व्यावसायिक बन्दै टिमुर खेती

 माघ ९, २०७५ बुधबार १३:५६:४६ | विमल बिष्ट
unn.prixa.net

डोटी – जोरायल गाउँपालिका–५ गड्सेराका लीलाधर विष्टसहितको समूहले अहिले गाउँमा व्यावसायिक रुपमा टिमुर खेती सुरु गरेको छ ।

टिमुरको उपयोगिता, बजार, यससम्बन्धी आवश्यक ज्ञान दिनका लागि आफूहरुले सो व्यवसाय सुरु गरेको किसान लीलाधर विष्टले बताउनुभयो । “टिमुरको बारेमा डोटीमा खासै ज्ञान नभएको र प्रशस्त रुपमा पाइने टिमुर खेर जान थालेपछि आफूहरुले सामूहिक रुपमा टिमुरखेती गर्न थालेका छौ ।” उहाँले भन्नुभयाे, “टिमुर फलाउन सके यो आम्दानीको राम्रो स्रोत हुन सक्छ । टिमुर बहुउपयोगी वनस्पति भएकाले यो स्वास्थ्यका लागि निकै उपयोगी हुन्छ ।”

सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका जङ्गलमा प्रशस्त रुपमा पाइने टिमुरको बारेमा सरकारी पक्षबाट किसानलाई खासै जानकारी दिन नसकिँदा यो उपयोग बिहीन हुन थालेको बोगटान गाउँपालिकाका स्थानीय बमबहादुर बलमेले बताउनुभयो ।

उहाँले भन्नुभयो, “टिमुरले गर्ने फाइदाको बारेमा यहाँका किसानलाई ज्ञान दिनसके यसले किसानलाई राम्रै आम्दानी दिने देखिन्छ तर त्यसो गर्न सकिएको छैन् ।” सुदूरपश्चिम प्रदेशका डडेल्धुरा, अछाम, बाजुरा, बझाङ तथा डोटी जिल्लामा टिमुर खेतीको सम्भावना बढी भएको कृषि इकाइ कार्यालय डोटीका कृषि प्राविधिक मनोज खड्काले बताउनुभयो ।

उहाँले भन्नुभयो, “टिमुरले रोपिएको पाँच वर्षबाट उत्पादन दिन सुरु गर्छ, रोपेको ३०/४० वर्षसम्म फल दिने भएकाले यसको खेती गर्दा किसानलाई फाइदा नै फाइदा हुन्छ ।” सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा टिमुरखेती गरेर किसानको आर्थिक अवस्था बलियो बनाउन सकिने प्रवल सम्भावना रहेको गैराका स्थानीय छपेशबहादुर मल्लले बताउनुभयो ।

डोटीमा सुकाएको टिमुर गाउँमा प्रतिकेजी रु दुई सय र बजारमा रु २५० मा बिक्री हुने गरेको स्थानीय व्यापारी बताउँछन् । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया