चोटिल रोड्रिग्वेज जापानविरुद्ध मैदानमा

 असार ५, २०७५ मंगलबार १९:१६:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

सन् २०१४ को विश्वकपमा सबैभन्दा बढी गोल गरेका कोलम्बियाली फुटबलर जेम्स रोड्रिग्वेजले विश्वकप २०१८ मा पहिलो खेल नै गुमाउने भनिए पनि खेलको दोस्रो हाफमा मैदान प्रवेश गरेका छन् । 

पिँडुलाको चोटका कारण उनी जापानविरुद्धको खेलमा बेञ्चमै बस्ने निश्चित भएको भनेर अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका थिए  । तर उनी खेलको ५९ औँ मिनेटमा जुवान क्विन्टेरोको स्थानमा मैदानमा प्रवेश गरेका हुन् । क्विन्टेरोले जापानसँग एक–शून्यले पछि परेको अवस्थामा ३९ औँ मिनेटमा फ्रिकिकमार्फत गोल गर्दै बराबरी गरेका थिए ।

जापानले खेल सुरु भएको तेस्रो मिनेटमै पेनाल्टी पाएका थियो । कोलम्बियाली खेलाडी कार्लोस सान्चेजले शिन्जी कागावाको प्रहारलाई हातले रोकेपछि जापानले पेनाल्टी पाएको हो । कागावाले पेनाल्टीमार्फत गोल गर्दै जापानलाई अग्रता दिलाएका थिए । 

१० खेलाडीमा सीमित भएपछि जितका लागि संघर्ष गरिरहेको कोलम्बियाका लागि प्रशिक्षक जोसे पेकरम्यानले जोखिम लिएरै भए पनि घाइते रोड्रिग्वेजलाई मैदान प्रवेश गराएका हुन् ।

जेम्स रोड्रिग्वेज अघिल्लो संस्करणको विश्वकपमा गोल्डेन बुट जित्दा जम्मा २२ वर्षका थिए । त्यसबेला उनले  ५ खेलमा ६ गोल गरेका थिए । रियल मड्रिडमा स्थान बनाउन नसकेपछि लोनमा बायर्न म्युनिख गएका रोड्रिग्वेजले गत सिजन क्लबमा ७ गोल गर्दै ११ एसिस्ट गरेका थिए ।

विश्वकप छनोट प्रतियोगितामा ६ गोल र चार असिस्ट गरेका रोड्रिग्वेजले कोलम्बियाका लागि ६३ खेलमा २१ गोल गरिसकेका छन् ।


 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया