पूरा भएन राजश्वको लक्ष्य, विकास खर्चमा निराशा मात्रै, डा. महत भन्छन् : गफले मात्रै समृद्धि आउँदैन

 माघ १, २०७५ मंगलबार १८:४२:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – चालु आर्थिक वर्षको ६ महिना सरकारको लागि निराशाजनक देखिएको छ ।

दोस्रो त्रैमासिक सकिँदा सरकारले लक्ष्यअनुसार राजश्व संकलन गर्न सकेको छैन भने विकास खर्चको अवस्था पनि उत्साहजनक रहेको छैन । जसबाट सरकारले भन्दै आएको समृद्धिमा सरकार नै गम्भीर नभएको देखिएको छ । 

लक्ष्यअनुसार उठेन राजश्व

सरकारले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकमा ४ खर्ब २९ अर्व रुपैयाँ राजश्व उठाउने लक्ष्य राखेको थियो । तर दोस्रो त्रैमासिकमा जम्मा ४ खर्ब १ अर्ब रुपैयाँ मात्रै राजश्व उठेको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ । 

पोहोरको  तुलनामा यो आर्थिक वर्षको पहिलो ६ महिनामा राजश्व संकलन २५ प्रतिशतले बढेको छ । तर राजश्व संकलनको लक्ष्य भने पूरा भएको छैन ।  सरकारले यो आर्थिक वर्षमा ९ खर्ब ४५ अर्ब रुपैया राजश्व संकलनको लक्ष्य राखेको छ ।

विकास खर्चको अवस्था पनि निराशानजक

सरकारले यो आर्थिक वर्षको लागि ३ खर्ब १३ अर्ब ९९ करोड रुपैयाँ पुँजिगत अर्थात विकास बजेट छुट्याएको थियो । तर पहिलो ६ महिनामा विकास खर्चको अवस्था अत्यन्तै निराशाजनक देखिएको छ । 

३ खर्ब १३ अर्ब ९९ करोड रुपैयाँमध्ये ६ महिनामा जम्मा ५३ अर्ब २९ करोड रुपैयाँ मात्रै खर्च गरेको छ । यो रकम कुल विकास खर्चको जम्मा १७ प्रतिशतको हाराहारी मात्रै हो । सरकारले यो वर्ष विकास खर्चमा जोड दिने र असारे विकासलाई रोक्ने योजना बनाए पनि त्यो सफल नहुँदा यो वर्ष पनि विकास खर्चको अवस्था निराशानजक देखिएको छ । 

गएको आर्थिक वर्षको पहिलो ६ महिनामा ४८ अर्ब रुपैयाँ मात्रै विकास बजेट खर्च भएकोमा यो आर्थिक वर्षको ६ महिनामा ५ अर्बले  खर्च बढेको छ । तर सरकारले राखेको लक्ष्य अनुसार भने यो खर्च सन्तोषजनक होइन ।

चालु खर्च ३५ प्रतिशत

सरकारले यो आर्थिक वर्षको लागि ८ खर्ब  ४५  अर्ब ४४ करोड रुपैयाँ चालु खर्च छुट्याएको थियो । तर पहिलो ६ महिनामा जम्मा ३५ प्रतिशत मात्रै रकम खर्च भएको छ । पुसको अन्तिमसम्म जम्मा २ खर्ब ९५ अर्ब ६८ करोड रुपैयाँ चालु खर्च भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ । 

‘समृद्धिका गफले देश चल्दैन भन्ने प्रमाण’

पूर्व अर्थमन्त्री तथा नेपाली कांग्रेसका नेता डाक्टर रामशरण महतले सरकारले काम नगर्ने तर गफ मात्रै गर्ने गरेको प्रमाण अहिले देखिएको बताउनुभएको छ । 

उज्यालो अनलाइनसँगको कुराकानीमा डाक्टर महतले भन्नुभयो, ‘सरकारले लोकप्रिय हुने नाममा बिनातयारीका योजना अघि सार्‍यो, दोस्रो कुरा प्रशासनिक क्षमतामा पनि वृद्धि गर्न सकेन र तेस्रो कुरा विगतमा सुरु गरिएका ठूला आयोजना पनि अलपत्र अवस्थामा छन्, यही कारणले नै विकास खर्च भएन ।’

यो आर्थिक वर्षको ६ महिनाको अवस्था हेर्दा समृद्धिका गफले मात्रै देश बन्दैन भन्ने पाठ सिकाएको पूर्व अर्थमन्त्री डाक्टर महतले बताउनुभयो । 

‘गफले मात्रै समृद्धि आउने भए पहिल्यै आइसक्थ्यो, समृद्धिको लागि ठूलो भिजन चाहिन्छ, योजना चाहिन्छ, तर अहिले त गफ मात्रै भयो अरु कुरा हुन सकेन’, उहाँले भन्नुभयो । 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया