सरकार देशलाई समृद्ध बनाउने अभियानमा केन्द्रित रहेको छ: कार्यवाहक प्रधानमन्त्री पोखरेल

 माघ ११, २०७५ शुक्रबार १४:४६:३२ | उज्यालो सहकर्मी

काठमाण्डाै - कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले सरकार देशलाई समृद्ध बनाउने अभियानमा केन्द्रित रहेको बताउनु भएको छ । 

कार्यवाहक प्रधानमन्त्री पोखरेलले मुलुकमा राजनीतिक क्रान्तिको कालखण्ड सकिएको उल्लेख गर्दै अब आर्थिक विकासका लागि सरकारले ‘समृद्ध नेपाल र सुखी नेपाली’को अभियानलाई अघि बढाएको पनि स्पष्ट पार्नुभयो ।

शुक्रबारबाट काठमाण्डौमा सुरु भएको दक्षिण एसियाली क्षेत्रीय महिला सम्मेलनलाई उद्घाटन गर्दै उहाँले महिलामाथि हुने विभेद अन्त्यका लागि सरकारले विद्यमान ऐन, कानुनलाई कडाइका साथ लागू गर्ने प्रतिबद्धता पनि जनाउनु भयो ।

कार्यवाहक प्रधानमन्त्री पोखरेलले मुलुकमा प्राप्त राजनीतिक उपलब्धिको जगमा संघीयता, समावेशितालगायतका सिद्धान्तलाई प्रभावकारी ढंगले कार्यान्वयनमा लैजाने पनि बताउनु भयो ।

उहाँले बोक्सी, दाइजोलगायतका सामाजिक कुरीतिविरुद्ध अभियान नै सञ्चालन गरेर अघि बढने योजना पनि अघि सार्नुभयो ।

कार्यवाहक प्रधानमन्त्री पोखरेलले महिलामाथि हुने सबै प्रकारको विभेद अन्त्य गर्न महिलाहरुको क्षेत्रमा कार्यरत संघ, संस्थाहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको पनि स्मरण गराउनुभयो ।

२ दिनसम्म चल्ने सम्मेलनमा दक्षिण एसियाली क्षेत्रमा महिलामाथि हुने सबै प्रकारको विभेद अन्त्यका लागि ठोस रणनीति तय गर्ने अपेक्षा गरिएको छ । 

अन्तिम अपडेट: चैत १०, २०८०

तपाईको प्रतिक्रिया