क्रिष्टल प्यालेसविरुद्ध जित निकाल्दै लिभरपुलले लियाे ७ अंकको अग्रता

 माघ ६, २०७५ आइतबार ६:३२:९ | उज्यालो सहकर्मी
unn.prixa.net

इंग्लिस प्रिमियर लिगमा लिभरपुलले क्रिष्टल प्यालेसविरुद्ध जित निकाल्दै तालिकामा सात अंकको अग्रता लिएको छ । घरेलु मैदान एन्फिल्डमा भएको खेलमा मोहम्मद सलाहले दुई गोल गरेपछि प्रतिस्पर्धात्मक खेलमा लिभरपुलले प्यालेसलाई ४–३ ले हरायो ।

३४औं मिनेटमा एन्द्रोस टाउनसेन्डले गोल गर्दै प्यालेसलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा एक गोलको अग्रता बनाएको प्यालेसले दोस्राे हाफमा भने अग्रता जोगाउन सकेन । ४६ औं मिनेटमा सलाहले गोल गर्दै खेल बराबरीमा पुर्‍याए ।

भर्जिल भान डिकले पहार गरेको गोल प्यालेसका डिफेन्डरले क्लियर गर्ने क्रममा मोहम्मद सलाहले गोल गरेका थिए । ५३औं मिनेटमा रोबर्टो फिरमिनोले गोल गरेपछि लिभरपुलले अग्रता लियो । खेलमा अधिकांश समय बल आफ्नो नियन्त्रणमा लिए पनि ६५ औं मिनेटमा जेम्स टम्पकिन्सले गोल गर्दै खेल फेरि बराबरीमा पुर्‍याए ।

७५औं मिनेटमा जेम्स मिल्नरले प्रहार गरेको बललाई प्यालेसका गोल किपर स्पेरोनीले रोकेका थिए । तर पूरा क्लियर नभएको बललाई सलाहले गोलमा परिणत गर्दै लिभरपुलाई ३–२ को अग्रता दिलाए ।

८९औं मिनेटमा जेम्स मिल्नर रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि लिभरपुल १० खेलाडीमा सिमित बन्यो । तर पनि इन्ज्युरी समयको तेस्रो मिनेटमा साडियो मानेले गोल गरेपछि लिभरपुलले अग्रता ४–२ मा लम्ब्यायो ।

तर त्यसको दुई मिनेटपछि नै प्यालेसका म्याक्स मेयरले गोल गर्दै लिभरपुलको अग्रता ४–३ मा छोट्याए । तर थप गोल गर्न नसक्दा लिभपुरले शीर्ष स्थानमा आफ्नो पकड बलियो बनायो ।

२३ खेलबाट लिभरपुलले ६० अंक बनाएको छ । एक खेल कम खेलेको दोस्रो स्थानको म्यान्चेस्टर सिटीको ५३ अंक छ । क्रिष्टल प्यालेस भने २२ अंकसहित १४औं स्थानमा छ ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया