सुदूरपश्चिम प्रदेश सभामा विधेयक र प्रतिवेदन पेश

 माघ ११, २०७५ शुक्रबार २०:३९:२५ | निर्मला खडायत
unn.prixa.net

कैलाली – सुदूरपश्चिम प्रदेश सभामा एउटा विधेयक र अर्को विधेयकसम्बन्धी प्रतिवेदन पेश भएको छ ।

संसदको हिउँदे अधिवेशन अन्तरगत शुक्रबार बसेको दोस्रो बैठकमा प्रदेश सभा सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ र सुदूरपश्चिम प्रदेशको सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेश भएको हो । 

सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले विधेयक पेश गर्नु भएको थियो भने सामाजिक विकास समितिकी संयोजक कुन्ती जोशीले प्रतिवेदन पेश गर्नु भएको थियो ।

संसदमा पेश भएको प्रदेश सभाको सचिव र सचिवालयसम्बन्धी विधेयकमा सचिवालय र सचिवका काम, कर्तव्य, अधिकार र पारिश्रमिक, सेवा, सुविधा, विदा तथा उपचार खर्चको सम्बन्धी व्यवस्था गरिएको छ । 

सहकारी विधेयक सम्बन्धी प्रतिवेदनमा सामाजिक विकास समितिले दफावार छलफल गरी सुझाव समेत उल्लेख गरिएको छ ।

बैठकमा विशेष समय लिएर सांसद्हरुले अहिलेको मौसमका कारण पीडित नागरिकहरुलाई राहत दिनुपर्ने, बजेट खर्चका अवस्थाबारे सरकारले संसदलाई जानकारी दिनुपर्ने, अबैध रुपमा भएको रुख कटानी, ढुंगा, गिट्टी, बालुवा संकलन लगायतको प्राकृतिक स्रोत दोहन रोकिनुपर्ने माग गर्नुभएको थियो । 

चट्याङ परेर मृत्यु भएका व्यक्तिका सदस्य, घाइते तथा क्षतिको विवरण लिएर उपचार खर्च लगायतको राहत तथा क्षतिपूर्ति दिनुपर्ने नेकपाका सांसद् अक्कलबहादुर रावलले बताउनुभयो । उहाले त्यो राहत प्रदेश सभाको आकस्मिक कोषबाट दिनुपर्ने माग गर्नु भएको हो । 

राजपाका सांसद कृष्णबहादुर चौधरी, नेपाली कांग्रेसकी सांसद कुमारी नन्दा बम र डिल्लीराज पन्तले सरकारले जनताको अपेक्षा अनुसार काम गर्न नसकेको बताउनुभयो । 
 

अन्तिम अपडेट: चैत २६, २०८०

निर्मला खडायत

खडायत कैलालीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया