तल्लो स्वराडवासीकाे घरआँगनमै चितुवा, स्थानीय त्रासमा

 माघ ५, २०७५ शनिबार १४:४७:४६ | जयराज अवस्थी
unn.prixa.net

बैतडी - बैतडीको तल्लोस्वराडमा चितुवाले मानिसहरुमाथि आक्रमण गर्न थालेपछि स्थानीयहरु त्रसित बनेका छन् ।

लगातार रुपमा चितुवाले आक्रमण गर्न थालेपछि मेलौली, शिवनाथ र पञ्चेश्वरका स्थानीयहरु त्रसित बनेका शिवनाथका स्थानीय विरेन्द्रसिंह महताले बताउनुभयो । उहाँका अनुसार केही दिन बिराएर चितुवाले फेरि आक्रमण गर्न थालेको हो ।

चितुवाले लगातार मानवबस्तीमा पसेरै आक्रमण गर्न थालेपछि स्थानीयवासी त्रसित बनेका छन् । बिशेषगरी बालबालिका तथा महिलाहरुलाई चितुवाले आक्रमण गर्दै आइरहेको छ । 

चितुवा नियन्त्रणको लागि धेरै प्रयास गरे पनि असफल भइरहेको छ । पछिल्लो समयमा चितुवाले घरआँगनमै आएर आक्रमण गर्न थालेपछि स्थानीयहरु त्रसित भइरहेका शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउँदले बताउनुभयो । 

चितुवाले आक्रमण गर्न थालेपछि चितुवा नियन्त्रणका विषयमा प्रमुख जिल्ला अधिकारीसँग छलफल भइरहेको उहाँले बताउनुभयो ।

नरभक्षी चितुवाले तल्लोस्वराड क्षेत्रमा गएको ७ वर्षयता २३ जनाको ज्यान लिइसकेको छ भने दुई दर्जनभन्दा बढीलाइ घाइते बनाएर छोडेको छ । विद्यालय जाँदै गरेका तथा साँझपख घरआँगनमै खेलिरहेका बालबालिकालाई चितुवाले आफ्नो निशाना बनाउँदै आइरहेको धर्मसिंह धनाडीले बताउनुभयो ।

आजभोलि पनि चितुवाले मानवबस्तीमा पसेर मानिसहरुलाइ आक्रमणको प्रयास गर्न थालेको र घरपालुवा जनावरहरुलाइ मार्न थालेको स्थानीय गम्भीर दयालले बताउनुभयो । उहाँले बताए अनुसार अहिले बालबालिकाहरुलाइ विद्यालय पठाउनसमेत अभिभावकहरु डराउन थालेका छन् । यसका साथै महिलाहरु पनि घाँसदाउरा गर्नसमेत निकै डराउने गरेका छन् । 

चितुवाको डरले वस्तुभाउ चराउन र घाँसदाउरा गर्न निकै डर लाग्ने गरेको स्थानीयहरुले बताएका छन् ।

चितुवा आक्रमणको विषयमा प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेले डिभिजन वन कार्यालयसँग समन्वय गरेर चितुवा नियन्त्रणका लागि प्रयास गरिने बताउनुभयो । उहाँले जिल्ला सुरक्षा समितिको बैठक बसेर निर्णय लिने आश्वासनसमेत दिनुभयो । 

पछिल्लो समयमा चितुवाको बासस्थान र आहारा नष्ट भएपछि चितुवा मानव बस्तीमा पस्न थालेको डिभिजन वन कार्यालय बैतडीका सहायक वन अधिकृत रामप्रसाद चौधरीको भनाइ छ । 

यसअघि पनि प्रशासनले धेरैपटक चितुवा नियन्त्रणको लागि तल्लोस्वराडमा प्रहरी र वनरक्षकको टोली पठाएपनि चितुवा फेला पार्न नसकेर फर्कने गरेको थियो ।

अन्तिम अपडेट: चैत १४, २०८०

जयराज अवस्थी

जयराज अवस्थी बैतडीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया