न्यूनतम साझा कार्यक्रम र सङ्कल्प प्रस्ताव ल्याउनु ठूलो कुरा होइन,...
चैत १५, २०८० बिहिबार
बारा – छात्रा जिस्काउने युवकहरुलाई कडा कारबाहीको माग गर्दै बिहीबार बाराको कलैयामा विद्यार्थीहरुले प्रदर्शन गरेका छन् ।
बाराको प्रसौनी गाउँपालिका ६ स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थीहरुले कलैयामा प्रदर्शन गरेका हुन् । उनीहरुले विद्यालय परिसरबाट विभिन्न नारा लेखिएको प्लेकार्डसहित कलैया बजार पुगेर प्रदर्शन गर्दै छात्रा जिस्काउने युवकहरुलाई कडा कारबाहीको माग गरेका हुन् ।
झण्डै तीन सयको संख्यामा रहेका विद्यालयका छात्राहरुले जिल्ला प्रहरी कार्यालय अगाडि पुगेर धर्ना दिएका छन् । छात्रा जिस्काउने प्रसौनी गाउँपालिका ६ का २१ वर्षीय श्यामसुन्दर साह, २२ वर्षीय जुमाई अन्सारी र १६ वर्षीय आकाश साहलाई विद्यालयका छात्राहरुले बुधबार विद्यालय परिसरबाट पक्राउ गरी प्रहरीको जिम्मा लगाएका थिए ।
पक्राउ परेका तीन जनामाथि नै सार्वजनिक अपराध मुद्दा दर्ता गरिएको प्रहरी नायव उपरीक्षक रंजित सिंह राठौरले बताउनुभयो । उनीहरुलाई अझै कडा किसिमको मुद्दा चलाउन माग गर्दै विद्यार्थीहरुले बिहीबार प्रदर्शन गर्दै प्रहरीलाई ज्ञापनपत्र समेत बुझाएका छन् ।
पक्राउ परेका युवकहरु यसअघि पनि जाँडरक्सी र गाँजा खाएर छात्राहरुलाई जिस्काउँदै आएको स्थानीयले आरोप लगाएका छन् ।
जयनारायण यादव बाराका उज्यालो सहकर्मी हुन् ।