सुरक्षित समुदाय नै विकास र समृद्धिका लागि सबैभन्दा बलियो आधार हुन् : गृहमन्त्री थापा

 माघ २, २०७५ बुधबार १४:५६:१८ | मदन पौड्याल

ललितपुर - गृहमन्त्री रामबहादुर थापाले सुरक्षित समुदाय विकास र समृद्धिका लागि सबैभन्दा बलियो आधार भएको बताउनुभएको छ । 

२१ औं भूकम्प सुरक्षा दिवसका अवसरमा ललितपुरको पाटनमा भएको कार्यक्रममा उहाँले समुदाय सुरक्षित बनाउन तीन तहका सरकार जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो । 

गृहमन्त्री थापाले भूकम्पबाट हुने जनधनको क्षति घटाउन सरकार एक्लैको प्रयासले मात्रै नपुग्ने भन्दै संघ, प्रदेश र स्थानीय तहका साथै समुदायले पनि जिम्मेवारी आत्मसात गर्नुपर्ने बताउनुभयो ।

उहाँले सरकारले आवश्यक ऐन नियम र प्राविधिक पक्षलाई सुधार गर्दै लैजाने प्रतिवद्धता जनाउनुभयो । भूकम्प, बाढिपहिरो, आगलागीजस्ता प्रकोप न्यूनीकरण गर्न स्थानीय सरकारलाई बढी स्रोत–साधन सम्पन्न बनाउनुपर्ने भन्दै उहाँले पूर्व तयारी र राहत, उद्धार जस्ता कामलाई प्राथमिकता दिएको पनि बताउनुभयो । 
उहाँले विगतका प्रकोप र त्यसले पारेको असरबाट पाठ सिकेर नागरिक आफै पनि सचेत हुनुपर्नेमा जोड दिनुभएको छ । 

यस वर्ष ‘विपद्बाट सुरक्षित हुने नागरिक अधिकार पूरा गर्न जिम्मेवार संघ, प्रदेश र स्थानीय सरकार’ भन्ने नारासहित २१ औं भूकम्प सुरक्षा दिवस मनाइएको छ । 
विक्रम संवत १९९० सालमा गएको भूकम्पको स्मृतिमा भूकम्प सुरक्षा दिवस मनाउने गरिएको छ । 
 

अन्तिम अपडेट: बैशाख ३, २०८१

मदन पौड्याल

उज्यालोमा कार्यरत मदन पौड्याल राजनीति, प्रशासन र समसामयिक विषयमा कलम चलाउनु हुन्छ। पौड्यालको भूकम्पपछिको पुनर्निर्माणमा दख्खल छ।  

 

तपाईको प्रतिक्रिया