नेविसंघको अधिवेशनमा कांग्रेस नेताहरुबीच कार्यक्रम स्थलमै कुटाकुट

 माघ ८, २०७५ मंगलबार ६:३१:१० | शिव ढुंगाना
unn.prixa.net

ओखलढुंगा– नेपाल विद्यार्थी संघ जिल्ला कार्य समितिको १२ औं अधिवेशनको उद्घाटन शत्रमा विवाद भएपछि कांग्रेस नेताहरुबीच कुटाकुट भएको छ । 

सोमबार साँझ उद्घाटन शत्रको मञ्चमै भएको कुटाकुटमा कांग्रेस नेता बालकृष्ण दाहालको चस्मा फुटेको छ । उहाँले आँखामा चोट लागेको र सामुदायिक अस्पताल स्रोब्रुमा परीक्षण गरेको बताउनुभयो । त्यस्तै पूर्व सभापति गोमा केसीमाथि पनि कुटपिट भएको पत्रकार सम्मेलन गरेर नेताहरुले बताएका छन् । केसीले पत्रकार सम्मेलनमा आफूमाथि जिल्ला सभापति प्रदीप सुनुवारले हातपात गरेर दुर्व्यवहार गरेको आरोप लगाउनुभएको छ । 

अधिवेशन उद्घाटन सत्रमा असन्तुष्ट पक्षका नेताहरुले अधिवेशनमा सहभागी हुने प्रतिनिधिको नाम सार्वजनिक गर्नु पर्ने नेविसंघका केन्द्रीय उपाध्यक्ष नवीन राईलाई प्रमुख अतिथि बनाउनु पर्ने माग गरेपछि विवाद सुरु भएको थियो । 

जिल्ला सभापति प्रदीप सुनुवारलाई प्रमुख अतिथि बनाएपछि विवाद सुरु भएको नेविसंघका कार्यकर्ता सुजन दाहालले बताउनुभयो । प्रतिनिधि एक पक्षीय बनाएर आफू अनुकुल नेतृत्व चयन गर्न खोजेको भन्दै दाहाल र केसी मञ्चमै गएर कार्यक्रम रोक्न माग गर्दा झडपको स्थिति आएको हो । 

मञ्चमा जिल्ला सभापति प्रदीप सुनुवार, उपसभापति तेजेन्द्र खनाल र नेताहरु बालकृष्ण दाहाल, लिलाबल्दभ दाहाल काका, पूर्व सभापति गोमा केसीबीच झडप भएको प्रत्यक्षदर्शी नेता विनोद केसीले बताउनुभयो । उहाँले सभापति सुनुवार र उपसभापति खनालले आक्रमण गरेको आरोप लगाउनुभयो । झडप पछि असन्तुष्ट पक्षले कार्यक्रम बहिस्कार गरेका छन् । नेताहरुको कुटाकुटपछि विद्यार्थीसमेत दुई पक्षमा विभाजित भएका छन् । विद्यमान पदाधिकारी तथा प्रतिनिधि आएका विद्यार्थीहरु पक्ष विपक्षमा बाँडिए पनि अधिवेशनको बन्द सत्र भने सञ्चालन भएको छ । 

केन्द्रीय प्रतिनिधि तोकिएका पवन नेपालीले विधि मिचेर पार्टीले हस्तक्षेप गरेको आरोप लगाउँदै अधिवेशन स्थगन गरेको  विज्ञप्ति निकालेका थिए । यसपछि संघका केन्द्रीय अध्यक्ष नैनसिंह महरले अर्का प्रतिनिधि खटाएपछि  अधिवेशन चलिरहेको छ । 

सभापतिको राजीनामा माग 

संस्थापन पक्षले विधी मिचेर अधिवेशन गरेको भन्दै विवादपछि असन्तुष्ट पक्षका नेताहरुले सोमबार साँझ पत्रकार सम्मेलन गरेर जिल्ला सभापति प्रदीप सुनुवार र उपसभापति तेजेन्द्र खनालको राजीनामा माग गरेका छन् । 

पत्रकार सम्मेलनमा बोल्दै नेता टेकराज भट्टराईले महिला नेतृमाथि दुर्व्यवहार गर्ने सभापतिलाई पदमा बस्ने अधिकार नभएको जिकिर गर्नुभयो । उहाँले केन्द्रीय सभापति देउवा समक्ष बर्खास्त गर्न माग गरिने पनि बताउनुभयो । 

पत्रकार सम्मेलनमा नेतृ गोमा केसीले सभापतिले आफूमाथि दुर्व्यवहार गरेको आरोप लगाउँदै कानुनी उपचार समेत खोज्ने चेतावनी दिनुभएको छ । उहाँले विद्यमान पदाधिकारी बर्खास्त गर्न केन्द्रसँग मागसमेत गर्नुभएको छ ।माहिलामाथि हिंसा गर्ने सभापतिलाई पदमा बस्न अधिकार नभएको भन्दै उनीहरुलाई अस्वीकार गर्ने केसीलगायतका नेताहरुले पत्रकार सम्मेलनमार्फत बताएका हुन् । 

जिल्ला सभापति प्रदीप सुनुवारले भने मादक पदार्थ सेवान गरेका केही व्यक्तिहरु घुसाएर पार्टी हितविरुद्ध लागेका तत्वहरुले आफूमाथि आक्रमण प्रयास गरेको उद्घाटन सत्रमा सम्बोधन गर्दै बताउनुभएको छ । 

उहाँले आफूमाथि आक्रमण प्रयास गर्नेहरुलाई अनुशासनको कारवाही गर्ने चेतावनी दिनुभएको छ । लामो समयदेखि आन्तरिक विवादमा अल्झिएको कांग्रेसको विवाद अहिले आएर झडपमा पुगेको छ । संसदीय निर्वाचनमा असहयोग गरेको भन्दै असन्तुष्ट पक्षका केही नेताहरुलाई भने जिल्ला समितिले यसअघि नै कारवाही गरेको पनि सभापति सुनुवारले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

शिव ढुंगाना

शिव ढुंगाना ओखलढुंगाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया