वाइडबडी प्रकरणमा नेकपा र कांग्रेसका मुख्य नेताहरुको संलग्नता रहेको डाक्टर भट्टराईको आरोप

 माघ २, २०७५ बुधबार १६:१२:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले वाइडबडी विमान खरिद प्रकरणमा सत्तारुढ दल नेकपा र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका मुख्य नेताहरु नै संलग्न रहेको आरोप लगाउनु भएको छ ।

पूर्व प्रधानमन्त्री समेत रहनु भएका संयोजक भट्टराईले प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच वाइडबडी प्रकरणलाई ढाकछोप गर्ने सहमति भएको दाबी समेत गर्नुभयो ।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले संसदीय समितिले वाइडबडी विमान खरिदमा ठूलो आर्थिक घोटाला भएको विवरण बाहिर ल्याएपछि प्रधानमन्त्री ओली र प्रमुख प्रतिपक्ष दलका नेता देउवाबीच वाइडबडी प्रकरणलाई ढाकछोप गर्ने सहमति भएको पनि बताउनुभयो ।

नयाँ शक्ति पार्टी, नेपालले वाइडबडी विमान  खरिदमा भएको भ्रष्टाचारमा संलग्नलाई कारबाहीको दायरामा ल्याउन सडक र सदन दुवै ठाउँमा संघर्ष गर्ने घोषणा पनि गरेको छ । संयोजक भट्टराईले वाइडबडी काण्डमा मुछिएकाहरुलाई कारबाही गर्न आफ्नो पार्टीले सडक र सदन दुवै ठाउँमा संघर्ष गर्ने पनि बताउनुभयो ।

वाइडबडी विमान खरिदमा झण्डै ४ अर्ब ३५ करोडको भ्रष्टाचार भएको ठहर संघीय संसदको सार्वजनिक लेखा समितिले गरेको थियो । संयोजक भट्टराईले वाइडबडी काण्डमा भएको भ्रष्टाचारविरुद्धको आन्दोलनमा सहभागी हुन पनि सबैलाई आह्वान गर्नुभयो ।
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया