बर्बरिक नाटक कुञ्ज थियटरमा प्रदर्शन

 माघ ५, २०७५ शनिबार १८:१७:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाल कम्युनिष्ट पार्टी एमालेका तत्कालीन महासचिव मदन भण्डारीलाई मुख्य पात्र बनाएर लेखिएको उपन्यास बर्बरिकमाथि बनाइएको नाटकको प्रर्दशन सुरु भएको छ । 

झोराहाट नाटक घर विराटनगरका कलाकारहरुद्धारा राजधानीको बिजुलीबजारमा रहेकाे कुञ्ज थियटरमा बर्बरिक नाटक देखाइएको हो । यो नेकपाका नेता तथा साहित्यकार प्रदीप नेपालद्वारा लिखित उपन्यास ‘बर्बरिक’को नाट्य रुपान्तरण हो ।

नाटकमा उपन्यासमा जस्तै महाभारतका एक पात्र बर्बरिकसँग स्वर्गीय भण्डारीलाई तुलना गरिएको छ । वि.सं. २०४६ देखि २०५० सम्मको राजनीतिक गतिविधि, संयुक्त जनआन्दोलन तथा नेता भण्डारी र जीवराज आश्रितको रहस्यमय दासढुङ्गा दुर्घटनाका विषयहरु समेटिएको छ ।

नेकपाको चौथो महाधिवेशनपछिको राजनीतिक घटनाक्रमदेखि दासढुङ्गा दुर्घटनासम्मका विषयलाई नाटकमा देखाइएको छ । तत्कालीन राजा विरेन्द्रविरविक्रम शाहसँग जनताको सार्वभौमसत्ताको बारेमा नेता भण्डारीले गरेको वार्तालाप हेर्दै गर्दा भण्डारीको बारेमा सुन्दै र बुझ्दै आएका नयाँ पुस्ताहरुले त्यही समयमा पुगेको अनुभव गर्नेगरी नाटकमा जीवन्तता दिइएको छ ।

गणेशमानसिंह र नेता भण्डारीको मित्रता

त्यसैगरी लौह पुरुष गणेशमानसिंह र नेता भण्डारीको मित्रतालाई पनि नाटकमा देखाइएको छ । सुरक्षा खतराका बीच अस्पतालको शैयामा जारी आन्दोलन र राजाकोे गिर्दो आत्मविश्वासका बारेमा दुई नेताबीचको वार्तालापलाई कलाकारहरुले सचित्र उतार्न सकेको देखिन्छ ।

दासढुङ्गा दुर्घटनापछि उपन्यासमा जस्तै नाटकमा पनि लेखकले बर्बरिकको बारेमा आफूले लिएको चिन्ता कलाकारले भन्दै गर्दा जतिनै कठोर मनहरुलाई पनि पगाल्न सफल देखिन्छ ।

नाटक हेरेपछि लेखक एवं वामपन्थी नेता प्रदीप नेपालले कलाकारहरुले आफ्ना पात्रहरुप्रति ९९ प्रतिशत न्याय गरेको प्रतिक्रिया दिनुभयो ।

बर्बरिक नाटक आउँदाे माघ १२ गतेसम्म कुञ्ज थियटरमा प्रर्दर्शन हुनेछ । बर्बरिकको मुख्य भूमिकामा कलाकार भरत गुरागाईं हुनुहुन्छ भने निर्देशन जीवन बरालले गर्नुभएको छ ।

बर्बरिक महाभारतको एक शसक्त पात्र हो । यस नाटकमा पनि उपन्यास बर्बरिकमा जस्तै भीमको नाति बर्बरिकले आफ्नो क्षमता नदेखिइँदै मर्नु परेको कथालाई मदन भण्डारीको जीवनसँग जोडिएको छ । नाटक हेर्नका लागि सामान्य प्रशासन तथा संघीय मामिला मन्त्री लालबाबु पण्डित पनि कुञ्ज थियटर पुग्नुभएको थियो ।

 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया