूलाई ‘मार्छु’ भन्दै मोटरसाइकलमा जबरजस्ती राखेर मोहना नदीतर्फ लगेको अपहरणबाट मुक्त भएका भाटले बताउनुभयो ।

कैलाली जिल्ला प्रहरी कार्यालयका निमित्त प्रवक्ता प्रहरी निरीक्षक गोविन्द खड्काले भाटको अपहरणमा संलग्न चक्र खड्का, धनगढी–२ का १९ वर्षीय हर्केश बाग र १९ वर्षीय कुन्दन जोशीलाई पक्राउ गरेको छ ।

अपहरणमा प्रयोग भएको से ७ प ३४४५ नम्बरको मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ । अपहरणमा संलग्न अन्यको खोजी कार्य जारी रहेको खड्काले जानकारी दिनुभयो ।

वडा प्रहरी प्रमुख प्रहरी निरीक्षक वकिल सिंहले भाटको मोबाइलमा फोन गर्दा अपहरणकारीले नै उठाएर भाटलाई ‘हामी मारेर खाल्डोमा गाड्ने तयारीमा छौं’ भनेको र  सिंहले ‘तिमीहरु को हौ र कति नम्बरको मोटरसाइकल चलाएका छौ ?, त्यो सब थाहा छ । म गोली हानेर उडाउँछु’ भनेर डर देखाएपछि उनीहरु भागेको प्रहरीले अनुमान छ । अपहरणमा संलग्न एकजना अझै फरार छन् ।
 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया