शहीदका शालिक ठडाइयो, तर संस्कार ढालियो

 माघ ११, २०७५ शुक्रबार १४:२९:५८ | कुमार रञ्जित

शहीद शुक्रराज शास्त्रीलाई झुण्ड्याइएको ७८ वर्षपछि काठमाण्डाैको टेकु मचलीस्थित “शहीद शुक्र वृक्ष” मा उहाँको पूर्णकदको शालिक ठड्याइएको छ । प्रत्येक वर्ष शहीद सप्ताह शुभारम्भ गरिने यो वृक्ष भएको स्थानले अब शालिक सहित पूर्णता पाएको छ । यसअघिका वर्षहरुमा त्यहाँ इतिहास सम्झेर, अस्थायी फोटो झुण्ड्याएर र फूलका गुच्छा अर्पण गरेर श्रद्धाञ्जली चढाइएको केही मिनेटपछि औपचारिक समारोह समाप्त हुने गर्दथ्यो ।  

१८ वर्षअघि २०५७ सालमा त्यही वृक्षमा शहीद शुक्रराज शास्त्री (जोशी) कै सन्ततिले आफ्ना वंश परम्पराको पूर्ण विवरणसहित शहादतकाल र त्यसपछिका पारिवारिक घटनाक्रमहरुको सँगालो पुस्तक प्रकाशन, विमोचन र जनसमर्पण गरेको थियो । पुस्तकमा उल्लेखित राणा शासक जुद्ध शमशेरले मृत्युदण्ड दिन गरेको निर्णयपछि मचली पुर्‍याइएका शास्त्रीले आफैँले पासो बाँधेर मृत्युवरण गरेको र वृक्षमा झुण्डिएको छोराको शव हेरेर उहाँका पिता आर्यसमाजी पण्डित माधवराज जोशीले “छोरो हुनु त यस्तो...” भनेर गौरव गरेको सर्वदा चर्चित रहँदै आएका तथ्य हुन् ।

त्यस्ता बौद्धिक र शूरवीर परिवारका शुक्रराजको पारिवारिक इतिहास समेटिएको पुस्तक “प्रयाग–दृष्टि” उहाँकै भतिजा प्रयाग राज जोशीले लेखेर उहाँकै परिवारबाट प्रकाशित गरिएको थियो । उहाँले नै आफ्ना काका शहीद शुक्रको शव बुझेर बागमती र विष्णुमतीको संगमस्थल टेकु दोभानमा बगिरहेको नदीमाथि चिता बनाएर मध्यरातमा दागबत्ती दिनुभएको थियो । त्यसपछि राणा शासकबाट दिने गरिएको “पतिया” समेत लिइएको थियो । जसको इति–वृत्तान्त पुस्तकमा पढ्न पाइन्छ ।

नेपालका प्रथम कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको दुःखद् निधनपछि सुपुत्र डा. प्रकाश अधिकारीका साथमा काठमाण्डाैकै महाराजगञ्जमा शान्तपूर्वक जीवनयापन गरिरहनुभएकी उहाँकी धर्मपत्नी साधना प्रधान अधिकारी प्रमुख अतिथिका रुपमा सो पुस्तक विमोचन गर्न पुग्नुभएको थियो ।

“शहीद शुक्र वृक्ष” चौतारो मुनि पुग्दा नेपालका प्रथम जननिर्वाचित महिलाको इतिहास समेत बनाउनुभएकी साधनाका साथमा ट्याक्सीमा सुपुत्र डा. प्रकाश पनि पुग्नुभएको थियो । प्रख्यात् इतिहासकार भुवनलाल प्रधान, नेपाल प्रजा परिषद्का तत्कालीन कार्यवाहक अध्यक्ष हरिकृष्ण श्रेष्ठका साथै पुराना राजनीतिक अगुवा अष्टमंगल बज्राचार्यलगायतका व्यक्तित्वहरुको जमघटबीच उहाँले संक्षिप्त मन्तव्य प्रकट गर्नुभएको थियो ।

सोही सभाका वक्ताहरुले सर्वप्रथम सार्वजनिक रुपमा “शहीद शुक्र वृक्ष” मा शहीद शुक्रको शालिक राखिनुपर्ने माग गर्नुभएको थियो । अधिकांश वक्ताहरुले जोड दिएरै त्यसमा समर्थन जनाए र स्रोताहरुले पनि ताली बजाए । त्यसलगत्तै २०५७ सालको फागुन २४ गते त्यहीँ नजिकैको शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल परिसरमा शहीद शुक्रराजको अर्धकदको शालिक अनावरण गरियो ।

मूर्तिकार ओम खत्रीद्वारा बनाइएको अर्धकदको शालिकले उक्त अस्पतालको गरिमा बढाउन ठूलो मद्दत गर्‍यो । अहिले कलाकार महेश तुलाधरद्वारा निर्मित पूर्णकदको शालिकले टेकु मचलि क्षेत्रकै गरिमा बढाएको छ । यसअघि ललितपुरको इनार लगायतका स्थानमा शहीद शुक्रराजको शालिक पहिले नै प्रतिस्थापित छन् ।

अहिले “शहीद शुक्र वृक्ष” मा प्रतिस्थापन गरिएको शालिक कसले र कति खर्च गरेर बनाउन लगायो भन्ने कुरा महत्वपूर्ण होइन । महत्वपूर्ण कुरा त नेपालको राजनीतिक पात्रहरुको चरित्र, व्यवहार र उनीहरुले गर्दै आएका कृयाकलाप ठीक छ वा छैैन भन्ने विवेचना हो । उसै त अहिले नेपालको राजनीतिमा अग्रणी भूमिका रहेको नेपाल प्रजापरिषद पुस्ताका अग्रजहरु भेट्टाउन गा¥हो छ । त्यसमा पनि न्यून संख्यामै भए पनि जिउँदो इतिहास बनेका त्यस्ता अग्रजहरुलाई शहीद शुक्रको शालिक अनावरणस्थलसम्म ल्याउने र ऐतिहासिक कार्यको साक्षी राख्ने काम वर्तमान पुस्ताका राजनीतिककर्मीहरुले गरेको देखिएन ।

पुराना सिंगो पुस्ताले घाँटी सुक्ने गरी कराएर माग गरेर गएका शहीद शुक्रराजको शालिक अनावरण गरिँदा ती पुराना पुस्ताका कुनै अनुहार नदेखिनुमा काठमाडौं महानगरपालिकाको लापरवाही र उपेक्षा भाव स्पष्टै देखिन्छ । आयोजक रहेका कामनपा १२ नम्बर वडाकै मतदाता समेत रहेका ७८ वर्षअघि शहीद शुक्रको शव वृक्षबाट झार्ने कार्य गरेका ऐतिहासिक व्यक्तित्व चिरिभाइ महर्जनलाई पनि सम्झेको देखिएन ।

शुक्रवृक्ष सामुन्ने नै रहनुभएका काठमाडौं नगरका प्रथम मेयर जनकमान श्रेष्ठलाई समेत उपस्थित गराइएन । जबकि उहाँले नै आफू अध्यक्ष हुँदा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा अर्धकदको शहीद शालिक राख्न नेतृत्व गर्नुभएको थियो । यसप्रकारका काम गराईले अहिलेको राजनीतिक पुस्तालाई औपचारिक मात्रै बनाएको छ, आधिकारिक होइन भन्न कर लाग्छ ।

यसअघिका शहीदप्रति श्रद्धाञ्जली सम्बन्धी कार्यक्रमहरुमा सकेसम्म पुराना राजनीतिक अगुवाहरुलाई प्राथमिकता दिइन्थ्यो । सकेसम्म २००७ सालभन्दा अघिका नभए त्यसपछिका राजनीतिकर्मीहरुलाई अघिल्लो पंक्तिमा राखिन्थ्यो । अब त्यस्तो संस्कार र परम्पराको अन्त्य नै गराइएको देखियो । यस प्रकारका कार्यबाट शहीदका शालिक मात्रै ठडाइएको देखियो, शहीदका बलिदानबाट प्राप्त हुनुपर्ने अग्रणी पुस्ताप्रति गरिनुपर्ने संस्कार र परम्परा ढालिएको देखियो ।  
 

अन्तिम अपडेट: फागुन ६, २०७५

कुमार रञ्जित

तपाईको प्रतिक्रिया