ओहो त्यो भूकम्प ! (९० सालको भूकम्प भोग्नेहरुको स्मरण)

 माघ २, २०७५ बुधबार ८:३५:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

सत्यमोहन जोशी - शताब्दी पुरुष

मेरो घर पाटन । मेरो पिताजी महाराजगञ्जमा सानो नोकरी गरी डेरामा बस्नुहुन्थ्यो । म सानो केटो भएको हुनाले आफैसँग लैजानुभएको थियो । आमा सुत्केरी भएको हुनाले पाटनमै बस्नुहुन्थ्यो । भूइँचालो आउँदा म त्यो गाउँमा गाउँघरकै साथीहरुसँग खेल्दै थिएँ । अचानक दिउँसो भूइँचालो गएको बेलामा हामी पेटीमा बसिराखेका थियौँ एउटा घरमा ।

त्यहाँ रुख बेस्सरी हल्लियो, र त्यो तल र माथि भएको देख्दा हामी हास्यौँ के भएको भनि रोमाञ्चक मानेर । भूइँचालो भन्ने त थाहा थिएन । त्यो के भएको अचानक, कहिले पनि त्यसो नहुने, चराहरु पनि कराउन थाले । त्यतिकैमा एकजना महिला, पाको मान्छे आएर भूइँचालो गएको हो ल अब यहाँ बस्न भएन भनेपछि बल्ल भूइँचालो गएको थाहा भयो । त्यो मैले स्वयं अनुभव गरेको, रुख एकदम हल्लिएको । घर पनि त्यस्तै भयो होला । हामी पेटीमा बसेकोले देखिएन । पछि पेटीको ठाउँ–ठाउँमा चिरा परेको देखियो ।

 केही छिनपछि मेरो पिताजी आउनुभयो । ल अब घर जाँउ भनेर महाराजगञ्जबाट पाटनमा आउदाखेरि अनेक ठाउँमा घर भत्केका दुःखदायी घटनाहरु हेर्दै बाग्मती संखमूलमा आउँदाखेरि बाटो बन्द भएको रहेछ । ठाउँठाउँमा चिराचिरा परेका त्यहाँबाट बल्लबल्ल चिरा परेको ठाँउ छलेर बाटो क्रस गरेर घरनिर आयौँ । जब घर आइपुग्यौँ मेरो पिताजी रुनुभो । घर त सखाप । दुईतले घरको तल्लो तला मात्र बाँकी रहेपछि । आमा पनि गयो, अब संसार नै बित्ने भो । वरिपरि कोही पनि थिएन । सबै जना भूकम्पबाट बचेका मान्छेहरु खुला ठाँउमा जम्मा भएका रहेछन् । त्यहाँ दुई महिनाको बच्चा बोकेकी आमालाई देखे पछि बाको मन ढुक्क भयो । हाम्रो मात्र नभएर अरुहरुको पनि त्यस्तै हाल भएको थियो । घर पस्ने त कुरै आएन । त्यही आ–आफ्नो केही कपडाहरु ल्याएर रातको गुजारा भयो, त्यति बेला पाल थिएन । ५,७ दिन त्यही बसे पछि घरका आफ्ना दलानहरु जति बचेको छ त्यति सफा गरेर खाना पकाउने, खाने गर्यौं। घर बनाउन त सम्भव नै थिएन । यसरी भयानक भूकम्प केटाकेटीमा भोगेको हो ।

म त्यति बेला दरबार हाईस्कुलमा  पढ्थेँ । पाटन स्कुल त त्यति बेला चकनाचुर भइसकेको थियो । त्यति बेला पाटन स्कुल पठन पाठनको निम्ति पोखरीको डिलमा छाप्रो राखेर संञ्चालन भएको थियो । दरबार हाइस्कुल पनि सखापै भएको थियो माथिल्लो भाग । त्यो बेला घण्टाघर ढले पनि पेटीहरु, तल्लो बरण्डाहरु केही भएको थिएन । खाली घण्टाघर मात्र बिगियो । अरु सबै बचेको थियो । त्यसैले दरबार हाइस्कुल त्यहाँ सरेर बीचबीचमा कपडाको पर्दा हालेर पठन पाठन भएको थियो । त्यो खुला भएकोले जाडो छल्नको लागि बीच–बीचमा गोल जलाएर बस्यौँ । यसरी ठाउँ–ठाउँमा बिग्रेको सबैलाई थाहा भएकै कुरा हो ।

त्योबेला महांकाल स्थानमा एउटा भूकम्प पीडित उद्धार संघ भन्ने त्यो बेलाका शासकहरुले राखेका थिए । उनीहरुले कोष संकलन गरेर घर बनाउनको निम्ति जाँच गरेर मोटामोटी सेवा सुरु गर्ने, कस्को घर कस्तो छ, दुई तले घर, एक तले घर लाई मर्मत गर्नको लागि कति चाहिएला । त्यो बेला अहिलेको जस्तो महंगो भने थिएन । ४००-५०० देखि बढीमा ३००० सम्म दिएर भए पनि घर बनाए । त्यो पैसा भूकम्प पीडित उद्धार संघबाट ऋणको रुपमा दिएको थियो । त्यस पछि घर बनाउन शुरु भयो । त्यो बेला सिमेन्ट भन्ने थाहा थिएन । जस्ता पाता बेल्जियमबाट झिकाएर बिक्री बितरण भएको थियो । त्यो तरिकाले मानिसहरुले घर बनाए । झिगटीको सट्टामा जस्तो प्रयोग भएको त्यो बेलादेखि नै हो । बेल्जियमको जस्ता आएपछि धेरै जसो घरहरु जस्ता पातामा नै बने । यो तरिकाले घरहरु मर्मत हुँदै आयो ।

त्योबेला नयाँ सडकको नाम जुद्ध सडक थियो । पछि नयाँसडक भयो । तर वास्तवमा जुद्ध शमसेरले त्यही जुद्ध सडक भूगोल पार्कमा अभिलेख राखेर त्यसको सम्झनामा भूगोल पार्क रह्यो । भूगोल कसरी हुन्छ, भूगोलको बनोट कस्तो हुन्छ भन्ने थाहा थिएन, त्यसैले गोल गोल गरेर सिधै पारेर उठायो । अहिलेसम्म त्यो कायमै छ । दिनको एकचोटी जुद्धशमसेर घुम्न आउथे हात्तीमा चढेर । त्यो दैनिक कार्य थियो उनको ।

त्यो तरिकाले भूइँचालोले एक किसिमको नयाँ सडक आयो । राम्रै पनि देखियो , घरहरु पनि राम्रा–राम्रा बने। एक थरी के भो भने पहिलेकै शैली कायम गरेर मन्दिर हरु पनि बने । पाटनको तलेजु मन्दिर पहिले कै शैलीमा बन्यो । त्यो बेलाको कमी कमजोरी पनि होला । मुस्लिम शैली गुम्ब शैली पनि आयो । पाटनको हाईदेवल भने पहिले त छानै शूलीको मन्दिर थियो । पछि त्यसलाई छोट्याएर घुमाउरो शैली पनि भित्र्याए । त्यो बेला कृष्ण मन्दिर भने केही भएको थिएन । कृष्ण मन्दिरको आसपासको त्यो तलेजु पनि खतम भो । भिमसेन मन्दिर केही भएन । विश्वदेवल आदि सखापै भो । कृष्ण मन्दिर जस्ताको त्यस्तै रह्यो । के भएको, कसो भएको प्राविधिक ज्ञानले पनि भेटाउन नसकिने, नजिकैको दाँयाबाँया जाने कतै केही नहुने ।
 
त्यही तरिकाले कीर्तिपुरको उमामहेश्वरको सबभन्दा तल्लो मन्दिर, कीर्तिपुरको घरहरु, मन्दिरहरु केही भएको थिएन । कीर्तिपुर एउटै ढुंगामा उभिएको शहर हो भन्छन् । सायद बनाउने संरचनाले हो कि । त्यहीँको पाँगा फेरि बिग्रियो । अहिलेसम्म त्यो रहस्य नै छ । त्यो बेलाको प्राविधिकको, चुकुलहरुको, सामग्रीहरुको हिसाबले त्यहाँ बचेको हो कि । हुन त धेरै मन्दिरहरु, घरहरु,सारा सहर भत्क्यो फेरि कुनै–कुनै त बाँकी पनि रह्यो ।

भूकम्पको बारेमा देखिने गरेर अभिलेख लेख्ने हो भने नदेखिने, लुप्त भएर, जमिनमुनि लुकिराखेकोलाई उत्खनन गर्न सकेको खण्डमा नेपालको भूकम्पको इतिहास त्यहाँ बाट सुरु गर्न सकिन्छ । किनभने त्यो मन्दिर त्यतिकै लडेको त होइन । यति बेला लिच्छविकालमा बनेका मूर्तिहरु कहीँ कतै देख्न पाइँदैन । खास गरेर १३/१४ शताब्दीदेखि पछि अहिले आएर जेजति देखिराखेका छन् १४ औँ १५ औँ शताब्दीमा मल्लकालीन मन्दिरहरु हुन् । त्योभन्दा अगाडिको छँदै छैन । सब यो महाभूकम्पबाट नै स्वाहा भैसकेको हुनुपर्छ ।

त्यसको प्रमाण के हो भने काठहरु मक्किए, मन्दिर पनि सकिए, मूर्तिमा अभिलेख छ, मिति पनि लेखिएको छ । ती मूर्तिले इतिहास जनाउँछ । ती मूर्तीको आधारमा भूकम्पको इतिहास पनि खोज्दै जानु पर्छ । उदाहरणको निम्ति राजा मानदेवको पालामा बनेको तिलगंगाको एउटा मूर्ती छ, विष्णु विक्रान्तको मूर्ती जसमा त्यो बेलाको सुनौलो युग  । त्यहाँ उत्कृष्ट संस्कृत भाषामा श्रद्धालाई सम्झनामा काव्यधारा नै लेखिएको छ । यसले गर्दा त्यो मूर्ति अहिले चोरिएला, बाहिर लगिएला भनेर राष्ट्रिय संग्राहलयमा छाउनीमा सुरक्षित साथ राखिएको छ ।

यसैले अब यो भूकम्पको इतिहास लेख्दा यी पुराना कुराहरुको जुन प्रविधि छ त्यसलाई उपेक्षा गर्नु हुँदैन । त्यो इतिहास पनि रहनु पर्‍यो, त्यति बेलाको  प्रविधिलाई पनि ल्याउनु पर्‍यो । कृष्ण मन्दिर र कीर्तिपुरको उमामहेश्वरको मन्दिर किन भत्केन। त्यसको त झिगटी पनि खसेन त्यहाँ किन ? त्यत्रो अग्लो किन खसेन । त्यसैले यो प्रविधि हामीले पनि ल्याउनु पर्छ । किन भने अहिले हामी नयाँ–नयाँ प्रविधिमा गइराखेका छौँ । सिमेन्ट र डण्डीको जमानामा यसरी घर बनाउने भन्ने । त्यो परापूर्वकालका पुर्खाहरुले पनि त चुकुलहरुको प्रयोगले एउटा किला तान्दा पनि बाहिरबाट आउँदैनथ्यो । त्यो बेला सारा सामग्रीहरु आफ्नै देशको प्रयोग गरेर त्यत्रो बनाइ राखेको । त्यो इतिहासको सामग्रीहरु संकलन गरी राखेर भूकम्पको इतिहास बनाउनु पर्छ । संस्कृतिको कुरा गर्दाखेरि पृथ्वीमातालाई कछुवाले काँधमा राख्दा काँध फेर्दा पृथ्वी हल्लिन्छ भन्ने छ, त्यो वैज्ञानिक नहोला । भूइँचालो किन आएछ, कम्प किन हुन्छ भनेर पृथ्वी माताको पूजा गर्ने नेवारहरुको चलन पनि छ ।

भूइँचालो आउँदाखेरी चराचुरुङ्गीहरु उड्ने, कमिलाहरु गुँडबाट निस्कने, गुँड सार्ने यस्ता–यस्ता धेरै अध्ययन गर्ने ग्रामीण तरिकाले त्यो विश्वासमा, बैज्ञानिक तरिकाले पनि अध्ययन गर्नुपर्दछ । त्यसैले रुद्राक्षको बोट भयो भने भूइँचालो आउँदैन त्यो घरमा भन्ने पनि छ, त्यो किन हो यस्तै लोक संस्कृतिको आधारमा पनि जनविश्वासलाई पनि संकलन गर्नुपर्छ ।

दिनेश पन्त (इतिहासविद)

अभिलेखको आधारमा भन्ने हो भने नेपालको पहिलो प्रामाणिक काल भनेको लिच्छविकाल हो । यसभन्दा अघिको कुरा पनि अनुसूचीको आधारमा, वंशावलीको आधारमा, पुरातात्विक उत्खननका आधारमा पत्ता नलागेको होइन । त्यसो भएतापनि अभिलेखको आधारमा तोकेर भन्न सकिने पहिलोकाल लिच्छविकाल नै हो । लिच्छविकालका अहिलेसम्म दुई सयभन्दा बढी अभिलेखहरु पाइएका छन् । तर ती अभिलेखबाट भूकम्पको बारेमा हामीले केही थाहा पाउँदैनौँ । यसको अर्थ त्यो बेलामा भूकम्प भएको होइन भन्ने कुरा होइन किनभने वरिष्ठ भूगर्भविदहरुले सिद्ध गरेको कुरा हो कि नेपाल भनेको एउटा अत्यन्त भूकम्प गईरहने क्षेत्र हो ।

धेरै काल अघिसम्म लिच्छविकालपछि र पृथ्वीराज मल्ल आउनुभन्दा अगाडिको काल अन्धकार युग भनिन्थ्यो । त्यो भन्नुमा मुख्य कुरा के थियो भनेदेखि त्यसबेलाका सामग्रीहरु अत्यन्त कम मात्र उपलब्ध थिए । अहिलेको स्थितिमा निकै परिवर्तन आइसकेको छ तापनि अपेक्षा अरु कालमा भन्दा त्यसको कुरा हामीलाई धेरै कम थाहा छ । तर भूकम्पको दृष्ट्रिकोणबाट भन्ने हो भने सुरुदेखि नै त्यो काल भूकम्पको इतिहास थाहा पाइएको  कालको रुपमा छ । वि सं. १२५७ मा अरि मल्ल पहिलो मल्ल शासक भएको पाइन्छ । हामीकहाँ वि.सं. १२८० देखि नै नेपालमा गएका भूकम्पहरुको बयान पाइन्छ । अहिलेभन्दा ६ सय वर्ष अगाडि पृथ्वीराज मल्लको पालामा गोपालराज मल्ल वंशावली तयार भयो त्यसमा भूकम्पका केही बयानहरु पाइन्छ । त्यसमा भूकम्पबाट तात्कालिक राजाहरु पनि मरेको वर्णनहरु पाइन्छ र भूकम्पको इतिहास पहिल्याउनको लागि नेपालको इतिहासमा गोपालराज वंशावलीको अत्यन्त ठूलो महत्व छ ।

त्यसपछि आउँछन् शाह कालमा लेखिएका वंशावलीहरु । ती नेपाली भाषमा लेखिएका हुनाले भाषा वंशावलीको नामले प्रसिद्ध छन् । त्यसबाट पनि हामी भूकम्पका कुरा निकै थाहा पाउछौँ । तर मल्ल कालमा पाईने छासकुहरु मल्लकालमा नपाइएको भए मल्कालका धेरै एैतिहासिक घटनाहरुबाट हामी विमुख हुनुपर्थ्यो । किनभने अभिलेखबाट तात्कालिक छासकुहरु वा जस्ले राख्यो उसका आफ्नो गुणगानका कुराहरु हुन्छ । वास्तवमा ती छासकुहरु किन हो किन अपेक्षाकृत भूकम्पसम्बन्धी कुराहरु थाहा पाउन त्यति साह्रो मद्धत भने गर्दैनन् । जति वंशावलीहरुले गर्दछन् ।

हाम्रो परम्परामा प्रत्येक कुराहरुलाई देवदेवतासँग जोड्ने चलन हुने हुनाले भूकम्प गएका कुरामा देवदेवता नै जोड्ने चलन छ । जस्तो वंशावलीमा वि.सं. १८९० को जुन ठूलो भूकम्प भयो त्यो भूकम्पमा अरु घरहरु धेरै भत्के, धेरै मानिसहरुको पनि मृत्यु भयो । पशुपतिनाथ आदि केही देवस्थलको त घण्ट पनि हल्लिएन भनेर लेखिएको छ । अर्को कुरा कुनै वंशावलीमा, कुनै वर्णनमा कस्तो पनि पाइन्छ भने देखि मच्छिन्द्रको रथ तान्दै थियो बिघ्न पर्‍यो, त्यसको कारणले गर्दा भूकम्प गयो । यस्तो खालका बयानहरु पनि प्रशस्त पाइन्छ ।

अरु धेरै प्रचलित वंशावलीमा चाँहि एउटाको यस्तो बयान भएको हुनाले उस्तो बयान भएको हुनाले, यस्तो गर्दा खेरी भूकम्प गयो भनेर भनेको त्यो चाहिँ वंशावली होइन, प्रामाणिक कुरा हो । कुण्डलीहरु पनि छ । यहाँ चाहि के लेख्नुपर्छ भने देखि भूकम्प गएको हुनाले यस्तो हुन थालेको हो भनेको छ ।

यो केही अंश

साके १७२० सम्वत् १८६५ जेष्ठशुरी दशहरामा ठूलो भूइकम्प भयो । खोकना, बुग्मतीमा घर भत्क्यो । ३ सयमा कोही–कोही जग्गामा पुराना भएका घरहरु समेत बिगर्या, कोही–कोही जग्गामा जमिन फाट्यो । यस उत्पातले १८६६ साल श्रावणमा लाहोरदेखि सिम्वको लस्कर आई लडाइ भयो, सिम्बले जित्यो, हाम्रो लस्कर हसट सतरुद्रपारको मुलुक गयो । त्यस दिन देखि गोरखाको जय भएन । तेह्र प्रताप घट्दै गयो ।

साके १७५५ सम्वत् १८९० भाद्रमासे, दिन १२ गते, रोज सोमबासरे, दिन शेष घटी शून्य पला ३६ छँदा ठूलो भूकम्प गयो । त्यसैदिन रात्री, अर्ध १२ घटी पला ठूलो भूकम्प भयो, दरबार भत्क्यो, विष्णुगरी धेरै देवल बिग्र्या, बसन्तपुर र हात्तीसार पट्टि धेरै दरबार पञ्च झ्यालपट्टि भत्क्यो, जगन्नाथको देवालय, ठूलो धरहरा ढल्यो, सहरमा धेरै घर भत्की मानिस मर्या । यस श्राब्दीदेखि शहरमा धेरै मानिस बस्यानन् । यसदिन भूइँचाला गयाको जम्मा ४२ पल्ट । भोलि बेलादेखि पनि भूकम्प हुँदै रह्यो । गन्न पनि सकिएन । भादगाँउ शहरमा घर देवालय तीन भागमा एक भाग रह्यो । सहर गायब भयो ।

अरु सहरमाभन्दा भादगाँउमा धेरै मानिस मर्‍या । चिसापानीको गढी, सिन्धुलीमाडीको गढी पनि भत्की ठूलो बितण्ड भै गयो । महिना दुई सम्म भूकम्प हुँदै रह्यो । श्री ५ महाराजाधिराज राजेन्द्र विक्रम शाह भूकम्प भएको भोलि बेर भाद्रअघि सुधि रोज १३ भई बिहान भइ दुईमा सहरमा घर, देवालय कति बिग्रेका छन् भनी विचारमा लाई पाउ लाग्नु हुँदा हेर्दै सहर बाहिर जानु भयो । बाग्मती, त्रिपुरेश्वर पुग्याका बेलामा रात्रीको भूइँचालाले श्री जगन्नाथको देवालय सकलले देख्दा देख्दै ढल्यो, सारा  मिचिया । यस भूकम्पले सहर काठमाडौमा भत्कयाका जम्मा ४००, देवालय भत्कयाका १३०, मानिस मिचि मर्याका ३२, भादगाँउ सहरमा घर भत्कयाका ७००, मानिस मिचि मर्याका जम्मा ५००, पाटन सहरमा घर, देवालय भत्कयाका ४०, मानिस जना २ मर्या, पूर्व देश गोरखा सहर घर ४०० को थियो, त्यसमध्ये बाँकी रहल जम्मा १० घर , अरु सबै घर भत्कया । गाँउ–गाँउ सर्बत्र पर्वतया घर समेत भत्कया । यस्ता बिघ्न अघि भयाका नथ्या न पछि हुन्या छन् ।

साके १७५८ सम्वत् १८९३ माघ महिनामा तत्कालिन श्री ५ महाराजाधिराज राजेन्द्रविक्रम शाहबाट कम्पु कम्पय गएर पूरा पश्चिमको पजनी भिमसेन थापाबाट झिकी आफूले ग्रहण गरी बक्सेको, त्यो चाहिँ लगातारै आएको छ । यताबाट यीनले के देखाए भनेदेखि १८६५ को भूकम्प आएदेखि नै पश्चिमपट्टिको राज्य खतम भयो र १८९० को भूकम्पमा ३१ वर्षसम्म लगातार शासन गरेर आएका भिमसेन थापाको पतन सुरु भयो । यस्ता कुराहरु अन्य भन्दा विशिष्ट कुराहरु यसले देखाएको छ । पुराना कुराहरु त जसले भन्दा पनि लिखित सामग्रीको आधारमा भन्ने हो ।

नेपालको भूकम्पको इतिहास तयार पार्नको लागि अपरिहार्य भएको कुरा मैले प्रष्टयाउन चाहन्छु । एउटा अघि नै भनिहालियो । गोपालराज वंशावली खुद भयो, विभिन्न संस्करणहरु । वंशावलीका संस्करणहरु भन्दा एउटा कुरा विचार पुर्‍याउनु पर्छ – वंशावलीमा तात्कालिक स्थितिमा वंशावलीहरुले ती चाहि ज्यादै प्रामाणिक हुन्छन् । जति–जति माथि गयो अनुसूची भएको हुनाले प्रामाणिकता पनि घटेको हुन्छ ।

अर्को कुरा के भने यो १८६५ को “धर्तीहरुको श्रृगारशतक” भन्ने छ । यसमा पूर्णानन्द नामधारी छ । यीनले श्रृंगारशतक सार्दाखेरि पनि भूकम्प गएको कुरा टिपेका छन् । त्यसैले पुराना प्लोफोनहरु पुष्टिका बाक्यहरु पनि अध्ययन गनुपर्ने रहेको भूकम्पको अध्ययन गर्न । विभिन्न पुराना पात्राहरुबाट पनि नेपालमा पञ्चाङ्गको दृष्टिकोणले त्यसमा के हुन्छ भने ज्योतिषले यति घडी पलामा भूकम्प गयो भनेर टिपेका हुन्छन् । पुराना पात्राहरु राष्ट्रिय अभिलेखालयमा पनि पाउन सकिन्छ ।

हाम्रो प्राच्य विद्या(संस्कृत विद्या)मा पनि भूकम्पको अध्ययन अध्यापन हुन्थ्यो । उदाहरणको रुपमा चाँगु नारायणको स्तम्भ–लेख स्थापना भएको १५४३ वर्ष भयो । त्यो वि.सं. ५२२ को अभिलेख हो । मानदेवको राज्यकाल वि.सं. ५६२ सम्मको अभिलेख भेटिएको छ । ती ५६२ ताकाका दयानिधि भन्ने ठूला ज्योतिषी थिए । उनको पुस्तकमा भूकम्पसम्बन्धी अध्याय नै छ । भूकम्प कसरी जान्छ, के गर्छ त्यसमा पनि अरु विद्धानहरुले पनि टिका लेख्ने, टिका गर्ने आदि पद्धतिहरु पनि हाम्रो पद्धतिमा चलिरहेको छ र भूकम्पको बारेमा साङ्गोपाङ्ग यहाँको पद्धतिको बारेमा अध्ययन गर्न चाहने मान्छेले त्यता तिरको पुस्तकको पनि ध्यान दिनु पर्छ जस्तो लाग्छ ।

अर्को विचारणीय कुरा के छ भने नेपाल भूकम्प गइरहने क्षेत्र भन्ने कुरा त सबैलाई अवगत भएकै कुरा हो । वि.सं १८९० मा पनि ठूलो भूकम्प गयो । १९९० मा पनि ठूलो भूकम्प गयो । अब २०९० मा के होला ?

हनुमान ढोका दरबारसँगै रहेको तलेजु मन्दिर वि.सं. १६२० मा महेन्द्र मल्ल राजाले बनाएका हुन् । यो धरहरा भिमसेन थापाले तत्कालीन जिजुमुमा बडामहारानी भनौं ललितत्रिपुरा सून्दरीको नाममा बनाएको र उनले आफ्नो दरबार बाग दरबारमा पनि धरहरा बनाएका थिए । त्यो १८९० को भूकम्पमा ती दुवै धरहरा धराशायी भए । १८९० कै भूकम्पको प्रभावले भिमसेन थापाको पतन भएको भन्ने कुरा देखायो । तर उनको पनि केही घटुवा सुरु भएको थियो होला । उनको निजी धरहरा उठाइएन । त्यो राजकीय भएको हुनाले उठाइयो । फेरि त्यो धरहरा १९९० को भूकम्पमा पनि ढल्यो । फेरि पछि उठाइयो । त्य

स्तै १९५१ तिर अहिले त्रिचन्द्र कलेज भएको ठाँउमा बनाएको घण्टाघर पनि ढल्यो । १८९० को र १९९० को भूकम्पमा पनि तलेजु केही त भत्क्यो । त्यसको त्यति उच्चा भएपनि त्यति भत्केन । त्यसमा तात्कालिक नेवारी सामग्री ठूलो देवल नै थियो भनिन्छ । त्यसबाट के बुझिन्छ भने वास्तुशास्त्रको दृष्टिकोणले पनि प्राच्य वास्तुशास्त्र महत्वपूर्ण मानिन्छ । त्यसको लागि हाम्रो परम्परा त छैन अध्ययन गरेर बढाउनु पर्ने कुरा छ, प्राचीनकालको संस्कृतिका कुराहरुको अध्ययन गर्न सक्यो भने भूकम्पबाट हुने क्षति न्यूनीकरण गर्न सकिन्छ कि ।

भैरव रिसाल - पत्रकार तथा संरक्षण अभियन्ता

म महाभूकम्प जाँदा १८३८ दिन अर्थात ५वर्ष ५ महिना ५ दिनको रहेछु । भूकम्पको अलिअलि कम्प चाहिँ थाहा छ मलाई । म सानो फुच्चो, मेरो गाउँमा एउटा कुलो थियो, पानी आउँथ्यो । माघ २ गते २ बजेर २४ मिनेट र २२ सेकेण्डमा रे भूकम्प आएको । त्यो बेलामा पानीमा पातहरुमा हिलो मुछेर खेल्दै थिएँ, यताउता हल्लियो के भो थाहा छैन । म गाउँको केटो ५ वर्षको । खालि कम्प मात्र थाहा छ । के भो, के भो मात्र थाहा छ । तर सुनियो त्यही गाउँमा एकजना पुरेत्याई गर्नुहुन्थ्यो, एउटा पितृकार्य गर्न गएको बेलामा उहाँ बित्नुभएछ । ए तल सानो बाको बा त मर्नु भयो रे । मर्‍या के हो ? के हो ? थाहा हुन्नथ्यो । ९० सालको भूकम्प मलाई थाहा छैन ।

मैले पढेका दुइवटा किताब एउटा पद्म शमसेरको किताब र अर्को पुरुषोत्तम शमशेरको “श्री ३ हरुको तथ्य वृतान्त” पढेका आधारमा यो कुरा भन्दैछु । १ करोड ५० लाख जनसंख्या भएको त्यसबेलाको त्यो बिहार नेपालमा ६० लाख जनसंख्या थियो, काठमाण्डौमा त कति थियो थाहा छैन । त्यो बेला बिहारमा ७ हजार ८८ मरे भने नेपालमा ८ हजार ५ सय १९ जनाको भूकम्पले ज्यान लिएछ । बिहारको तुलनामा काठमाण्डौमा धेरैजनाको मुत्यु भएको तथ्यांक लिन सकिन्छ । किन त भन्दा बिहारतिर साना घर होलान्, उद्योगधन्दा तिर कतै गए होलान्, दिउँसोको समय हुनाले र काठमाण्डौमा महिलाहरुको मृत्यु धेरै भएको छ । जुद्धशमशेर नयाँ मूलुकमा गएका रहेछन् शिकार खेल्न । त्यो बेलाको सञ्चारको कारणले जुद्ध शमशेरले नेपालमा भूकम्प आएको कुरो थाहा पाउन १० दिन लागेछ । केशर शमशेरकी श्रीमतीले हत्त न पत्त चिठी लेखेर केशरशमसेरलाई सवारीमा पठाइछन् र जुद्धशमशेरले भन्दा केशर शमशेरले छिटो थाहा पाएछन् । जुद्ध शमशेर काठमाण्डौ (नेपाल) फर्कदा २२ दिन लागेछ ।

त्यो बेलासम्म यहाँ सरकारी तहको सँगसँगै व्यक्तिहरुले स्वयंसेवीको रुपमा धेरै उद्धारको काम गरेको थाहा हुन्छ । एकजना साझा यातायातमा टिकट बेच्ने र पैसा लिने टेकनाथ कि के नाम हो उहाँ त इन्द्रचोकमा पुरिनु भएछ । भुईँ मुनि श्वास छ , ज्यूँदो छ भन्ने थाहा पाएर खाल्डो खनेर पाइपबाट दुध खुवाएर तीन दिनमा मात्र झिक्या छ । यो खालको त्यो बेलाको अबस्था छ । आपदविपद् परेको मान्छेलाई उद्धार गर्नुपर्छ भन्ने संस्कृति त्यो बेलामा पनि थियो । पुरस्कार, तक्मा आदि पाइन्छ भनेर होइन । दैनिक रुपमा उद्धार गर्नुपर्छ भन्ने रैथाने संस्कृति थियो । विपद्हरु जस्तै बाढी, आगलागी जे जस्तो मा पनि । अहिले पनि त्यही छ । तर त्यो बेलामा त्यसको निकै नाम थियो । भूकम्प, आगलागि, प्रदूषण आदि जस्ता विपद्ले दर्जा भन्दैन ।

त्यो बेलाका राजा त्रिभुवनका दुइटी छोरी नारायणहिटीमा किचिएर मरेछन् । यो खाल्डोमा ५५ हजार ७ सय ३९ घर नोक्सान भएछन ।  काठमाडौ खाल्डोमा ४ हजार २ सय ९६ मान्छेको निधन भएछ त्यो भूकम्पले । काठमाडौमा ४ हजार २ सय ९६ जना मान्छेलाई दाहसंस्कार गर्न त अप्ठ्यारो पर्‍यो होला । दाउरा किनेर जलाउनु पर्ने । त्यो कता किन्ने, कता जलाउने, आदि जस्ता सामाजिक प्रभाव देखिन्छ । १–७ दिन सम्म पनि शवहरु पाइएका छन् । पाटनमा पनि अत्यन्त बिजोग थियो रे । सामाजिक प्रभाव हृदयविदारक, छाती चिर्ने खालको अवस्था थियो तर पनि हिम्मत हारेनन् मान्छेहरुले ।

जंगबहादुरले दैवीप्रकोप आउदाखेरि उद्धार गर्न भनेर त्यो बेलाको ११ करोड रुपैयाँ अर्थ मन्त्रालयमा राखेका रहेछन् । त्यो ९० सालको भूकम्प गएपछि जुद्ध शमसेरले १ करोड ५० लाख रुपैयाँ घर बनाउन सक्नेलाई निर्ब्याजी रुपमा ऋण दिएछन् । त्यो निर्ब्याजी ऋण पाउने कर्मचारी, भारदार बढी छन् । घर बनाउने आचार संहिता ३४ हात भन्दा बढीको नबनाउने भन्ने छ ।  भूकम्पको संकेत दिने प्राणीहरु हुन्छन् रे सर्पले संकेत दिन्छ रे । सर्प दुलोबाट बाहिर निस्कन्छ रे , अनि कुकुरको कृयाकलापमा फरक हुन्छ रे भूकम्प आउनु भन्दा अगाडि । केही चराहरुले पनि संकेत दिन्छन् रे । उनीहरुको कृयाकलाप (वाणी) अध्ययन गर्ने हामीकहाँ विकास भएन । हाम्रो सौभाग्यले भूकम्प नजाओस् । वि.सं. १८९०, १९९० जस्तै भूकम्प गएर २०९० मा पनि सामाजिक प्रभाव नपरोस् ।

सुर्दशन तिवारी - इतिहासविद

ऐतिहासिक भूकम्प कति–कति बेलामा भए भन्ने कुरा त गोपाल वंशावलीमा सन् १२५५ मा ठूलो भूइँचालो गयो, मल्ल राजा नै मरेको कुरा पनि छ । १८३३ मा दुईवटा धरहरा धराशायी भए भन्ने छ तर १८३३ मा एउटा धरहरा चर्केको र अर्को धराशायी नै भएको हो । त्यस पछि ९० सालको ठूलो भूइँचालो गयो । त्यति बेलाको गोरखापत्रले दिएको तथ्याङ्क अनुसार ६ लाख २० हजार घरहरु धराशायी भए । यसरी धेरै ठूलो भूइँचालो ५–७ पुस्ताको अन्तरमा आउने गर्दछ । मध्यम खालको भूकम्प ३ पुस्ता पर आउँछ । यसले गर्दा प्रविधिमा के फरक पर्छ भने हामी भूइँचालो आएर भत्के पछि त्यो अध्ययन गरेर हामीले कसो गर्ने भनेर निर्णय लिनु छ भने त्यति सहज परिस्थिति अहिले छैन ।

ठूला–ठूला देशमा, भूइँचालो चाँडो–चाँडो आउने देशमा प्राविधिक विकास वा भूइँचालो को प्रतिरोधी भन्ने अलि चाँडो होला । नेपालमा हेर्दा भूइँचालोले गर्दा मध्यम खालको रेक्टर स्केलको भूइँचालो आयो भने थेग्न सक्ने स्थिति छ र यो १००–१०० वर्षमा आउनेलाई भने हाम्रो प्रविधिले थेग्न सक्दैन जस्तो लाग्छ । हाम्रो निर्माण प्रविधि हेर्यो भने १३९४ कुम्भेश्वरमा मन्दिर बनाएको छ त्यो मन्दिर हेर्दा हामी परम्परागत प्रविधिमा त्यति बेला कुनै भूइँचालो आएर बनाएको होइन । त्यस बेला समसुद्धिन आउँदा भत्काएपछि बनाएको हो त्यसपछि १४८२ मा एक तला थपेर तीन तला बनाएको थियो । त्यहाँ अहिले हेर्दा पनि मोटो–मोटो देवलहरु प्रयोग भएको छ । त्यति बेला सम्म हाम्रो परम्परागत प्रविधि थियो । हाम्रो तलेजु १५६४ मा महेन्द्र मल्लले बनाएको हो । त्यो ३७ मिटर अग्लो छ । नेपालको सबभन्दा पहिलो तीनतले मन्दिर पनि त्यही हो । त्यसमा ७ वटा रिङ–टायर्सहरु प्रयोग गरिएको थियो भन्ने छ ।
 
त्यति बेलाको छासकुहरुले वंशावलीमा के लेखेको छ भने तीन तले मन्दिर गुभाजुलाई बनाऊ भन्दा हामीले बनाउन सक्दैनौं भनेर पछाडि हटेका थिए रे । पछि एक जना जोगी आएर यसरी बनाउ भन्ने तरिका दिए पछि बनाएको हो भन्छ । यसैले यो भूकम्प प्रतिरोधीको रहेछ भन्ने थाहा हुन्छ । त्यस पछि आएको भूकम्पले यसलाई केहीगर्न सकेको छैन । त्यस पछि १६८० मा बनेको पाटनको देवतले मन्दिर छ । सायद दरवारको जस्तो तला छ, त्यहाँ भित्र ६२ को फंकले त्यसलाई चारैतिर बाँधेको छ । त्यसले गर्दा त्यो मन्दिरको माथिल्लो तलो भत्के पनि तललो तला भने भत्केन यसबाट कसरी भूकम्प प्रतिरोधी भवन बनाउने भन्ने कुराको विचार आइसकेको छ त्यस पछि १६९० मा योगनरेन्द्र मल्लले कुम्भेश्वरमा अर्को ३ तला थपेर पाँच तला बनाइदिए । त्यो भन्दा अगाडि २ तले मात्र थियो । न्यातपोल मन्दिर भूपतीन्द्र मल्लले ५ तले बनाउँदा खेरि यसको ३ तलामा गएर हेर्दा पहिले ३ तला र पछि २ तला थपेको हो कि जस्तो लाग्छ, जोर्नीहरु पछि जोडेको जस्तो देखिन्छ । ९० सालको भूइँचालोमा कुम्भेश्वर मन्दिर पाताल नै भएको थियो भने न्यातपोलको माथिल्लो एक छाना मात्र खसेको थियो । त्यसकारण न्यातपोलमा पनि भूकम्प प्रतिरोधी भएको जस्तो देख्न सक्छौं ।

त्यस्तै १७२२ आएर पचपन्न झ्याले दरबार बन्यो । त्यसको चोटा भने दोश्रो तला हो । १७७० मा आएर नौ तले धरहरा बन्यो । नौ तले धरहराको तल पाँच तलामा देवतले मन्दिरको प्रविधि प्रयोग भएको थियो । १८३३ मा यो धरहरा चर्किदा त्यति बेलाको नेपालले स्टीलको पाताले  बाँधेको देखिन्छ । पछि बाँधेको स्टिल पातालाई प्लाष्टरले बाँधेर जस्ताको त्यस्तै पारियो । नेपालमा स्टिलको प्रयोग हाम्रो धरहरा चर्केदेखि भएको देखिन्छ । यसरी हेर्दा नेपालको परम्परागत भवन निर्माण प्रणालीमा सुरक्षित प्रविधि बढ्दै आएको देखिन्छ । सायद अन्त्यमा आएर न्यातपोल र पचपन्न झ्याले दरबारमा प्रयोग भएको यो दुईटा प्रविधिमा हामीले प्रयोग हेयौ भने विभिन्न प्रविधि कङक्रिटस् जुन सवलिकृत गर्न खोजेका छौं यो विकाश भैसकेको जस्तो लाग्छ ।

इँटाको गारो त बनाउने तर धेरै मोटो बनाउने, त्यसभित्र पनि काठको टायर्सहरु राख्ने र तीनवटा गारोहरु राखेर घर बनाउछौं । भूइँतलामा बीचको पर्खालको बुइँगलमा वा चोटामा आएर थामहरु राखेर निर्माण गर्ने चलन छ । त्यसले पनि भूकम्प प्रतिरोधलाई प्रभावित गरिराखेको छ । परम्परागत भवन निर्माण प्रणालीमा तल्लो तलामा, छिँडीमा कम झ्याल त्यसपछि माथि गए पछि झ्याल ठूलो हुदै जाने ।

५५ झ्याले दरबारमा माथिल्लो तलामा त्यस्तै भइहाल्यो । त्यस्तो विचारको विकाश भइहालेको थियो भने अहिले हामी धेरै जान्ने भएर कङक्रिटस् र स्टिल बाहेक अरुमा भूकम्प प्रतिरोधी भवन नै बन्दैन भन्ने भएको छ । जोर्नीहरु र चुकुल प्रणाली प्रयोग गरेको थियो । प्रत्येक भवनमा धेरै चुकुलहरुको प्रयोग भएको हुन्थ्यो, त्यो बलियो हुन्थ्यो । ठूलो घर भूईचालोले भत्किदैन भन्ने कुरा ९० सालको जत्रै र त्यो भन्दा ठूलो वा त्यसको हाराहारीको भूइँचालो १८९० मा आउदाखेरी ५५ झ्याले दरबारलाई केही पनि भएको थिएन । ९० सालमा त्यसको काठको फ्रेम भत्काइदियो । तल्लो नभत्किने माथिल्लो भत्किने किन भयो त भन्दा मर्मत नहुँदा, राम्रो मर्मत भयो भने भूकम्प प्रतिरोधी हुन सक्छ । के प्रविधि पनि छ भने घरको थामलाई अड्याउन ढुंगा राख्ने, ढुंगालाई कोपेर सानो प्वाल पारी त्यसलाई अड्याउने नत्र त्यो हल्लिन्छ । यस्तो प्रविधिले निकै सुरक्षित गराएको छ ।

१९३४ को तथ्याङ्क अनुसार (९० सालको चैत वैशाखको गोरखापत्र अनुसार) १६,८७५ जना मानिस मरेको, ३ लाख ३७ हजार घरहरु काठमाण्डौमा भत्किएको रेकर्ड छ । यसमा धेरै नोक्सान भएको देखिन्छ । धरहरा पनि ४ तला मात्र बाँकी रहेर अरु भत्केको, राणाका दरबारहरु पनि भत्केका । खासगरी संगठनहरुको विकास, परोपकार संस्थाको विकाश त्यति बेलाबाट नै भएको देखिन्छ । ३० लाख रुपैयाँ पुनर्निर्माणको लागि ऋणको रुपमा गुठी संस्थान मार्फत उपलब्ध गराइएको थियो । धेरै जसो राणाहरुको दरबार पूनर्र्निमाण भएको देखिन्छ ।

राणाहरुले २ जना इन्जिनियरहरुलाई भूकम्प प्रतिरोधीको लागि तालिम लिन पठाएको देखिन्छ । अहिले तत्कालै देखेको भक्तपुरको दरबार क्षेत्रमा भने धेरै मन्दिरहरु भत्के, केहीलाई त बनाउने निर्णय गरियो, केही पुरानै ढाँचा बाट बनाइए । कैही नयाँ ढाँचामा छाना परिवर्तन गरी बनाइयो । हरिशंकरको मन्दिर बनाउन सकिएको छैन । दरबार मै पुनर्निर्माण गर्दा खुरी झ्यालहरु साना भएका छन् । पहिलेका भत्केका साना टुक्राहरु खोजेर बनाउँदा लम्बाइ चाहिं कम भएको छ । ४५ से.मी. जति कम बनाइयो । दरबारको भित्र पट्टिको दलानको थामहरु सबै फेरेर अलि साधारण खालको सामग्रीहरु फेरेको पाइन्छ । छानाहरु झिँगटीको झिकेर टायलहरु प्रयोग भएको छ ।

यसरी हेर्दा प्रमुख पुनर्निर्माण गर्दाखेरि त्यही सामग्रीहरुबाट हुने भएकोले पुनर्निर्माण गरिएको छ । धरहरा बनाउँदा पूरानो भएको जति बनाईएन । त्यसले गर्दा अब नेपालीहरुमा पनि केही चेतना आयो होला धेरै अग्लो बनाउनु हुदैन भनेर । न्यातपोलमा भने माथिल्लो  पाँचौ तला हल्लियो केही तिनवटै दरबारहरु र मन्दिरहरु पूर्नमर्मत गरिएको छ । धेरै जसो नयाँ सडकमा निर्माण भएको छ । नयाँसडकमा चौडा सडकहरु बाहेक भूकम्पको दृष्टिकोणले केही पनि भएको छैन । नयाँ डिजाइन मात्र आएको हो । भूकम्प प्रतिरोधी भने हुदै होइन । बरु परम्परागत भवनहरुमा भएको छ ।

यदि ३ लाख घरहरु काठमाडौमा भासिएका थिए भनेदेखि साधारण जनताले आफ्नो घर कसरी पुनःमर्मत गरे होला त । उसको घर त निकै चाँडै बनेको छ । त्यो चाँडो गर्ने क्षमता नेपालीहरुमा कसरी आयो भने देखि भूकम्पले क्षति गरिसकेपछि मात्र । ढुंगा, काठ, माटो आदि –आदि तिनै थिए त्यसबाट नै पुनर्निर्माण गराएको हो । नेपाल एक किसिमको गरिब देश त्यसमा पनि एक किसिमको सामग्रीहरुको प्रयोग त्यो हामीहरु संग नै थियो ।

अहिले हेर्दै गयो भने भूकम्पीय प्रकोप जोखिम व्यवस्थापन चाहिँ आचार संहिता हेर्यो भने उत्पादन सामग्रीहरुमा निर्भर रहने सामग्रीको प्रयोग गरि राखेका छौं । इन्जिनियरिङको लागि इन्जिनियरमा नै निर्भर छौं हामी । ९० सालमा धेरै जसो भवनहरु फटाफट पुनःमर्मत भए । नुवाकोट दरबार पुनःमर्मत भएको थिएन, दरबार भत्किएको थियो । त्यहाँ इन्जिनियर पुष्पबहादुर आउँदा खेरि तिमी गएर निर्माण गर्नु भनेको थियो । अहिले हामी भूकम्प सुरक्षा भनेका छौं भने यस्तो खालको कुरो जनताले गर्न सक्दैन। इन्जिनियरले डिजाइन त गर्ला, कोरियन सिमेन्ट कहिले आउला, चाइनिज स्टिल कहिले आउला भनेर ८.५ रेक्टर स्केलको भूकम्पलाई पनि ठीक गरुँला भन्यो भने देखि ९० साल पछि जति पुनर्निर्माण भएको थियो त्यो हामी गर्न सक्दैनौं ।

अन्त्यमा तीनवटा कुराहरुमा ध्यान दिन पुर्याऔँ । इन्जिनियरिङ्ग प्रविधिको उत्थानशीलता (Reliance of engineerings technology), स्थानिय सामग्रीको उत्थानशीलता (Reliance of local materials), स्थानीय सीपको उत्थानशीलता (Reliance of local skill) । यति तीन वटा कुराको विकास भएन भने देखि हामी भूकम्प प्रकोप बाट बच्न खोजेको ठहर्दैन ।

-यी अनुभव हामीले भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल एनसेटको सहयोगमा संकलन गरेका हौँ ।

 

अन्तिम अपडेट: चैत २३, २०७५

तपाईको प्रतिक्रिया