नेपाली महिलालाई खाडीका देशमा बेचेको आरोप लागेका नेपालका लामा दिल्लीबाट पक्राउ

 माघ ७, २०७५ सोमबार १३:४:२७ | उज्यालो सहकर्मी

काठमाण्डौ –नेपाली महिलालाई भारत हुँदै खाडीका देशमा पुर्‍याएर बेच्ने आरोप लागेका एक व्यक्तिलाई भारतीय प्रहरीले पक्राउ गरेको छ । लामो समयदेखि भारतीय प्रहरीको विशेष ब्यूरोले आफ्नो खोजी सूचीमा रहेका नेपालका लोप्साङ लामालाई दिल्ली प्रहरीको विशेष ब्युरोले पक्राउ गरेको हो ।

लामालाई पक्रिन प्रहरीले उनका बारेमा जानकारी दिने व्यक्तिलाई एक लाख रुपैयाँ पुरस्कार दिने घोषणा पनि गरेको थियो । प्रहरीले पक्रिने क्रममा लामा यमुना नदीमा हाम फालेर भाग्न खोजेका थिए । तर पछि प्रहरीले उनलाई पक्रिन सफल भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

गएको साउन ९ गते विहारबाट दिल्ली महिला आयोगले १६ जना नेपाली महिलाको उद्दार गरेको थियो । उनीहरुलाई लामाले भारत हुँदै खाडीका देशमा बेच्न लान लागेको खुलेपछि प्रहरीले उनलाई खोजी सूचीमा राखेको थियो । 

उनले एक जना महिला पठाए बापत ४० देखि ५० हजार रुपैयाँसम्म लिने गरेको प्रहरीको भनाई छ । अहिलेसम्म उनले २४ जनाभन्दा धेरै नेपाली महिलालाई खाडीका देश र त्यहाँबाट अरु देश पठाएको भारतीय प्रहरीको भनाई छ । 

गएको वर्ष भदौमा पनि दिल्ली महिला आयोगले नै दिल्लीबाटै ३९ जना महिलाको उद्दार गरेको थियो । आयोगले उनीहरुलाई बेचेर देह व्यापारमा संलग्न गराउन लागिएको विशेष सूचना पाएपछि उनीहरुको उद्दार गरेको थियो ।  आयोगले एक हप्ताभित्रमा ७३ जना नेपाली महिलाको उद्दार गरेपछि लामालाई पक्रिन प्रहरीले खोजी थालेको थियो । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया