अनसन स्थलबाट डा.केसीले भने: अब प्रधानमन्त्रीकाे राजीनामा

 माघ ११, २०७५ शुक्रबार १८:१३:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं - डा.गोविन्द केसीले आफ्ना माग पूरा नभएसम्म अनसन जारी राख्ने बताउनुभएको छ ।

शुक्रबार अनसनस्थलमा पत्रकार सम्मेलन गर्दै उहाँका सहयोगी डा.जीवन क्षेत्रीले संसदबाट पारित भएको चिकित्सा शिक्षा विधेयक डा.केसीसँग सरकारले गरेको सम्झौता अनुसार नआएको भन्दै अनसन जारी रहने बताउनुभएको हो । 

आफूसँग एउटा सम्झौता गर्ने र संसदबाट अर्को विधेयक पारित गराउने काम भएको भन्दै डा.केसीले प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा माग गर्नुभएको छ । 

‘आफैले गराएको सम्झौता कार्यान्वयन गर्ने नैतिकताबाट च्युत भएको र आफ्नै विगतको निर्णयबाट विचलित प्रधानमन्त्रीले तत्काल नैतिकताका आधारमा राजीनामा दिनुपर्छ,’ पत्रकार सम्मेलनमा उहाँका सहयोगी डा.जीवन क्षेत्रीले भन्नुभयो । 

प्रधानमन्त्रीको निर्णय क्षमतामा उहाँको स्वास्थ्य अवस्था र उहाँले लिइरहेको औषधिका कारण प्रभावित भइरहेको भन्दै त्यसको मूल्य राष्ट्रले चुकाइरहनु दुर्भाग्यपूर्ण भएको पनि उहाँले बताउनुभयो । 

संसदबाट पारित भएको विधेयक पार्टीसँग साँटगाँट भएका अमूक मेडिकल कलेजको स्वार्थ अनुसार आएको उहाँले बताउनुभयो । 

यस्तै डाक्टर केसीले सबै नागरिकलाई एक हुन आह्वान पनि गर्नुभएको छ । यसैबीच डाक्टर केसीको समर्थनमा आवासीय डाक्टरहरुले पनि आन्दोलन चर्काउने घोषणा गरेका छन् ।

यस अघि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता योगेश भट्टराईले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित भएकोमा खुशियाली मनाउन डाक्टर गोविन्द केसीलाई आग्रह गर्नु भएको थियो । 
 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया