डा. रेणुकाको ‘चिराक’ विमाेचित

 माघ ५, २०७५ शनिबार १९:२७:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - डा.रेणुका थापा ‘सोलु’को ‘चिराक’ उपन्यास शनिबार प्रज्ञा भवन कमलादीमो विमोचन गरिएको छ । 

नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाएर लेखिएको चिराकमा सुदूरपश्चिम नेपालको भुगोल, समाज र संस्कृतिलाई चित्रण गरिएको छ । 
महिला हिंसाका घटना अशिक्षित र विपन्न परिवारमा मात्रै नभइ शिक्षित र सम्पन्न परिवारमा पनि विकराल छ भन्ने तथ्यलाई लेखकले पुस्तकमा उतार्नु भएको छ ।

विमोचन कार्यक्रममा बोल्दै समालोचक प्रा.डा.लक्ष्मण गौतमले पुस्तकको बलियो पक्ष नै शिक्षित परिवारभित्रको महिला हिंसा उजागर भएका पाटो रहेको टिप्पणी गर्नुभयो । 

पढाइमा समेत तेज उपन्यासकी मूलपात्र तुलसी कसरी लैंगिक विभेदका कारण पारिवारिक तनावमा पर्छिन् र समानताको अधिकारको लडाइँमा चिराक बनेर उभिन्छिन् भन्ने सन्देश पुस्तकले दिन्छ । 

यौन मनोविज्ञान, पुरुष प्रधान समाज र मानसिकताले जकडिएको समाजका खराब पक्षलाई पुस्तकमा पृथक रुपमा समेटिएका कारण पुस्तकको लोकप्रियता बढ्ने समालोचक साहित्यकार गिता केशरीले वताउनुभयो । 

यस्तै अर्का समालोचक प्रा.डा.ज्ञानु पाण्डेले नारी र पुरुष समाजका समान हैसियतका पात्र भएकाले उनीहरुको अधिकार र स्वतन्त्रता पनि बराबरी हुनुपर्ने बताउनुभयो । त्यसका लागि साहित्यिक कृतिमार्फत लेखकले न्याय गरेको उहाँको टिप्पणी छ । 

अर्की साहित्यकार माया ठकुरीले ‘चिराक’ विमोचनकै दिनबाट लोकप्रियताको बाटोमा हिँडिसकेको बताउनुभयो । पश्चिमेली भाषा संस्कृतिलाई दुरुस्तै पुस्तकमा समेटिनु असाधारण भएको उहाँले बताउनुभयो ।

लेखक ‘सोलु’ले उपन्यासमा साहित्यिक फुर्काहरुलाई कम महत्व दिँदै समाजको वास्तविक चित्र जस्ताको त्यस्तै ल्याउन झर्रा शब्दहरुलाई बढी प्रयोग गरिएको बताउनुभयो । 

लेखक रेणुका ‘सोलु’को यो दोस्रो उपन्यास हो । यसअघि उहाँको उपन्यास ‘भिरमह’ बजारमा आएको छ ।

त्यस्तै ‘गुलाफ फूल्न खोज्दा’ आत्मसंस्मरण,  ‘अस्तित्वको खोजी’ कथासंग्रह, ‘उपन्यासकार विपीका नारीपात्रमा नीतिी चेतना’ समालोचना लगायत १२ वटा कृतिहरु प्रकाशित छन् ।  
 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया