म्याग्दीमा माघे सङ्क्रान्तिको रौनक (फोटोफिचर)

 माघ १, २०७५ मंगलबार १८:१०:२२ | प्रताप बानियाँ
unn.prixa.net

म्याग्दी – म्याग्दीका मगर समुदायले मङ्गलबार माघेसङ्क्रान्ति पर्व धुमधामसँग मनाएका छन् ।

आफ्नो जातीय पोशाकमा सजिएका बुढापाका, अधबैंसे र युवायुवतीहरुले सोरठी, पुख्र्यौली, सालैजो, यानीमाया, ख्याली भाकाका साथै विभिन्न लोपोन्मुख गीतसङ्गीत र नृत्यहरुमा छमछमी नाच्दै माघेसङ्क्रान्ति पर्व मनाएका हुन् ।

‘सम्पूर्ण मगरहरु एक होऔं, भाषा कला र संस्कृतिको संरक्षण गरौं’ भन्ने मूल नारासहित माघेसङ्क्रान्ति पर्वको अवसर पारेर मगर संघ म्याग्दीले सदरमुकाम बेनीमा प्रभातफेरी ¥यालीको आयोजना गरेको थियो ।

माघेसङ्क्रान्ति पर्वलाई मगर समुदायले ठूलो चाडका रुपमा लिने गर्दछन् भने सोही अनुसार उनीहरुले मनाउँदै आइरहेका छन् । जनजातिको बाहुल्यता रहेको जिल्ला म्याग्दीमा मगर समुदायले माघेसङ्क्रान्ति पर्वलाई शुभकामना आदानप्रदानसहित विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरी भव्य रुपमा मनाएका छन् ।

मगर भेषभूषामा सजिएका युवायुवती र बुढापाकाहरुसहितको र्‍यालीमा सालैजो, सोरठीसहित लोपोन्मुख भाकाको लयमा युवायुवती र बुढापाकाहरु छमछमी नाचेका थिए । 

माघेसङ्क्रान्तिका अवसरमा बेनीमा मगर जातिको पहिचान झल्कने पोशाक, खानपान तथा सांस्कृतिक झाँकीसहित कार्यक्रमहरु गरिएको छ । मकर सङ्क्रान्तिका रुपमा चिनिँदै आएको माघी पर्वको अवसरमा मगर समुदायले जातीय भेषभूषमा सजिएको सांस्कृतिक र्‍यालीले सदरमुकाम बेनीबजार परिक्रमा गर्‍यो ।

मगर समुदायमा लोपोन्मुख सोरठी, पुख्र्यौली र मारुनी नृत्य र्‍यालीमा देखाइएको थियो । कार्यक्रममा लोपोन्मुख थालीनाच समेत प्रस्तुत गरिएको छ । मगर समुदायले परापूर्वकालदेखि नै प्रकृतिको पूजाआजा गरी धुमधामसँग माघेसंक्रान्ति पर्व मनाउँदै आएका छन् ।

माघेसङ्क्रान्तिलाई प्राकृतिक रुपमा वर्षात्को समय शुरु भएको पर्वको रुपमा मनाउने गरिएको मगर संघ म्याग्दीले जनाएको छ । मगर जातिमा माघ महिनालाई वर्षात्को समय शुरु भएको सङ्केतका रुपमा लिने गरिन्छ ।

मगर समुदायमा यस पर्वमा आफन्तजन एकापसमा भेला भई शुभकामना साटासाट र विविध सांस्कृतिक कार्यक्रमहरु गरेर मनाउने प्रचलन रहिआएको छ । प्रकृतिमा विश्वास गर्ने भएकाले परम्परादेखि नै उभौली पर्वको रुपमा माघेसङ्क्रान्तिलाई मनाउने गरिएको मगर अगुवाहरु बताउँछन् ।

खेतीबाली र पशुपालन राम्रो होस्, रोगव्याधी नलागोस्, दुःखद घटना नघटुन भन्ने कामनासहित माघेसङ्क्रान्तिमा पूजा गर्ने र देवतालाई खुशी बनाउने परम्परा रहेको मगर संघ म्याग्दीका अध्यक्ष मनप्रसाद थजालीले बताउनुभयो ।


 

अन्तिम अपडेट: चैत २५, २०८०

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया