जसले १ सय १३ प्रकारका आवाज निकाल्छन्

 माघ १२, २०७५ शनिबार ९:३४:४० | निर्मला खडायत
unn.prixa.net

‘सुरुमा मेरो कलालाई कसैले पत्याएनन्, उनले भने, अहिले देश विदेशका विभिन्न ठाउँहरुमा गएर आफ्नो कला देखाउन भ्याइनभ्याई छ ।’ १५ वर्षको कलिलै उमेरमा फरक फरक आवाज निकाल्ने कला प्रस्तुत गर्दा उनलाई हौसला दिने कोही थिएनन् । बरु केही काम नपाएर बौलाइरहन्छ भन्दै धेरैले अलोचना गर्थे । तर अहिले उनलाई देश विदेशबाट निम्तो आउने गरेको छ, कला प्रस्तुत गर्नको लागि । 

उनी अर्थात् कैलाली सुख्खडका दीपेन्द्र ओली । जो पछिल्लो समय १ सय १३ प्रकारका आवाज निकालेर चर्चित छन् । नेपालका चर्चित नेता, कलाकारदेखि लिएर चराचुरुंगी तथा विभिन्न बाजाहरूको आवाज दुरुस्तै निकाल्न सक्ने क्षमता र कला छ ओलीमा । 

कैलालीको घोडाघोडी नगरपालिकाको सुख्खडमा २०५७ साल फागुन २५ गते जन्मिएका दीपेन्द्र अहिले १८ वर्षको भए । आफ्नो फरक कलाका कारण उनलाई अहिले मेला महोत्सवमा पुग्न भ्याइनभ्याई छ । राष्ट्रिय उच्च मावि सुख्खडमा १२ मा पढ्दै गरेका दीपेन्द्रले  हाँस्य कलाकार शिवहरि पौडेल, अर्जुन घिमिरे ‘पाँडे’ देखि कुमार कट्टेल ‘जिग्री’कोसमेत आवाज दुरुस्तै निकाल्न सक्छन् । विभिन्न बाजागाजा, जनावरको पनि आवाज निकाल्न सक्ने भएकाले आफू अरूभन्दा फरक भएको उनी बताउँछन् । 

‘कक्षा १० मा पढ्दा क्यारिकेचर गरेर गीत गाउँथे’ उनले भने, ‘मलाई नेपालका अन्य सबै हाँस्यव्यंग्य कलाकारको भन्दा फरक गर्न मन लाग्यो र मैले त्यसै गर्ने प्रयत्न गरें ।’ अहिले महोत्सवको बेला भएकाले भ्याइनभ्याई भएको र पढाइलाई समेत असर पर्ने गरेको उनले बताए । ‘तर लक्ष्य नै यसैमा केन्द्रित भएकोले दुवै कुरा सँगै लगेको छु’ उनले भने ।

फरक–फरक आवाज निकाल्दा सुरुमा घाँटीमा समस्या आउने गर्थ्याे । तर आफूमा भएको फरक प्रतिभा देखाउन पाउँदा खुशी लाग्ने गरेको उनी बताउँछन् । उनी भन्छन् ‘सुरुमै त कुनै पनि फरक आवाज प्रस्तुत गर्न सक्दिनँ, सुरुमा म अनुसन्धान गर्छु अनि अरुहरुको सामु देखाउँछु ।’ 

उनी देशका प्रायः सबै शीर्ष नेताहरुको आवाज नक्कल गर्न सक्छन् । ‘मोहन वैद्य किरणको क्यारिकेचर गर्न मलाई निकै मेहनत लाग्यो । अन्य नेता तथा कार्यकर्ता भन्दा फरक र गह्रौ आवाज भएकोले, तर, त्यो पनि पूरा गरेरै छोडें’ उनले भने ।

ओली घरका एक्ला छोरा हुन् । उनको एउटी बहिनी छिन् । सुरुमा परिवारबाट साथ नपाए पनि अहिले भने हौसला मिलेको उनी बताउँछन् । ‘शुरुमा त परिवारका सदस्यले पनि खासै सकारात्मक प्रतिक्रिया जनाउनुभएन’ ओलीले भने, ‘बाहिर कार्यक्रममा व्यस्त हुन थालेपछि परिवारको साथ पाएँ, अहिले उहाँहरुले पनि अगाडि बढ्न हौसला दिनुहुन्छ ।’ 

उनले हाँस्यव्यंग्य क्षेत्रमै केही गर्छु भनेर लागेको ३ वर्ष जति भयो । हाँस्यव्यंग्य क्षेत्रलाई मनोरञ्जनको माध्यमको रुपमा मात्र नभई चेतनामुलक कुराहरु पस्कनुपर्ने उनको विचार छ । आफ्नो फरक कलाको माध्यमले परिवारलाई मात्र होइन, देशलाई नै चिनाउने चाहना रहेको उनी बताउँछन् ।

२०७२ सालमा सुखडमा भएको साँस्कृतिक महोत्सवले दीपेन्द्रको कलालाई बाहिर देखाउनमा ठूलो टेवा पुग्यो । अहिले उनलाई देश विदेशका मेला महोत्सवका लागि निम्तो आइरहन्छ । ‘पोखरा, चितवन, बुटवल, भैरहवा, कपिलवस्तु, धनगढीलगायतका विभिन्न ठाउँहरु गरी नेपालका ३५ वटा जिल्लामा आफ्नो सहभागिता जनाइसकेको छु’ ओलीले भने, ‘म विश्वसामु चिनाउन चाहन्छु नेपालमा पनि धेरै प्रतिभा भएका मान्छे छन् भनेर ।’ उनले थपे, ‘गिनिज बुकमा नाम लेखाउने सपना छ, विश्वमै सबैभन्दा बढी आवाज निकाल्ने व्यक्ति नेपालका दीपेन्द्र वली भनेर । ’ 

भारतको दिल्ली तथा आसपासका ठाउँमा पनि आफ्नो प्रस्तुति देखाइसकेका उनी अरु देशमा पनि प्रस्तुति देखाउन जाने तयारी रहेको बताउँछन् । 

नाककको प्वालबाट गितार, घाँटीबाट सनहीलगायतका विभिन्न किसिमका बाजाको आवाज निकाल्न सक्ने ओलीले भारतीय चर्चित कार्टुन मोटु पत्लुको आवाजको क्यारिकेचर गरेर बालबालिकालाई मनोरञ्जन दिने गर्छन् । 
 

अन्तिम अपडेट: चैत ११, २०८०

निर्मला खडायत

खडायत कैलालीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया