फिल्म ‘अन्दाज अपना अपना’ काे रिमेकमा रणवीर सिंह र वरुण धवन

 माघ ४, २०७५ शुक्रबार १४:६:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

सन् १९९४ को सलमान खान र आमिर खानको सुपरहिट फिल्म ‘अन्दाज अपना अपना’को रिमेक बन्ने खबर सार्वजनिक भएसँगै यस फिल्मका अभिनेताहरुको पनि चर्चा भइरहेको छ । 

हालै सार्वजनिक खबरहरुका अनुसार यस फिल्ममा अभिनेता रणवीर सिंह र वरुण धवनले अमर र प्रेमको भूमिका निर्वाह गर्ने बताइएको छ । 
९० को दशकको सुपरहिट कमेडी फिल्म ‘अन्दाज अपना अपना’ को निर्देशन राज कुमार सन्तोषीले गरेका थिए । र अब बन्ने यस फिल्मको निर्माण विनय सिन्हा र प्रीति सिन्हाले गर्नेछन् । 

२५ वर्ष अघिको फिल्म ‘अन्दाज अपना अपना’ मा अभिनेत्री रविना टण्डन, करिश्मा कपूरको पनि मुख्य भूमिका थियो । साथै यस फिल्मबाट शक्ति कपूर क्राइम मास्टर गोगोको रुपमा निकै नै चर्चित भएका थिए । 

खबरहरुका अनुसार अब बन्ने फिल्म ‘अन्दाज अपना अपना’को पुरानो फिल्मको कथा र परिवेशसँग कुनै सम्बन्ध हुनेछैन । अब बन्ने फिल्ममा कथा तथा परिवेश नयाँ हुनेछ । 

फिल्ममा अमरको भूमिकाको लागि रणवीर सिंहलाई र प्रेमको भूमिकामा वरुण धवनलाई अप्रोच गरिएको छ । अभिनेता रणवीर सिंह र वरुण धवन वास्तविक जीवनमा पनि असल साथी भएका कारण यो जोडीले फिल्म मार्फत पनि दर्शकको मन जित्न सफलहुने चर्चा चलिरहेको छ । 

रणवीर र वरुण कुनै पार्टी वा कार्यक्रममा भेट हुँदा एकअर्कासँग रमाइलो गरिरहेका देखिन्छन् । तर फिल्ममा भने यी दुवै पहिलो पल्ट एकसाथ स्क्रिन शेयर गर्नेछन् । अहिले  भने अभिनेता वरुण धवन उनको फिल्म ‘एबीसिडी ३’ को छायांकनमा व्यस्त छन् ।

अभिनेता रणवीर सिंहको फिल्म ‘सिम्बा’ ले यतिबेला बक्स अफिसमा धमाकेदार कमाइ गर्दै सुपरहिट भइसकेको छ भने उनको अर्को फिल्म ‘गली ब्वाय’ फेब्रअरी १४ मा प्रदर्शन हुनेछ । 
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया