एनसेलले ग्रामीण भेगका महिलालाई आय आर्जनको अवसर उपलब्ध गराउने

 माघ ८, २०७५ मंगलबार ११:६:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – एनसेलले बेलायत सरकारको सहयोगमा कार्यान्वयन भएको ग्रामीण पहुँच कार्यक्रम कनेक्टसँग सम्झौता गरेको छ । एनसेलले ४ सय भन्दा बढी महिलाहरुलाई आफ्नो रिचार्ज कार्डको खुद्रा बिक्रेता बन्ने अवसर प्रदान गर्न यो सम्झौता पत्रमा हस्ताक्षर गरेको हो । 

एनसेलका चिफ कमर्सियल अफिसर एण्डी चोङ्गले भन्नुभयो, ‘ग्रामीण पहुँच कार्यक्रमसँगै साझेदारी गरी प्रदेश ६ र ७ का ग्रामीण भेगका महिलाहरुलाई आय आर्जनको अवसर प्रदान गर्न पाउँदा हामी निकै खुसी छौं । स्थानीय समुदायको लागि दिगो व्यवसायको अवसरहरु सिर्जना गर्ने हाम्रो प्रतिबद्धता अनुसार यो साझेदारी भएको छ ।’

यस सम्झौताले ग्रामीण पहुँच कार्यक्रम कनेक्टसँग आवद्ध भएका ४ सय उद्यमी महिलाहरुलाई फाइदा पुग्ने जनाएको छ । यी महिलाहरुले एनसेल कम्पनीको खुद्रा बिक्री प्रतिनिधि भएर रिचार्ज कार्ड बेच्नुपर्ने हुन्छ । 

यो कार्यले महिलाहरुलाई दिगो आम्दानीको स्रोत सुरक्षित गर्न मद्दत गर्नुका साथै उनीहरुलाई आफ्नो व्यवसाय बढाउँदै भविष्यमा ई–चार्ज र सिम कार्ड बेच्न सक्षम बनाउने आशा एनसेलले राखेको छ । 

यस समझदारीसँगै प्रदेश ६ र ७ का ग्रामीण महिलाहरुलाई सशक्तिकरण गरी आत्मनिर्भर बनाउन ग्रामीण पहुँच कार्यक्रम कनेक्ट, युनिलिभर नेपाल लिमिटेड, बोटलर्स नेपाल लिमिटेड र प्रभु बैंक लिमिटेडबीच कायम रहेको साझेदारीमा एनसेल पनि सामेल भएको छ ।
 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया