चाेभारमा सुख्खा बन्दरगाह शिलान्यास: प्रधानमन्त्री भन्छन् - अब काठमाण्डौमा उपभोग्य वस्तुको अभाव हुँदैन

 माघ ३, २०७५ बिहिबार १५:१६:४० | उज्यालो सहकर्मी
unn.prixa.net

माघ – प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर नगरपालिकाको चोभारमा बिहीबार  सुख्खा बन्दरगाहाको शिलान्यास गर्नुभएको  छ । 

साविकको हिमाल सिमेन्ट कारखानाले चर्चेको चोभारमा रहेको ११.७७ हेक्टर जग्गामा बन्दरगाह निर्माणको शिलान्यास गरिएको हो । प्रधानमन्त्री ओलीले यो बन्दरगाह निर्माण भएपछि काठमाण्डौका लागि उपभोग्य वस्तुको अभाव नहुने बताउनुभयो ।

दक्षिणबाट आउने रेल र उत्तरबाट आउने रेलले ल्याउने सामानको भण्डारण कक्षको रुपमा यो बन्दरगाहलाई उपयोग गरिने प्रधानमन्त्री ओलीले बताउनुभयो । 
प्रधानमन्त्री ओलीले देश तीव्र विकाको गतिमा अघि बढ्ने बताउँदै सरकारका एक वर्ष कानुन निर्माण र अन्य तयारीमा बितेको बताउनुभयो । 

‘संविधान थियो, कानुन थिएन । त्यसले गर्दा एक वर्ष हामीले कानुन बनाउने काममा बितायौं । हामीले अब काम गर्ने वातावरण बनाएका छौं । अब देश तीव्र गतिमा अघि बढ्छ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो । 

बन्दरगाह निर्माणले स्थानीयबासीहरुका लागि रोजगारीका धेरै अवसर सृजना हुने प्रधानमन्त्री ओलीले बताउनुभयो । ‘यहाँ बन्दरगाह निर्माणले रोजगारीका धेरै अवसर सृजना गर्छ ।

यातायाले यस ठाउँलाई विभिन्न ठाउँसँग जोड्छ,’ प्रधानमन्त्री ओलीले थप्नुभयो, ‘स्थानीयबासीका केही गुनासा र भनाइ भए सम्बन्धित निकायमा जानकारी गराउनुहोस् । सरकारले सकारात्मक ढंगले लिनेछ ।’

शिलान्यासका सिलसिलामा प्रधानमन्त्री ओलीले निर्माण कम्पनीलाई समयमै काम सक्न आग्रह गर्नुभएको छ । ‘तोकिएको मितिमा काम सम्पन्न गर्नुहोस् । गुणस्तरमा सम्झौता नगर्नुहोस्,’ प्रधानमन्त्री ओलीले भन्नुभयो । 

बन्दरगाहा १ अर्ब,४८ करोड, ३४ लाख रुपैंयाको लागतमा निर्माण सम्पन्न हुने भएको हो ।


 

अन्तिम अपडेट: फागुन ३०, २०८०

1 Comments

  • Raama Raama

    Jan. 17, 2019, 3:28 p.m.

    मुलुक धर्म निरपेक्ष भन्छन् तर शिलान्याश चाहिँ हिन्दु धर्म अनुसार नै गरेकोमा म त खुशी नै छु ।

  •  0 Reply

तपाईको प्रतिक्रिया