भूमि व्यवस्थापनसम्बन्धी आवश्यक नीति बनाउन राष्ट्रियसभा सांसदहरुको माग

 माघ ३, २०७५ बिहिबार १५:११:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – राष्ट्रियसभा सांसदहरुले भूगोल अध्ययन गरेर मात्रै भूमि व्यवस्थापनसम्बन्धी आवश्यक नीति बनाउन सरकारसँग माग गरेका छन ।

संघीय संसदको विधायन व्यवस्थापन समितिको बिहीबारको बैठकको भूमि व्यवस्थासम्बन्धी कानुन कार्यान्वयनका विषयमा भएको छलफलमा बोल्दै राष्ट्रियसभाकी सांसद यूटोल तामाङले हिमाल, पहाड र तराईमा छुट्टाछुट्टै भूमि व्यवस्थासम्बन्धी नीति ल्याउन सरकारसँग माग गर्नु भएको हो ।

उहाँले हिमाल, पहाड र तराईमा जमिनको चक्लाबन्दी नै फरक–फरक हुने भएकाले त्यस सम्बन्धी नीति पनि फरक–फरक हुनुपर्ने पनि स्पष्ट पार्नुभयो । समितिका अर्का सदस्य एवम् राष्ट्रियसभाका सांसद ठगेन्द्रप्रकाश पुरीले संविधान अनुकूल हुनेगरी भूमि सम्बन्धी नीति संशोधन गर्न ढिलाई नगर्न पनि सरकारलाई सचेत गराउनुभयो । उहाँले भूमिसम्बन्धी नीतिले समयको माग र आवश्यक्तालाई सम्बोधन गर्नुपर्नेतर्फ पनि सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो ।

बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोपीनाथ मैनालीले भूगोलको अध्ययन गरेरै भूमिसम्बन्धी नीति बनाउने प्रतिवद्धता जनाउनु भएको थियो । उहाँले हिमाल, पहाड र तराईलाई समेटेर एकीकृत भूमिसम्बन्धी नीति तय गर्न लागिएको पनि समितिलाई जानकारी गराउनुभयो ।

सचिव मैनालीले भूमिहीन किसानलाई वितरण गर्ने जमिनको तथ्यांक संकलन भइरहेको पनि बताउनुभयो । समितिले संविधान अनुकूल हुने गरी कानुन संशोधन गर्न सरकारलाई आवश्यक निर्देशन दिन भूमि सम्बन्धी कानुन कार्यान्वयनका विषयमा छलफल सुरु गरेको हो । 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया