बिजुलीका तार अब जमिन मुनी, धुलो उड्न नदिन मुसोले जस्तै दुलो खनिने

 माघ ८, २०७५ मंगलबार १०:३०:१६ | अर्जुन पोख्रेल
unn.prixa.net

काठमाण्डौ – केही दिनअघि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अब पानीमाथि पनि प्रसारण लाइन बनाउन समस्या भएको गुनासो गर्नुभएको थियो ।

खासगरी व्यक्तिगत घरजग्गा र वन क्षेत्रमा बिजुलीको प्रसारण लाइन बनाउन निकै समस्या भोग्नुपरेको उहाँको गुनासो थियो ।

ठूला प्रसारण लाइनसँगै शहरी क्षेत्रमा पोलमार्फत घरघरमा तार पुर्‍याउन पनि निकै अप्ठेरो झेल्नुपरेको छ । ठूला प्रसारण लाइनको लागि समस्या झेल्नुको विकल्प नभए पनि शहरी क्षेत्रमा पनि प्राधिकरणले जमिन मुनी तार बिच्छाउने विकल्प खोजेको छ । यसको लागि प्रक्रिया सुरु भएको छ ।

जमिन बाहिर तार राख्दा असुरक्षा बढेको, प्रसारण लाइनको लागि जग्गा पाउन समस्या भएको, शहरी सुन्दरता हराउन थालेको लगायतका समस्या देखिएको भन्दै प्राधिकरणले काठमाडौंबाट जमिन मुनी तार राख्ने कामको थालनी गर्न लागेको हो ।

प्राधिकरणले जमिन मुनी ३ वटा पाइप राख्नेछ, जसमा प्राधिकरणको तारसँगै अप्टिकल फाइबर र विभिन्न टेलिफोन तथा इन्टरनेट कम्पनीका तार हुनेछन् । सुरुमा एउटा पाइप प्रयोग गर्ने र दुईवटा पाइप खाली छाड्ने प्राधिकरणको योजना छ । खाली पाइपमा पछि वर्षौंसम्म विभिन्न कम्पनीका तार राख्न सकिनेछ ।

पहिलो चरणमा रत्नपार्क र महाराजगन्ज आसपासमा

नेपाल विद्युत प्राधिकरणले पहिलो चरणमा रत्नपार्क र महाराजगन्ज वितरण केन्द्र अन्तर्गत ग्राहकको घरसम्मका तार जमिन मुनी राख्ने योजना बनाएको छ ।

एसियाली विकास बैंक एडीबीको अनुदान र ऋण सहयोगमा प्राधिकरणले दुईवटा वितरण केन्द्रका झण्डै ९२ हजार ग्राहकका घरसम्म अन्डरग्राउन्डमार्फत तार पुर्‍याउने योजना बनाएको छ । 

त्यसको लागि प्राधिकरणले प्रस्ताव आव्हान गरेको थियो । प्रस्ताव दर्ता गराएका कम्पनीको मूल्यांकन गरेर एडीबीलाई पठाउने काम भैरहेको छ । 

एडीबीबाट पास भएका कम्पनीलाई समावेश गरेर दोस्रो चरणको मूल्यांकन गर्ने र ठेक्का प्रणालीमा जाने प्राधिकरणको योजना छ । कम्पनीहरु मूल्यांकनकै चरणमा रहेकाले अहिले नै परियोजनाको लागत खुलाउन नमिल्ने पनि प्राधिकरणले जनाएको छ । 

महाराजगन्ज वितरण केन्द्र अन्तर्गतका ग्राहकसम्म अन्डरग्राउन्डमार्फत तार लैजानको लागि १ सय ५५ किलोमिटर हाइटेन्सन लाइन र लो भोल्टेज लाइन २ सय १० किलोमिटर सडक खन्नुपर्ने प्रारम्भिक अनुमान गरिएको छ । 

रत्नपार्क वितरण केन्द्रका ग्राहकसम्म अन्डरग्राउन्ड तार लैजानको लागि भने महाराजगन्ज वितरण केन्द्रको भन्दा २०÷२५ किलोमिटर कम सडक खन्नुपर्ने आयोजनाले जनाएको छ ।

एक वर्षपछि काम सुरु, अढाइ वर्षमा पूरा हुने

काठमाडौं उपत्यका उच्च तथा मध्य विद्युत वितरण प्रणाली सुदृढीकरण आयोजनाका प्रमुख अभिषेक अधिकारीले तार अन्डरग्राउन्डको लागि  ठेक्का आव्हानकै लागि ४ महिना लाग्ने जानकारी दिनुभयो । 

त्यसपछि कम्पनीले पहिलो चरणमा आयोजनाको डिजाइन गर्नेछ । त्यसपछि सामान ल्याउन, भण्डारण गर्न कम्पनीलाई थप समय लाग्नेछ । यसको आधारमा तार अन्डरग्राउन्डको काम ठ्याक्कै सुरु हुन १ वर्ष लाग्ने र काम सुरु भएको अढाइ वर्षमा सम्पन्न हुने पनि आयोजना प्रमुख अधिकारीले जानकारी दिनुभयो । 

एउटाले सडक खन्ने र अर्कोले भत्काउने काम रोक्न सडकसँग सम्बन्धित सबै मन्त्रालयका जिम्मेवार व्यक्ति सम्मिलित समिति पनि बनाइसकेको उहाँले जानकारी दिनुभयो । 

धुलो उडाउने हैन, मुसोले जस्तो दुलो खोलिने  

अहिले मेलम्ची आयोजनाले पाइप बिच्छाउँदा काठमाण्डाैका सडक अस्तव्यस्त बनाएको छ । ठाउँ ठाउँमा खाल्डा, सडक धुलैधुलो अनि हिलैहिलो हुन्छ ।

तपाइँहरुले पनि मेलम्ची जस्तै गरेर शहर अस्तव्यस्त बनाउने हो ? भन्ने हाम्रो प्रश्नमा आयोजना प्रमुख अभिषेक अधिकारीले भन्नुभयो, ‘हामीसँग दुईवटा विकल्प छन्, एउटा मेलम्चीले जस्तै सडक खन्ने, अर्को छ मुसोले जस्तै दुलो खोल्दै जाने, लागत उस्तै उस्तै पर्ने भएकाले हामीले दुलो खोल्ने र पाइप राख्ने प्रविधिलाई जोड दिएका छौं, जसले गर्दा खाल्डा र धुलोको समस्यामा निकै कमी आउने अपेक्षा छ ।’

तर काठमाण्डाैका जमिन मुनी अहिले पनि सयौं तार, पानीका पाइपलगायतका बस्तु भएकाले दुलो खोल्न पनि समस्या हुने उहाँको भनाई छ । तर त्यसको लागि पनि जमिन मुनी के छ भनेर हेर्न एक्सरे जस्तै मेसिन ल्याउने बिकल्प रहेको अधिकारीले जानकारी दिनुभयो । 

पहिलो चरणमा रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्रका तार अन्डरग्राउन्ड गर्ने र त्यसपछि काठमाण्डाैका बाँकी ठाउँमा काम सुरु हुनेछ । तेस्रो चरणमा १८ वटा विभिन्न महानगरपालिका र उपमहानगरपालिकामा तार अन्डरग्राउन्ड गर्ने प्राधिकरणको योजना छ । 


 

अन्तिम अपडेट: चैत ९, २०८०

अर्जुन पोख्रेल

उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।  

तपाईको प्रतिक्रिया