ठूला सम्पदाको बेहाल: काठदेखि दक्ष जनशक्तिको अभाव

 माघ २, २०७५ बुधबार १७:७:१७ | मदन पौड्याल
unn.prixa.net

२१ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसको विशेष कार्यक्रम यो वर्ष ललितपुरमा भयो । २०७२ सालको भूकम्पपछि माघ २ गते काठमाडौंको रानीपोखरीसँगै ललितपुरकै बुङ्गमतीबाट एकैसाथ सम्पदा पुनर्निर्माण अभियान पनि सुरु भएको थियो ।

त्यतिबेला बुङ्गमतीबाट अभियान सुरु गर्दा अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीले नै सरकारको नेतृत्व गर्नुभएको थियो र उहाँले नै अभियानको शुभारम्भ गर्नुभएको थियो । 

तीन वर्षपछि २१ औं भूकम्प सुरक्षा दिवसमा पनि उहाँ नै प्रधानमन्त्रीका रुपमा ललितपुरमा भएको विशेष कार्यक्रममा सहभागी हुनुभयो । प्रधानमन्त्री ओलीले पाटनमा भैरहेको सम्पदा पुनर्निर्माणको अवलोकन समेत गर्नुभयो ।

पाटनमा भएको कार्यक्रममा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले बुङमतीमा रहेको रातो मच्छिन्द्रनाथ मन्दिरको अहिलेको अवस्थाबारे जानकारी गराउनुभयो ।

बुङमतीको रातो मच्छिन्द्रनाथको अवस्था

बुधबार पाटनमा भएको भूकम्प सुरक्षा दिवसको कार्यक्रममा ललितपुर महानगरपालिकाका मेयर महर्जनले प्रधानमन्त्रीलाई रातो मच्छिन्द्रनाथको अवस्थाबारे गराउनुभएको जानकारी यस्तो छ — ‛मठ, मन्दिर, शिवालय, देवालय जस्ता महत्वपूर्ण सम्पदा बनाउन पनि सरकारले टेन्डर गर्ने गरेको छ । टेन्डर गर्दा सबैभन्दा कम मूल्य जसले तोक्छ, उसैले काम गर्ने जिम्मा पाउँछ ।

त्यसरी ठेक्का पाउने ठेकेदारले नाफा नखाइकन काम गर्छ ? कुनै हालतमा पनि गर्दैन । त्यसपछि बन्ने मठ, मन्दिर लगायतका सम्पदाको हालत के हुन्छ होला ? एकपटक विचार गरौं त । इञ्जिनियरको ‘ई’ भन्ने शब्द पनि नभएका बेला बनेका सम्पदामा अहिलेका इञ्जिनियरले खोट देखाउन सक्दैनन् ।

उदाहरण खोज्न टाढा जानु पर्दैन हाम्रै ललितपुर महानगरपालिका वडा नम्बर २२ को शिखर शैलीको रातो मछिन्द्रनाथको मन्दिर बनाउन सरकारले टेन्डर गर्यो । ठेकेदार साब आउनुभयो, काम सुरु भयो तर अहिले त्यो मन्दिर हेर्दा कार्टुन भैरहेको छ ।

अहिलेसम्मको अवस्था हेर्दा ६ महिना अगाडि नै बन्नुपर्ने मन्दिरको २२ प्रतिशत मात्रै काम भएको छ । अब विचार गरौं के होला यसको हालत ?

त्यस्तै जगतनारायण मन्दिरको हालत पनि त्यस्तै छ । मठ, मन्दिर, शिवालय, देवालय जस्ता सांस्कृतिक सम्पदा कार्टुन बन्दै गए के होला हाम्रा सम्पदाको हालत ? नेपाल सरकारले बनाउन नसक्ने हो भने नबनाउनुहोस्, हामी नै बनाउँछौ । तर ठेक्कापट्टा चाहिँ नगरौं । सम्पदा कुरुप हुन र नासिनबाट जोगाउन सरकारको ध्यान पुग्नुपर्छ ।′

ठूला सम्पदा बन्नै बाँकी

बुङगमतीको रातो मच्छिन्द्रनाथ मन्दिर जस्तै अरु ठूला सम्पदा बनाउने काममा पनि यस्तै ढिलासुस्ती र अन्योल छ । ०७२ साल माघ २ गते राष्ट्रिय भूकम्प दिवसको दिन पारेर पुरातात्विक तथा सांस्कृतिक सम्पदाको पुनर्निर्माण थालनी भएको हो । तर अहिले बितेका तीन वर्षमा धरहरा बन्न सकेन । यसैपालि असोजदेखि मात्रै काम सुरु भएको छ । 

रानीपोखरीको काम त अझै सुरु हुन सकेको छैन । विश्व सम्पदा सूचीमा पर्ने हनुमानढोका दरबारका ९० प्रतिशत संरचना प्रभावित भएकोमा धेरैजसो पुनर्निर्माण र मर्मत गर्न बाँकी नै छ । काष्ठमण्डपको जग मात्रै बसेको छ । नौतले दरबारमा पनि काम सुरु मात्रै भएको छ ।

नुवाकोटको साततले दरबारको काम अझै सुरु भएको छैन । विश्व सम्पदा सूचीमा समावेश सम्पदाहरुमा भक्तपुर दरबार क्षेत्रमा भक्तपुर नगरपालिका र पुरातत्व विभागले पुनर्निर्माणको काम गरिरहेका छन् ।

भक्तपुरलाई छोडेर अरु क्षेत्रमा भैरहेको सम्पदा पुनर्निर्माणको काम ढिलासुस्ती नै छ ।  भूकम्प प्रभावित १४ जिल्लामा रहेका २ सय ४३ महत्वपूर्ण ऐतिहासिक सांस्कृतिक सम्पदाको काम पनि सुरु हुन सकेको छैन ।

काम हुँदै गरेका र बाँकी सम्पदाको अवस्था

३२ जिल्ला भूकम्प प्रभावित हुन् । पुनर्निर्माण महाअभियान अन्तर्गत सम्पदा पुनर्निर्माणको काम पनि सँगै सुरु भएको हो । भूकम्प अति प्रभावित १४ जिल्लाका ७ सय ५३ सम्पदा लडेको, ढलेको र चर्के मर्केको तीन वर्ष बितिसकेको छ । अहिलेसम्मको प्रगति भने २ सय १ अर्थात २७ प्रतिशत मात्रै छ । 

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको तथ्याङ्कमा ३ सय ९ अर्थात ४१ प्रतिशत बनिरहेका छन् । अरु २ सय ४३ अर्थात ३२ प्रतिशत सम्पदाको काम नै सुरु भएको छैन । यसै आर्थिक वर्षभित्रमा ५० प्रतिशत काम सक्ने लक्ष्य सरकारको छ । 

अर्को आर्थिक वर्षमा ७५ प्रतिशत पुर्याउने र २०७७÷०७८ मा शतप्रतिशत बनाइसक्ने लक्ष्य राखिएको छ । 

भूकम्प दिवसका अवसरमा भएको विशेष कार्यक्रममा सांसद एवं पुनर्निर्माण समन्वय समिति ललितपुरका संयोजक कृष्णलाल महर्जनले चार वर्ष लागिसक्दा पनि जताततैका सम्पदा बनाउन बाँकी देखिएको भन्दै असन्तुष्टि जनाउनुभयो । उहाँले पर्यटक र पर्यटन व्यवसायका लागि पनि सकेसम्म छिटो सम्पदाको काम अगाडि बढाउन ध्यान दिनुपर्ने बताउनुभयो ।  

गुम्बा पुनर्निर्माणको काममा चासो कम

भूकम्पले १३ सय २० गुम्बा तथा विहार क्षति भए । मर्मत सम्भार गर्नुपर्ने ४ सय २ वटा छन् । बाँकी ८ सय ९५ गुम्बा तथा विहारको पुनर्निर्माण गर्नुपर्ने भए पनि चासो कम हुँदा अझै काम सुरु भएको छैन ।

स्थानीय तह, प्रदेश र केन्द्र सरकारको पहलमा गुम्बा तथा विहार पुनर्निर्माणको काम अगाडि बढाउने गरी पहल भैरहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बताउनुभयो ।

किन भैरहेको छ ढिलाई ?

ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं पुरातात्विक महत्वका सम्पदा बनाउने, मर्मत सम्भार गर्ने काम सहज नभएको भन्दै ढिलासुस्ती भएको जिम्मेवार निकायको दावी छ । पुरानै प्रविधि र दक्ष जनशक्तिको अभावमा पनि काम रोकिने गरेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको सम्पदा शाखाका पुरातत्व अधिकृत भिष्म बाँस्कोटा बताउनुहुन्छ ।

अहिले पनि काठको अभाव कायमै छ । परम्परागत निर्माण सामग्री, बजेट तथा कानुनी आधारको अभावले पनि जटिल भैरहेको उहाँको भनाई छ । बेलाबेला स्थानीयबासिन्दा र सरोकारवाला निकायबीच समन्वय अभाव हुँदै आएको छ । अभावै अभावले सम्पदाको काम तोकिएको समयअवधि भन्दा पनि पर धकेलिन सक्ने देखिएको बाँस्कोटाले बताउनुभयो ।

याे पनि पढ्नुहाेस :

यस्तो छ विश्वसम्पदा सूचीमा परेका सम्पदाको अवस्था

रानीपोखरीमा तिहारअघि पानी भर्ने तयारी : पानी अड्याउने समस्या यथावत

अन्तिम अपडेट: बैशाख ७, २०८१

मदन पौड्याल

उज्यालोमा कार्यरत मदन पौड्याल राजनीति, प्रशासन र समसामयिक विषयमा कलम चलाउनु हुन्छ। पौड्यालको भूकम्पपछिको पुनर्निर्माणमा दख्खल छ।  

 

तपाईको प्रतिक्रिया