खरको छाना मुक्त गाउँपालिका बनाउने तयारी

 माघ ४, २०७५ शुक्रबार ८:१२:२९ | मनिराज पाण्डे
unn.prixa.net

कालिकोट – पचालझरना गाउँपालिकाले खरको छाना मुक्त गाउँपालिका बनाउने तयारी गरेको छ । छिमेकी गाउँपालिका पलाँता १ को खाडा बस्तीमा गएको पुस ८ गते बेलुका आललागी भएर ठूलो क्षति भएपछि गाउँपालिकाले यस्तो तयारी गरेको हो ।

पचालझरना गाउँपालिकामा ७५ प्रतीशत घर खरले छाएका छन् । खरको छाना मुक्त गाउँपालिका बनाउन केन्द्र सरकार, प्रदेश सरकार, र संघसंस्थाको सहयोग लिने गाउँपालिका अध्यक्ष खड्कराज सेजुवालले बताउनुभयो । 

खरको छानामुक्त अभियान यसै वर्षदेखि सुरु गरिने अध्यक्ष सेजुवालले जानकारी दिनुभयो । उहाँका अनुसार पहिला सानो बस्तीबाट काम सरु गरिनेछ । 

यस्तै, गाउँपालिकाले स्थानीयको आयस्रोत वृद्धि गराउन स्थानीय कृषकलाई ६० ओटा भेडाबाख्रा पालेवापत १ हजार र १ सय भेडाबाख्रा पालेवापत २ हजार मासिक रुपमा कृषक प्रोत्साहन गोठालो खर्च दिने भएको छ । यसका लागि भेडाबाख्रा फर्म दर्ता भएको हुनु पर्नेछ । 

गाउँपालिकामा भेडा बाख्रा पालनका लागि चरिचरन क्षेत्र भए पनि भेडाबाख्रा पालन गर्ने कृषक घटेका बेला गाउँपालिकाले गरेको यस्तो निर्णय निकै प्रभावकारी हुने पचालझरना ३ का अध्यक्ष लोकजंग कठायतले बताउनुभयो ।

गाउँपालिकाले विद्यालयमा विद्यार्थी आउन छोडेपछि हाजिरीको आधारमा बालपोषण खर्च भुक्तानी दिने भएको छ । प्रभावकारी शिक्षण, गुणस्तरीय शिक्षा र विद्यार्थी उपस्थिति दर वृद्धि गर्न गाउँपालिकाले इ हाजिरी, शिक्षक शिक्षण तालिम, विद्यालय भेटघाटलगायतका काम गर्दै आएको छ । 
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

मनिराज पाण्डे

कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया