विदेशबाट फर्किएर घोडा पालें, घोडाले मलाई पाल्यो

 माघ २, २०७५ बुधबार ११:५२:३९ | मेरो कथा मेरो भोगाई

सोम तामाङ/सूर्योदय नगरपालिका कन्याम, इलाम । 

विदेशमा राम्रो कमाउने र फर्किंएर रमाउने सपना लिएर मलेसिया र युएई पुगे पनि खाली हात नै फर्किनु पर्‍यो । त्यसपछि मैले एउटा घोडा किनें । 

विदेशमा दुःख नगरेको कहाँ हो र । २०६८ सालमा युएई गएको थिएँ । १६ सय दिर्हाम त मासिक तलब हुन्छ भनेका थिए युएई जानुअघि । तर त्यहाँ पुगेपछि के को १६ सय दिर्हाम तलब हुन्थ्यो र ।

जम्मा ५४६ न्युनतम तलब रहेछ त्यहाँ हुने । काम गर्ने समय निर्धारण गरिएको थिएन । १८ घण्टासम्म पनि काम गर्नु पथ्र्यो । खानु बस्नु गर्दा त तलब हात लाग्यो शून्य भने झैं हुने । 

तै पनि आफ्नो गाउँठाउँ छाडेर पराइको देश पुगेकाले यसै फर्किंने कुरा भएन । गर्मी उस्तै थियो । आफू त फेरि चिसो ठाउँमा हुर्केको मान्छे । त्यहाँको गर्मीमा त पाकिने रहेछ । १८ महिना मेहनत गरें । एक पैसा पनि बचत नहुने भएपछि घर फर्किंएँ । 

घरमा आएर पनि के गर्नु । हातमा न सीप थियो न त केही गरी खाउँ भन्दा पैसा । खेतिपातीकै काम गरें । कमाउने रहरमा पढाइ बीचमै छाडेर गएको थिएँ । युएईबाट फर्किएपछि १२ कक्षासम्म पढें । 

१२ पढेपछि फेरि यसै गाउँघरमा के बस्नु उमेर छँदैछ विदेश नै जानुपर्‍यो भनेर मलेसिया जाने निधो गरें । २०७२ मा मलेसिया गएँ । 

त्यहाँ पनि भाग्यमानीलाई जहीँ तहीँ अभागीलाई कहीँ न कहीँ भने झै भयो । चिनियाँ कम्पनी पर्‍यो । कम्युटरको ‘हार्डडिक्स’ बनाउने कम्पनी थियो । त्यहाँ पनि २५ ३० हजार कमाउनै मुस्किल पर्‍यो । झण्डै २ वर्ष बिताएर मलेसियाबाट पनि फर्किंएँ । 

विदेशमा त रुखैमा पैसा फल्छ झैं लाग्छ नजाँदासम्म । तर त्यहाँ गएर यथार्थ बुझ्दा त्यस्तो नहुने रहेछ । त्यसैले मैले घर फर्किंएर घोडा किनेको हुँ । घरमा आएर मैले घोडा पालेको छु अनि मलाई घोडाले पालेको छ ।

इलामको कन्याम पर्यटकीय गन्तव्य हो । यहाँ आउँने पर्यटकअरु घोडा चढेर घुम्न रुचाउँछन् । मैले पनि अरुले घोडामा पर्यटकलाई घुमाएको देखेपछि नै घोडा किनेको थिएँ । 

मलेसियाबाट फर्किंदा बचेको पैसामा थपथाप पारेर ८० हजार रुपैयाँ सानो घोडा किनेको थिएँ । अहिले त १८ महिना भयो । घोडा पनि ठूलो भयो । 

घोडामा पर्यटक घुमाउँदा आम्दानी विदेशको भन्दा राम्रो हुन्छ । विदेशमा १८ घण्टा काम गर्दा पनि महिनामा २० हजार बचाउन मुस्किल पथ्र्यो । तर अहिले यहाँ घरमै बसेर, घरकै खाएर मासिक २५ देखि ३० हजार रुपैयाँसम्म आम्दानी हुन्छ । 

नयाँ मानिससँग भेटघाट हुन्छ । उनीहरुलाई घोडामा राखेर घुमाउन पाउँदा खुशी पनि लाग्छ । बिहान ६ बजे उठेर यहाँ आयो । अनि बेलुका उज्यालो रहदासम्म पर्यटकलाई घुमाउँदैमा बित्छ । नयाँ आउने मानिस चिया बगान घोडामा चढेर घुम्न पाउँदा रमाउँछन् । जति पर्यटक आए, हामीलाई त त्यति नै फाइदा न हो ।

 कन्याममा मेरो जस्तै ३९ वटा घोडा छन् । सबैलाई पालैपालो पर्यटक घुमाउने मौका दिइन्छ । यहाँ यसरी पर्यटक घुमाए वापत नगरपालिकालाई दिनको ६० रुपैयाँ तिर्नु पर्छ अनि वर्षमा २१ सय रुपैयाँ तिर्नु पर्छ । 

विदेशमा धेरै दुःख गरियो । आफ्नै गाउँठाउँमा भएको रोजगारीलाई त्योबेलामा अपहेलना गरियो । अहिले यही ठाउँले मलाई विदेशको जतिकै आम्दानी गर्न सक्ने बनाएको छ । गर्न सक्ने हो र सम्भावना खोज्ने हो भने यहीँ पनि छ । अब त त्यो तातो गर्मी खान कहिल्यै पनि विदेश जाँदिनँ र अरुलाई पनि सकेसम्म नजानु नै भन्छु । 

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया