घरेलु कामदारको पुन : श्रम स्वीकृति खोलिदिन ओमानमा कार्यरत महिलाको माग

 माघ २, २०७५ बुधबार ११:२०:२५ | उमाकान्त पाण्डे

यूएई – ओमानमा कार्यरत नेपाली महिलाले घरेलु कामदारको पुन : श्रम स्वीकृति खोलिदिन सरकारसँग आग्रह गरेका छन् । 

नेपाली दूतावास ओमानले घरेलु महिला कामदारसँग गरेको अन्तरक्रियामा उनीहरुले आफूहरु वर्षौदेखि सुरक्षित रुपमा काम गरिरहेपनि सरकारले रोक लगाएका कारण घर जान नपाएको भन्दै पुन : श्रम स्वीकृति खोलिदिन दूतावासमार्फत सरकारसँग आग्रह गरहेका हुन् । 

‘१९ वर्षदेखि म ओमानमा काम गर्छु, मेरै कमाइले मेरो परिवार धानीएको छ, तर म त्यही परिवार भेट्न नेपाल जान पाएकी छैैन’ झापाकी शारदा तिवारीले भन्नुभयो । 

वर्षमा एक पटक बिदा पाउने भएपनि फर्किएर आउन नपाउने भएकाले नेपाल नगएको उहाँको भनाई छ । झापाकै मेनुका बाँस्तोलाको गुनासो पनि उस्तै थियो । उहाँ पनि घर फर्किन पाउनुभएको छैन । 

ओमान एकता समाजकी मन्जु बानियाले घरमा काम गर्ने भएपनि सुरक्षित रहेको, कमाइ पनि राम्रो रहेको भन्दै नेपाल गएर फर्किन नसक्ने भएकाले हजारौं महिला विभिन्न देशमै अड्किएको बताउनुभयो ।

८ वर्षदेखि आफूले पनि घरेलु महिला कामदारको रुपमा काम गरिरहेका  भन्दै बर्दियाका बानियाँले प्रश्न गर्नुभयो ‘गरिखान्छौं भन्दा पनि हाम्रो श्रम स्वीकृती किन नहुनेु?’ 

घरेलु कामदारको रुपमा नयाँ आउने महिलालाई दुई देशबीच सम्झौता गरेर मात्रै ल्याए पनि वषौंदेखि कार्यरत महिलाको हकमा पुन : श्रम स्वीकृति गर्ने व्यवस्था गरिदिन उहाँले सरकारसँग् आग्रह गर्नुभयो । 

जवाफमा ओमानका लागि नेपाली राजदूत शर्मिला ढकाल पराजुलीले महिलाले उठाएका माग जायज भएको र त्यसको समिक्षात्मक रिपोर्ट सरकारलाई पठाउने बताउनुभयो । दूतावास सबैको अभिभावक भएकाले महिलाहरुका कुरा सुन्न महिलालाई मात्रै लक्षित गरेर कार्यक्रम राखेको राजदूत पराजुलीले बताउनुभयो । 

कार्यक्रममा झण्डै ५० जना महिलाको सहभागिता थियो । कार्यक्रममा दूतावासका तर्फबाट राजदूत पराजुलीसहित प्रथम सचिव रोजिना ताम्राकार, श्रम सहचारी कृष्णकुमारी गौली लगायतले सहजीकरण गर्नुभएको थियो ।

अन्तिम अपडेट: बैशाख २, २०८१

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

तपाईको प्रतिक्रिया