पुरानै लुगा लगाएर मेकअप नगरी नै हिँड्छु : अभिनेत्री सुरक्षा पन्त

 माघ ५, २०७५ शनिबार ९:५७:३७ | दीपा तिमल्सिना
unn.prixa.net

राम्री र चिटिक्क परेकी युवतीलाई देख्नासाथ धेरैले भन्ने गर्छन् – ‘ओहो हिरोइन जस्तै’ । हिरोइन भनेको धेरै राम्री केटी हो भन्ने धेरैको बुझाइ छ । तर हिरोइनको अर्थ राम्री र सुन्दरी मात्रै होइन ।

चिटिक्क परेको अनुहार, जिउडाल मात्रै नभएर सिनेमाको लागि अभिनय पनि चाहिन्छ । यसै सेरोफेरोमा रहेर उज्यालोकर्मी दीपा तिमल्सिनाले अभिनेत्री सुरक्षा पन्तसँग कुराकानी गर्नुभएको छ ।

यो जाडोमा पनि पातलो कपडा लगाउनु भएको छ ? अभिनेत्रीहरुलाई धेरै जाडो हुँदैन हो ?

त्यस्तो होइन ।  मैले लगाएको यो कपडा पातलो भए पनि न्यानो छ । म लुगाको धेरै भारी बोक्न रुचाउँदिनँ, त्यसैले पतलो तर न्यानो लुगा लगाउँछु ।

कसैले ब्यूटीफूल वा सेक्सी भन्यो भने रिसाउनु हुन्छ कि हुँदैन ?

हाम्रो समाजमा सकारात्मक भन्दा नकारात्मक कुराले छिट्टै चर्चा पाउँछ । ब्यूटीफूल र सेक्सी भन्नेले पनि मन मैलो नबनाइकन भन्नु पर्दछ र लिनेले पनि यसलाई अँध्यारो मुख लाउनु पर्ने अवस्था छैन ।

तपाईं अभिनेत्री की नायिका ?

म अभिनेत्री भन्न रुचाउँछु । तर अभिनयको चेत फैलिन अझै धेरै लामो समय लाग्न सक्छ ।

यिनै कारणले हो तपाईं ओझेलमा परेको ?

सायद, त्यो पनि कारण हुन सक्छ । चिटिक्क परेर हिँड्ने, नक्कल झक्कल पार्ने, मिडियामा अलि बढी हाइलाइट हुन खोज्नेहरु छिट्टै चर्चामा आउँछन् । म जीवन्त प्राकृतिक अभिनय रुचाउँछु । 

अभिनेत्रीलाई दिइने पारिश्रमिकमा केही सुधार आएको छ कि अवस्था उस्तै छ ?

कहीँ कतै केही सुधार भएको छ । तर पारिश्रमिकमा जति सुधार हुनु पर्ने हो त्यो अझै हुन सकेको छैन । अभिनेता एवं नायकको तुलनामा नायिका एवं अभिनेत्रीको खर्च थोरै हुन्छ । तर अभिनेत्रीलाई मेकअप, लुगा र महिनावारीको समयमा प्याडदेखि लिएर धेरै कुरा आवश्यक पर्छ । अझ केही अभिनेत्री त घरको सहयोग नपाउँदा एक्लै बसेर पनि संघर्ष गरिरहेका छन्  । सबै खर्च जोहो गर्नका अहिले दिईने गरेको पारिश्रमिक पर्याप्त छैन । 

नेपाली अभिनेत्रीले पारिश्रमिक डिमाण्ड गर्न नै नसकेको हो ?

त्यो पनि एउटा कारक तत्वचाहिँ हो । तर यो मात्र एक होइन । अभिनय गर्ने रुची हुन्छ । पारिश्रमिकको कुरा उठायौँ भने बाठी भएका भनिन्छ । (लामो हासो हास्ँदै)..., फेरि धेरै बोल्यो भनेर काम नपाउन पनि सकिन्छ । 

स्कुटरमा धेरै ओहोरदोहोर गर्नुहुन्छ, मेन्टेन गर्न कत्तिको गाह्रो छ ?

खासै गाह्रो छैन मलाई । म खासै सेलिब्रेटी पनि भइसकेको छ्रैन । कमाई पनि त्यस्तो धेरै छैन । म फेसनका कपडाभन्दा अति आवश्यक कुरालाई मात्र बढी जोड दिन्छु । अहिले मैले लगाउने कपडा सबै पुराना हुन् । पहिले पहिले कपडा किनेर राख्ने धेरै शोख थियो । 

उतिबेलाका कपडा अहिले लगाइरहेको छु । अभिनेत्री नै भनेर नयाँ खरिद गर्ने अवस्था छैन । म त्यस्तो सेलिब्रेटी पनि भइसकेको छैन, अनि म सँग त्यति धेरै पैसा पनि छैन ता कि म नयाँ नयाँ फेसनमा आएका कपडा खरिद गरौँ ...। (हास्ँदै)। 

बाहिर हिँडडुल गर्दा मेकअप गर्नु हुन्छ कि गर्नुहुन्न ?

धेरैजसो म मेकअप नगरिकनै हिँडुछु । मलाई पुरानै कपडामा मेकअप विना हिँड्दा आनन्द आउँछ । मलाई बाटोघाटोमा भेट्नेले कता कता देखेको हो तपाईंलाई भन्छन् । ठ्याक्कै ठम्याउन सक्दैनन् ।  फेरि मसँग मेकअप गर्ने कला पनि छैन । सिक्दैछु, बिस्तारै ।

अन्तिम अपडेट: फागुन २९, २०८०

दीपा तिमल्सिना

दीपा तिमल्सिना उज्यालाेमा कार्यरत हुनुहुन्छ।  

तपाईको प्रतिक्रिया