चर्चित लोक दोहोरी गायक पशुपति शर्मा र गायिका सम्झना भण्डारीले छमछमी नचाए लमजुङेलाई

 माघ ५, २०७५ शनिबार १८:४२:४१ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – अहिलेका चर्चित लोक दोहोरी गायक पशुपति शर्मा र गायिका सम्झना भण्डारीले लमजुङेलाई छमछमी नचाएका छन् । 

स्थानीय तिलक स्मृति युवा क्लब र प्रगतिशील महिला सञ्जालको संयुक्त आयोजनामा सुन्दरबजार नगरपालिका–२, हाँडेटारमा शनिबार आयोजित एक दिने दोश्रो बृहत साँस्कृतिक कार्यक्रममा आएका गायक शर्मा र गायिका भण्डारीले गीत गाएर दर्शकलाई नचाएका हुन् । 

लोक दोहोरी गायक पशुपति शर्मा र गायिका सम्झना भण्डारी सांगीतिक प्रस्तुतिका लागि लमजुङ आउने थाहा पाएपछि उनीहरुको प्रस्तुति हेर्न हाँडेटारमा बिहानैदेखि दर्शक/श्रोताको भीड लागेको थियो । 

३ बजे हाँडेटार आइपुगेका गायक शर्मा साँझ ५ बजे स्टेज चढे, स्टेज उक्लने बित्तिक्कै उर्नले गुनगुनाइहाले,

चिन्ता छैन केही
मलाई अमेरिका यै, मलाई जापन पनि यै,

कालो पाइन्ट, छालाको कालो ज्याकेटमा सजिएका गायक शर्माले यो गीत सुनाउँदै गर्दा नाच्नेको घुइँचो लागेको थियो । 

यो गीत गाउँदै गर्दा उनले परदेशमा होइन, देशकै माटोमा केही कृषि उद्यम गर्न सके गाउँघरमै बसी पैसा कमाउन सकिने धारणा समेत व्यक्त गरे । 

उनले आफ्नो चर्चित गीत ‘झमझम दर्कियो पानी......,’ ‘लौरो हरायो.....,’ ‘तेरी बुढी आई, मिठोमिठो खाई.....’ लगायतका थुप्रै गीत गाएर दर्शकलाई छमछमी नचाएका थिए । 

गाउँदै, नाच्दै, दर्शकलाई पनि हँसाउँने, नचाउने गायक शर्माको कलालाई धेरैले रुचाएका थिए । 

यसैगरी, लोक दोहोरी गायिका समझना भण्डारीले ‘मेरो माया बसेको ठाउँमा.....,’ लगायत भजन, पञ्चेबाजाका गीत गाएर दर्शकलाई नचाएकी थिइन् । 

साँस्कृतिक कार्यक्रममा मोडल तथा डान्सर रिना थापा मगरले आफ्नो नृत्य प्रस्तुत गरेकी थिइन् । यसैगरी, स्थानीय कलाकार बाला दूरा र अशोक भुजलेको प्रस्तुतिमा पनि दर्शक रमाएका थिए ।

स्थानीय कला, सँस्कृतिको संरक्षण गर्ने उद्धेश्यले दोश्रो बृहत साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको तिलक स्मृति युवा क्लबका अध्यक्ष विष्णु खड्काले बताउनुभयो  । उहाँका अनुसार साँस्कृतिक कार्यक्रममा एक हजारभन्दा बढी दर्शकको उपस्थिति थियो । 
 

अन्तिम अपडेट: चैत ३, २०८०

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया