सोलुखुम्बुमा भालुको आतंक बढ्दाे

 माघ २, २०७५ बुधबार १४:४२:४ | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु – हिमाली जिल्ला सोलुखुम्बुमा पछिल्लो समय भालुको आतङ्क बढेको छ । 

विगत तीन वर्ष यताको तथ्यांकलाई केलाउँदा सोलुखुम्बुमा भालुको आतंक क्रमिक रुपले बढेको पाइएको हो । जिल्ला प्रहरी कार्यलय सोलुखुम्बुको तथ्यांक अनुसार आर्थिक वर्ष २०७३-०७४ सालमा भालुको आक्रमणबाट १ जनाको ज्यान गएको थियो भने १ जना घाइते भएका थिए ।

त्यस्तै २०७४-०७५ मा त्याे संख्या बढेर ५ जना पुगेको थियो । चालु आर्थिक वर्षको ६ महिनामै ७ जनालाई भालुले आक्रमण गरी घाइते बनाइसकेका छन् । यसरी हेर्दा भालुको आक्रमणबाट घाइते हुनेको संख्या क्रमबद्ध रुपमा बढिरहेको छ । 

आर्थिक वर्ष २०७३-०७४ देखि हालसम्म भालुको १५ जनालाई भालुले आक्रमण गरी घाइते बनाएका छन् भने १ जनाको ज्यान गएको छ । 

घाइते हुनेहरुमा १० जना पुरुष र ४ जना महिला रहेका छन् । चालु आर्थिक वर्षमा भालुको आक्रमणबाट घाइते हुनेहरुमा सोलुदुधकुण्ड नगरपालिका ३ तामाखानीका ४ जना र महाकुलुङ गाउँपालिकाका ३ जना रहेका छन् । 

सोलुदुधकुण्ड नगरपालिका–३, तामाखानीका मनकुमारी मगर, सानुमाया मगर र पेम्बाछिरि तामाङ र वडा नम्बर–४ का दिल बहादुर भुजेललाई भालुले आक्रमणमा गरी घाइते भएका छन् । 

त्यस्तै महाकुलुङ गाउँपालिका वडा नम्बर–१, का गम्भीरधन राई, वडा नम्बर–२, का उत्तर कुमार राई र वडा नम्बर–३, का पासाङ दावा शेर्पालाई पनि भालुले आक्रमण गरी घाइते बनाएको हो । 

घाइतेहरु अधिकाशं उपचारपछि घर फर्किएका छन् भने केहिले अझै पनि उपचार गराइरहेका छन् ।

 भालुले मुख्य गरी मकै पाक्ने समय साउनदेखि मंसिर महिनासम्ममा बढी आक्रमण गर्ने गरेको देखिएको छ । भालु कलिलो मकै खान बढी रुचाउने भएकाले मकै पाक्ने सिजनमा भालु बढी आक्रमण हुने गरेको जिल्ला प्रहरी कार्यलय सोलुखुम्बुका प्रमुख डीएसपी शालिग्राम शर्माले बताउनुभयो । 

उहाँका अनुसार अन्य समयमा पनि फाट्टफुट्ट भालुले आक्रमण गर्ने गरेको भए पनि मकै पाक्ने सिजनमा भने घर वरिपरि तथा नजिकैको जगंलमा नै भालु बस्ने भएकाले मानिसलाई आक्रमण गरेका हुन् । 

भालुले चालु आर्थिक वर्षमा मात्रै मानिसका साथै दर्जनभन्दा बढी घरपालुवाा पशुचौपायालाई समेत मारेको तथा घाइते बनाएका छन् ।

घाइतेहरुले अझै उपचार खर्च पाएनन्  

सोलुखुम्बुमा भालुको आक्रमणबाट घाइते भएका पीडितले तीन महिना बितिसके पनि क्षतिपुर्ति नपाएको गुनासो गरेका छन् । चालु आर्थिक वर्षमा घाइते भएका ७ जनाले हालसम्म सरकारले दिने भनिएको उपचार बापतको खर्च नपाएको गुनासो गरेका हुन् । 

वन्यजन्तुबाट भएको क्षतिको राहतसम्बन्धी निर्देशिका–२०७३ मा वन्यजन्तुको आक्रमणबाट कुनै क्षति भएमा क्षति अनुसार २ लाखसम्म र मृत्यु भएमा १० लाख रुपैयाँ क्षतिपूर्ति दिने व्यवस्था रहको छ ।

कुनै क्षति भएमा वा मानिसलाई घाइते भएमा प्रहरी कार्यलयको मुचुल्कासहित सम्बन्धित घटनाको फोटो, स्वास्थ्य संस्था, सम्बन्धित वडा, सामुदायिक बनको सिफारिस र घाइते व्यक्तिको उपचारको बिल भर्पाइसहित ३५ दिनसम्म निवेदन दिएमा बढीमा २ लाखसम्म क्षतिपुर्ति दिने व्यवस्था रहेको जनाइएको छ ।
तर घाइतेहरुले कानुनी मापदण्ड पूरा गरी निवेदन दिइसकेको भए पनि हालसम्म वन डिभिजन कार्यालय सोलुखुम्बुले क्षतिपूर्ति उपलब्ध नगराएको पीडितहरुको दाबी छ । 

भालुले घाइते बनाएका पेम्बा छिरि तामाङले गएको कात्तिक ११ गते  बिल भर्पाइसहित निवेदन दिएको भएपनि हालसम्म क्षतिपूर्ति नपाएको गुनासो गर्नुभयो । 

वन डिभिजन कार्यालयमार्फत नेपाल सरकारले उपचार खर्च दिने भए पनि अहिलेसम्म आश्वासन मात्र दिने गरेको अर्का पीडित मनकुमारी मगरको भनाई छ । 

पीडितले बिल भर्पाइ बुझाए पनि उपचार खर्च नपाएको गुनासो गरिरहँदा यता वन डिभिजन कार्यालय सोलुखुम्बु भने यस विषयमा बेखर जस्तै देखिएको छ । कार्यलयका प्रमुख डा. इन्द्र प्रसाद सापकोटाले कार्यालयमा बिल भपाईनै नआएको बताउनुभयो । बिल प्राप्त भयो भने तत्काल भुक्तानीको प्रकृया अगाडि बढाउने उहाँको भनाई छ ।

अन्तिम अपडेट: चैत ११, २०८०

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया