२ हजार बोट नयाँ प्रजातिका किवि सोलुखुम्बु भित्रियो

 माघ ३, २०७५ बिहिबार १४:५५:३६ | सुवास दर्नाल
unn.prixa.net

फाइल तस्बिर

सोलुखुम्बु – सोलुखुम्बुमा झण्डै २ हजार बोट नयाँ प्रजातिको किवि भित्रिएको छ ।

सोलुखुम्बुमा उत्पादन भएका किविले माग धान्न नसकेपछि २ हजार बोट ‘हेर्वाड’ नामक उच्च प्रजातिको विरुवा सोलुखुम्बु ल्याइएको हो । उच्च हिमाली तथा चिसो ठाउँमा उत्पादन हुने हेवार्ड प्रजातिको किवि नेपालमै सबैभन्दा महंगो प्रजातिको किवि भएको बागबानी केन्द्र फाप्लुका वरिष्ठ बागबानी विकास अधिकृत चन्द्रमान श्रेष्ठले बताउनुभयो ।

‘हेर्वाड’ प्रजातिको किवि उच्च हिमाली तथा चिसोमा हुने भएकाले सोलुखुम्बुका किवि कृषकहरुलाई वितरणका गर्न ल्याइएकोे बागबानी केन्द्रले जनाएको छ ।  छिमेकी जिल्ला खोटाङ, दोलखा र रामेछापबाट सकंलन गरेर ल्याइएको उक्त विरुवा नेपालमै कम मात्रामा उत्पादन हुने बागबानी विकास अधिकृत श्रेष्ठको भनाई छ ।

विगतमा रुनो, अलिसन, मनकीलगायतका सामान्य प्रजातिका किवि खेती भइरहेको सोलुखुम्बुमा ‘हेवार्ड’ प्रजाति कृषकहरुको पहिलो रोजाई बन्ने केन्द्रले दाबी गरेको छ । अन्य प्रजातिका किविभन्दा बढी फल दिने तथा किविमध्येकै महंगो प्रजाति भएकाले यसको खेतीतर्फ कृषकलाई प्रत्साहन गर्नु पर्ने केन्द्रले जनाएको छ ।

पछिल्लो समय सोलुखुम्बुका कृषकहरु अन्य खेतीभन्दा किवि खेती गर्न उत्साहित देखिए पनि पर्याप्त मात्रामा विरुवा उपलब्ध हुन नसक्दा किसानहरु चिन्तित बनेका छन् । अत्याधिक मागका कारण बागबानी केन्द्रले समेत किसानलाई विरुवा दिन नसकेको बागबानीले जनाएको छ । यहाँका कृषकहरुले आलु, मकैलगायतका खेती लगाउन छाडेर बारीमा समेत किवि लगाउन थालेपछि विरुवाको माग बढेको बताइएको छ ।

केन्द्रले ११ सय विरुवा उत्पादन गरेकोमा ३३ सय बढीको निवेदन आएको कार्यलयले जनाएको छ । यसै सालबाट किविको विरुवा उत्पादन गर्न सुरु गरेको केन्द्रले प्रयाप्त उत्पादन गर्न नसक्दा दबाब झेल्नु परेको केन्द्र प्रमुख चन्द्रमान श्रेष्ठले बताउनुभयो ।

आगामी वर्षबाट हेवार्ड जातको किविको विरुवा समेत बागबानी केन्द्रमै उत्पादन हुने कार्यालयले जनाएको छ । आउँदो वर्षबाट विशेष योजनाका साथ विरुवा उत्पादनमा बागबानी केन्द्र लागी पर्ने कार्यालयले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख २, २०८१

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया