मोदीको अभिनन्दनबारे बरालको टिप्पणी – एकातिरबाट माया र अर्कोतिरबाट घृणा गरेर सम्बन्ध बन्दैन

 बैशाख २७, २०७५ बिहिबार १०:४५:२ | विष्णु विश्वकर्मा
unn.prixa.net

काठमाडौं, वैशाख २६ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुईदिने राजकीय भ्रमणका लागि शुक्रबार नेपाल आउँदै हुनुहुन्छ । तर उहाँको राजकीय भ्रमण भन्दा काठमाडौं र जनकपुरमा नागरिक अभिनन्दन गर्न लागेको विषयले बढी चर्चा र आलोचना भैरहेको छ । 

तीन वर्षअघि भारतले नाकाबन्दी लगाएर दिएको पीडा नेपालीले बिर्सेका छैनन् । नाकाबन्दीको बेला भारतको कडा विरोध गर्दै राष्ट्रवादी छवि बनाएका प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले मोदीलाई भव्य स्वागत गर्ने तयारी गरिरहेको छ । मोदीलाई गर्ने भनिएको नागरिक अभिनन्दनबारे बहस र चर्चा भैरहेको छ ।

छिमेकी देशका प्रधानमन्त्री आउनु राम्रो भए पनि नाकाबन्दी लगाएर नेपालीमाझ अलोकप्रिय भएका मोदीलाई अभिनन्दन नै गर्न हुँदैन भन्ने धारणा सामाजिक सञ्जाल फेसबुक र ट्विटरमार्फत धेरैले व्यक्त गरिरहेका छन् । तर नागरिक अभिनन्दनलाई नकारात्मक रुपमा मात्र हेर्न नहुने कुटनीतिका जानकारहरु बताउँछन् ।

‘नागरिक अभिनन्दन कुनै ठूलो कुरा होइन्, हाम्रा प्रधानमन्त्रीले भारतमा ‘गार्ड अफ अनर’ पाउँदा मोदीलाई अभिनन्दन गर्न हुँदैन भन्ने हुन्छ ?’ भारतका लागि पूर्व नेपाली राजदूत लोकराज बरालले प्रश्न गर्दै भन्नुभयो, ‘एकातिरबाट माया र अर्कोतिरबाट घृणा गरेर सम्बन्ध बन्दैन ।’ 

समय र आवश्यकताअनुसार सम्मान दिएर सम्बन्ध सुधार गर्नु पर्ने भन्दै बरालले त्यसो गर्न नसकिए राजनीति नचल्ने पनि बताउनुभयो ।

नाकाबन्दीको तरबार सधैँ

परराष्ट्रविद बरालका अनुसार भारतले नेपालमा गर्ने नाकाबन्दी सदाका लागि अन्त्य भएको होइन र छैन । यो कुनै पनि बेला नेपाललाई आफूले भने अनुसारको काम गराउन भारतले चाल्ने कदम हो । त्यसैले मोदीको भ्रमणका बेलामा छिमेक नीति बुझेर हाम्रो वास्तविक धरातल, पूर्वाधार विकासका बारेमा ठोस रणनीति बनाउन सक्नुपर्नेमा बरालको जोड छ ।

‘मोदीको भ्रमणका बेला नेपालले एजेन्डामा ध्यान दिन जरुरी छ, जस्तो कि नाकाबन्दी अझै अन्त्य भएको छैन, भारतले जुनसुकै बेला पनि यसलाई ब्युताउँन सक्छ’, बरालले भन्नुभयो ‘त्यसैले पूर्वाधार विकास, जलविद्युत आयोजना निर्माणका काममा प्रगति खोज्न आवश्यक छ ।’

समय र आश्यकताअनुसार भ्रमण भइरहने भए पनि ठोस योजना, सहमति र सम्झौता भएमात्रै त्यसको उपलब्धी हुन्छ । होइन भने रहर र बाध्यताले गरिने भ्रमणले मात्रै दुई देशबीचको सम्बन्धमा उचाई थपिन नसक्ने परराष्ट्रविदहरुको धारणा छ । 

सीमा मिच्ने र नेपाली डुबाउने काम बन्द गरौँ 

मोदीको नेपाल भ्रमणका बेला दुवै देशका आ–आफ्नै एजेन्डा र प्राथमिकता होलान् र छन् । तर सबभन्दा महत्वपूर्ण कुरा मोदी गिर्दो लोकप्रियतालाई बचाउन नेपाल ओर्लिएको भन्नेमा नेताहरु सचेत हुन जरुरी छ ।

प्रधानमन्त्री ओली दुई तिहाई सरकार बनाएको एक महिनामै दिल्ली पुग्नुभयो । त्यसको एक महिनामै ओलीका समकक्षी मोदी पनि काठमाडौं आउँदै हुनुहुन्छ । यो सम्बन्ध सुधारको एक चरण हुनसक्छ ।

तर आफ्नो हात र एजेन्डा बलियो भएका बेला प्रधानमन्त्री ओलीले भन्न सक्नुपर्छ, कि बेलाबेला एसएसबी लगाएर सीमामा गरिने हस्तक्षेप अब पूर्ण रुपमा बन्द गर्नुपर्छ । यो सहमतिमा महाकाली र कोशी नदीलाई थुनेर नेपाली बगाउने काम पनि अब नगर्नु भनेर मोदीलाई हस्ताक्षर गर्न लगाउन आवश्यक रहेको बरालको धारणा छ ।

‘सीमा विवाद र बाँधका कारण बर्सेनि नेपालीले दुःख पाउदै आएका छन्, यो समस्या उठाउन छाड्नु हुदैन्’, बराल भन्नुहुन्छ, ‘अब सधैँ सहमति–सहमतिभन्दा पनि विगतका सहमतिको कार्यान्वयन र नेपालीलाई समस्या हुने भारतीय गतिविधिको अन्त्य हुनेगरी सहमति गर्न आवश्यक छ ।’

अन्तिम अपडेट: चैत ५, २०८०

विष्णु विश्वकर्मा

उज्यालोमा कार्यरत विष्णु विश्वकर्मा कृषि र राजनीतिक क्षेत्रमा कलम चलाउनु हुन्छ। 

तपाईको प्रतिक्रिया