जयपुर साहित्य उत्सवमा इजिप्ट क्रान्तिको चर्चा

 माघ १२, २०७५ शनिबार ९:५२:२० | उपेन्द्रराज पाण्डेय
unn.prixa.net

जयपुर – बिहीबारबाट सुरु भएको जयपुर साहित्य उत्सवको दोस्रो दिन लेखन, व्यक्तिगत कथा तथा नीति र धर्मलगायतका विविध विषयमा महत्वपूर्ण बहस र छलफल भए । शुक्रबार बिहान चर्चित गायिका उषा उथुपको सांगीतिक कार्यक्रमबाट झुमेको महोत्सवमा बेलुकासम्म नै विभिन्न विषयमा विचार विमर्श भयो ।

भारतीय सिनेमाका चर्चित लेखक तथा गीतकार गुल्जारले ‘जिया जले’ गीत कसरी बन्यो भन्ने विषयमा चर्चा गरेका थिए ।

शुक्रबार कुटनीतिज्ञ पवन के वर्मा, इजिप्सियन लेखक तथा टिप्पणीकार अदाफ शोएफ, चार्ल्स स्पेन्सरलगायतका लेखकहरुका विभिन्न सत्र आयोजना भए । विश्वमै सर्वाधिक पढिने लेखकहरु एन्ड्रयू सिन ग्रीर, बेन ओक्री, तानिया जेम्स, विक्रम चन्द्रा, भारतीय सिनेमाका हस्ती शबाना आज्मी र जावेद अख्तर, अभियन्ता अरुणा रोयले पनि विभिन्न सत्रमा आफ्ना विचारोत्तेजक टिप्पणीहरु गरे ।

त्यस्तै जयपुर साहित्य उत्सवको अर्को आकर्षण जयपुर म्युजिक स्टेजमा ग्रामी विजेता संगीतकार विक्कु विनायक्रम र सुफी गायिकाद्व रुहानी सिस्टर्स तथा इन्डियन ओसन ब्याण्डको प्रस्तुती पनि थियो ।

शुक्रबार पहिलो सत्र थियो, ‘आदि शंकराचार्यः हिन्दूइजम्स ग्रेटेस्ट थिंकर’ । यस सत्रमा पवन के वर्मासँग मालाश्री लालले कुरा गरेकी थिइन् । वर्माले जगद गुरु शंकाराचार्यका बारेमा कुरा गर्दै अहिलेको समयमा उनका विचारहरु सान्दर्भिक हुने बताउँदै आधुनिक विज्ञानको विकासमा शंकराचार्यको योगदानका बारेमा चर्चा गरेका थिए । 

इजिप्ट क्रान्तिको चर्चा

सन् २०११ को जनवरी २५ तारिख । इजिप्टका तत्कालीन राष्ट्रपति होस्नी मुबारकको अत्याचार र अन्यायविरुद्ध इजिप्टका नागरिकको असन्तोष सडकमा पोखियो । राजधानी कायरोको तहरीर स्क्वायरदेखि इजिप्टका विभिन्न शहरमा मुबारक सरकारविरुद्ध लाखौँ नागरिक सडकमा उत्रिए । अहिंसात्मक नागरिक आन्दोलनबाट सुरु भएको आन्दोलन हिंसात्मक बन्दै गयो । प्रहरीले दमन गर्न थाल्यो । आक्रोशित नागरिकको समूहले प्रहरी चौकीहरुमा आगो लगायो । ९० भन्दा बढी प्रहरी चौकी जले । 

सुरक्षा बल र नागरिकबीचको झडपमा ८४६ जना मानिस मारिए । ६ हजारभन्दा बढी घाइते भए । झण्डै १६ दिनको प्रदर्शनपछि उपराष्ट्रपति ओमर सुलेमानले राष्ट्रपति मुबारकले राजीनामा दिएको घोषणा गरे । मुबारकपछि इजिप्टमा सुप्रिम काउन्सिल अफ् आर्म्ड फोर्सले अन्तरिम सरकारको नेतृत्व गर्यो । 

त्यसपछि पटक–पटक चुनाव भयो । मुस्लिम ब्रदरहूडले चुनाव जित्यो । सन् २०१२ को जुनमा मोहम्मद मोर्सी राष्ट्रपतिमा चुनिए । तर मोर्सीले उदारवादी संविधान बनाउन ढिला गरेको भन्दै उनीविरुद्ध पनि सडकमा विपक्षीले आन्दोलन चर्काए । 

विपक्षी दललाई आम नागरिकले पनि साथ दिए । जुलाई ३, २०१३ मा तत्कालीन रक्षा मन्त्री अब्देल फतेह अल सिसीले कू गर्दै मोर्सीलाई राष्ट्रपति पदबाट अपदस्थ गरे । तत्काल चुनाव गर्न भन्दै लाखौँ इजिप्टेली नागरिक सडकमा ओर्लिए । तत्काल चुनाव भयो । सन् २०१४ को चुनावमा अल सिसी लोकप्रिय मतबाट राष्ट्रपति पदमा निर्वाचित भए ।  

शुक्रबार ‘द ब्याटल फर इजिप्टः डिस्प्याचेस फ्रम द रिभोलुसन’ नामक सत्रमा इजिप्टको क्रान्तिका बारेमा इजिप्टका लेखक अदाफ शोएफ, ओमर रोबर्ट ह्यामिल्टन, यास्मिन एल रशिदीसँग द इकोनोमिस्टका दक्षिण एसियाली ब्यूरो चिफ म्याक्स रोडेनबेकले इजिप्टेली क्रान्ति र त्यसपछिको राजनीतिक अवस्थाका बारेमा चर्चा गरे । 

अरब क्रान्तिको रुपमा परिचित इजिप्टेली लेखक अदाफ शोएफ तल्लो तहबाट नै एक वर्षदेखि क्रान्तिको तयारी गरेको बताए ।

कथा कहाँबाट आउँछ ?

शुक्रबारको अर्को महत्वपूर्ण सत्र थियो, ‘ह्वेर डज फिक्सन कम फ्रम’ । यो सत्रमा सहभागी थिए चर्चित लेखकहरु बेन ओक्री, एन्ड्रयू सिन ग्रीर, तानिया जेम्स र विक्रम चन्द्र ।

द फार्मिस्ड रोड, द फ्रिडम आर्टिस्ट जस्ता चर्चित कृतिका लेखक बेन ओक्रीले आफ्नो लेखनको आधार आफ्नी आमा नै भएको बताए । आफूलाई आमाले सुनाउने कथाहरु नै आफ्ना लेखनको स्रोत भएको ओक्रीले बताए । त्यस्तै तानिया जेम्सले समाचार, दैनिक जीवनका भोगाइहरु पनि लेखनका स्रोत बन्ने बताइन् ।

शुक्रबार नै नोबेल विजेता लेखक वेन्की रामाकृष्णनसँग प्रोफेसर प्रियमवदा नटराजनले ‘द जिन मेसिन एण्ड द कल्चर अफ् साइन्स’ सत्रमा कसरी आधुनिक विज्ञानले मानिसलाई एकलकाटे संस्कृतिमा धकेलेको छ भन्ने विषयमा चर्चा गरिन् । 

जयपुर साहित्य उत्सवकै अवसरमा ‘द फेस्टिबल डिरेक्टर्स राउण्डटेबल’ सत्रको पनि आयोजना भयो । यो सत्रमा विश्वका विभिन्न देशमा आयोजना हुने साहित्यिक उत्सवका निर्देशकहरु सहभागी थिए । 

सत्रमा सहभागी निर्देशकहरुले साहित्यिक उत्सव आयोजना गर्दाका चुनौती र समस्याका बारेमा चर्चा गरेका थिए । साथै साहित्यिक उत्सवले पारेका प्रभावका बारेमा पनि चर्चा भएको थियो । 

बिहीबारदेखि सुरु भएको जयपुर साहित्यिक उत्सव सोमबारसम्म चल्नेछ । शनिबार ब्रेक्जिट, विश्व युद्ध, लगायतका विभिन्न विषयहरुमा सत्र रहेको छ । 

अन्तिम अपडेट: चैत ३०, २०८०

उपेन्द्रराज पाण्डेय

उज्यालोमा कार्यरत उपेन्द्रराज पाण्डेय कला, साहित्य र संस्कृतिमा कलम चलाउनुहुन्छ ।  

तपाईको प्रतिक्रिया