कोरियन सोजु (रक्सी) सँग अन्तरंग कुराकानी

 माघ ५, २०७५ शनिबार ११:५९:२१ | उज्यालो सहकर्मी

टेक पुन / दक्षिण कोरिया

शुक्रबार कम्पनी अरु दिनभन्दा चाँडै बिदा हुन्छ । शनिबार र आइतबार पनि कम्पनी बिदा हुने भएकाले स्कूल पढ्दाको शुक्रबार हाफ छुट्टी भएर कुदेर घर पुगेर आमाले बनाएको खाना खान पुग्दा जस्तै गरेर होस्टल पुग्ने गर्दछु  । 

त्यो दिन पनि यसरी नै दौडिएर कोठामा पुगें । नुहाएर कोठाभित्र पस्ने बित्तिकै आँखा फ्रिजतिर गयो ।  फ्रिजको ढोका उघारेर जुस खान के आँटेको थिएँ, जुससँगै  रहेको हरियो बोतल सोजु (रक्सी) को बोतलतिर नजर पुग्यो । एक घुड्की खाइदिउँ जस्तो लाग्यो । 

कामको थकानले शरीर पनि दुखिरहेको थियो । अहँ होइन बल्ल ६ बजेको छ, अहिले नै पिउनु र ? कोठामा बस्ने दाइ काम सकेर आएपछि सँगै खाउँला । एक मनले यही भनेपछि एकछिल अलमलमा परें ।  

सोजु कोरियामा सजिलै पाइने रक्सी हो । म कोरिया आएदेखि नै यो सजिलै पाइने रक्सी धेरैले पीडा भुल्न र रमाइलो गर्न भन्दै खान्छन्, तर यो रक्सीको पीडा चाहिँ वास्तवमा के होला भन्ने लाग्यो । 

म कल्पनामा हराएँ । उसका कुरा बुझ्न रक्सीसँग कुराकानी गर्न थालेंछु । यसको उत्पत्ति कहिले कहाँबाट भयो होला ? कसले बनायो होला ? यिनै प्रश्न सोधें । उसको उत्पत्ति कसरी भयो भन्ने त उसैलाई थाहा रहेनछ । अनि मैले मेरो कुरा भन्न थालें मैले भने तिम्रो नाम यहाँ सोजु(सुल) छ ।

हाम्रो देशमा तिमीलाई रक्सी भन्छन् ।  यहाँ तिम्रो दाम सबैतिर एउटै छ तर हाम्रो देशमा फरक फरक मूल्य छ । यहाँ धनी, गरीब, कामदारदेखि  राष्ट्रपतिसम्मले तिमीलाई नै पिउँछन् । 

तर हाम्रोमा त लोकल रक्सी, तोम्बादेखि लेबलसम्म स्तर अनुसार फरक फरकले स्वागत गरिन्छ ।  सोजुले मेरा कुरा खुबै रुचीपूर्वक अचम्म मानेर सुनिरह्यो । मेरो मनमा यो पनि केही बोलोस् दोहोरो कुराकानी होस भनेर सोचिरहेको थिएँ । केहीबेरमा बोल्न सुरु गर्‍यो । 

उसको मनको उकुसमुकुस त यहाँ आएका नेपालीसँग पो रहेछ ।  अचम्म मान्दै भन्न थाल्यो । तिमीहरुको त खाने जात र नखाने जात हँुदो रहेछ । कोही जातले पाएको खाने हो भन्दै पिउँछन् । कोही चाहिँ यहाँ त कसले देख्छ र मजाले पिउने हो भन्दै पिउँछन् ।

 हाम्रो देशमा त साह्रै महङ्गो हुन्थ्यो । तर यहाँ त कमाइको तुलनामा साह्रै सस्तो भनेको पनि सुनेको छु । उसका कुरा सुनेपछि मैले सोजुसँग सोधें, तिमीमा के छ जसले मान्छेलाई एकैछिनमा परिवर्तन गरिदिन्छौ ? नबोल्नेलाई बोल्ने बनाइदिन्छौ, मिलेरसँगै खान बसेकालाई झगडा पार्छौ, मान्छेलाई बिरामी पनि पार्छौ । 

इमान्दार भएर उसले भन्यो, हामी बिस्तारै शरीरभित्र आमाशय र आन्द्राबाट पसेर रक्तसन्चारमा पुग्छौं अनि मष्तिष्कमा आक्रमण गर्छौं । उत्तेजना पैदा गरिदिन्छौ र मानिसमा अचम्मका व्यवहार देखिन्छन् ।  

मान्छेलाई लतमा फसाउने कलेजो खाने काम पनि तिमीले गर्छौ रे त हो ? मैले सोधें । उसले हामी नरम छौं हामीलाई खानेलाई  हामीभित्र पुगेर नरम चिज कलेजो खान मन पर्छ भन्यो । धेरै समयदेखि खाइरहेकाहरुले रक्सीलाई सजिलै पचाएको देखेको थिएँ । त्यसैले मैले उनीहरुलाई चाहिँ किन केही गर्न नसकेको त ? भनेर सोधें । 

उसले ढिलो चाँडो मात्रै हो मलाई खानेलाई म छोड्दिन खान्छु नै भन्यो । त्यसपछि मैले कोरिया आएका नेपालीहरुले सुतेकै ठाउँमा ज्यान पनि गुमाएका छन् यो पनि तिम्रै कारणले गर्दा त हो नि होइन ? भनें । 

उसले सबैमा त भन्दिन तर हाम्रो पनि त्यस्ता घटनामा थोरै हात छ जस्तो लाग्छ भन्यो ।  कसरी  ? प्रतिप्रश्न गरें । उसको जवाफ थियो दिनभर कडा परिश्रम गर्छन् । ज्यान तात्ने गरी काम गरेर आएकाहरु मौसमको ख्यालै नगरी खान्छन् अनि सधैंका लागि निदाउँछन् भन्यो । 

यति भने बित्तिकै ढोका ढकढक गरेको आवाज आयो । अनि सँगै बस्ने दाइको आवाज आयो भाइ । हातमा लिएको प्लाष्टिकको कप कच्याककुचुक पारेर डष्टबिनमा हालें । अनि सोजुलाई उसकै ठाउँ फ्रिजभित्र राखिदिएँ । 

अन्तिम अपडेट: चैत १७, २०७५

तपाईको प्रतिक्रिया