निबन्ध : सेतो कोट

 माघ १२, २०७५ शनिबार ११:५:४४ | रमेश भट्टराई ‘सहृदयी’

मेरी छोरी सेतो कोट देख्दा डराउँछिन् । मलाई पनि तर्साउने जस्तो लाग्छ । हो, उही रूपमा बगेको छ खोलो । ढ्याङ्ग्रो बजाएर जोखाना राख्ने सोच अन्धविश्वास हो कि टाउको दुख्दा पेट दुखेको औषधी टक्र्याए फेरि निको नभए दुई दिनपछि आउनु होला भन्ने मन्त्र रूपी डाक्टरसाबको वचनमा विश्वास गर्ने ? रकेट बनायो, प्लेन उडायो, गाडी गुडायो, मेसिन चलायो, आविष्कार गर्‍याे । भौतिक उन्नति भयो नि हजुर । अनि पृथ्वी घुम्छ भन्या छन्, विश्वास त गर्नै पर्‍याे । तर्क बोकेर प्रमाण हेर्ने हो भने पनि म लाचार छु । 

यहाँ कैयौँ बालकलाई सारा वैज्ञानिकका नाम रट्दै हैरान । अहिले दुई चार सय वैज्ञानिक, डाक्टरको नाम रटेर पास गर्ने बच्चाले अबको १० वर्षपछि दुई चार हजारका आविष्कारकका दिमाग रन्काउने सूत्रको ट्युसन पढ्दा बाबुआमा र मास्टर साबको कठोर वचनमा चुपचाप डिप्रेसन बढाउनुपर्छ । हजुरबाले सिधा मुढोलाई हलो बनाए तर वैज्ञानिक बनेनन् । आफूले तिनको सिपमा नवीनता त दिनै चाहेनौँ । ढिकी, जाँतो, कुटो बनाउने आरने दाइलाई वैज्ञानिक मानिदैन । 

मानौँ पनि कसरी ? कुनै जर्ज फलाना, ढिस्कानाका अनुसन्धानहरू उच्च र अग्रस्थानमा छापिँदा यहाँका ठुटेहरूका अनुसन्धानमा हावादारीको संज्ञा मिल्नै पर्‍याे । हामी यता युरोप, अमेरिका, अष्ट्रेलियाका विद्वानका अप्ठ्यारा नाम घोकाइरहँदा उता उनीहरू हवाइजहाजको विकल्प सोचिरहेका हुन्छन् । यहाँ विद्यार्थीलाई जीवनको कुनै पनि स्थानमा काम नलाग्ने बोझिलो दिमाग खाने अप्ठ्यारा सूत्र घोकाएर पैसा लुछ्नेलाई पूजा गर्दै दौडिएकाको जमातमा रवाफी ब्याण्ड बजेको छ । पिजा र बर्गरका साथमा आधा अङ्ग्रेजी मिसाएर बोल्नेहरू सेता तिघ्रा र फाटेको पाइन्टमा निर्लज्ज ठाँटिएका छन् । 

प्राइभेटका प्यारा, शालीन उनै शिक्षक सरकारी कलेजका बाघ हुन् । आइन्स्टाइनको गफ गरेर माम, नाम र दामका पछाडि लघारिएका तमाम बुज्रुक वर्गको हड्केसमा सुगर फ्रिवाला सादा खाना हुन्छ । आइरन गरेको कोटभित्रको नोटमा निरीहको चोट हुन्छ । ओ, म हलो बनाउने हलीसँग सोध्दै थिएँ, त्यो तपाईँले लावारिस अवस्थामा भेट्टाउनुभएको ५०० को नोट किन गोजीमा लुसुक्क नहाल्या ? जवाफ दिए, म स्वाभिमान र पसिनाको कदर गर्छु । मलाई कसैको मन दुखाएर एकछिनको मजा लिनु छैन । त्यसमा शान्ति पनि त छैन । 

मैलो नेपाली टोपी लगाएर प्रकृतिमा सुसेली हाल्दै बाख्रा चराउने विद्यार्थीको सीपले विज्ञानको जादुलाई चुनौती खै कति देला र । यो देश भेडामय छ । माथिका भोटवालाको गोडा मोल्नेको लर्कोमा लागेका शिक्षित वर्गको तागतमा फाइँफुट्टा छ । रवाफको तुजुक छ । होटलका टेबलमा गफ जोत्ने अनि किसानले पोखेको पसिनाबाट उब्जेको अन्नले बनेको परिकारलाई अलिकति प्लेटमा छोड्नेलाई असारको रोपाइँमा एक दिन फोटो मुहारपुस्तिकाको भित्तामा राखेर पुग्छ ? सोध्नोस् । 

मधौरुको पेट छामेर, नाडी समाएर एक थोक भन्दिने अनि लाजै नमानी अप्ठ्यारो नलागी दुई मिनेट हेरेर दुई हजार माग्दै दुई लाखको अप्रेशन शुल्क लिई आफ्नो दुई जनाको परिवार दुई दिनका लागि बोक्रे दुई मुठी सासमा खुसी पार्ने सपना बुनिन्छ । उता बिरामी विचरालाई के थाहा, उसलाई बीस रूपैयाँको औषधीले निको हुन्छ । अनि अप्रेशन हुन्छ । 

आफन्तजनले अप्रेशनलाई आजकल फेसनमा तोलेर उच्च तहको दर्जा दिएर सम्मान गर्छन् । मानौँ उहाँले विद्यावारिधी प्राप्त गर्नुभएको छ । कति सजिलै लुटिन्छ तर विश्वास र लुटतन्त्रको खेल कति विश्वासिलो लाग्छ । कति सहजै विश्वास हुन्छ तर यो त अन्धविश्वास होइन है हजुर । धामीले ढ्याङ्ग्रो बजाएर फलाके, तीतेपाती सुँघाए, अक्षता फुके र फाले, कसैलाई बोक्सी बनाए अनि आफू धामी बने । डाक्टर धामी, तीतेपाती औषधी, नर्स सहयोगी, बिरामीको अप्रेसन र बोक्सी भनेर कुटिनेमा यति फरक जानीजानी र अन्जानमा ।

आविष्कारक विदेशी ठूलो, विचारक विदेशी, चिन्तक विदेशी, विदेश जाने नेपाली ठूलो, प्रमाणपत्र विदेशकै ठूलो, भाषा अङ्ग्रेजी जान्ने ठूलो, आफ्नो बिर्से केही पनि फरकै पर्दैन हजुर । त्यसैले आजकल फेसन, डिप्रेसन, अप्रेसन, डिभोर्स, टेन्सन सबै विदेशबाट व्यवहारमा अझै राम्रो तरिकाले सापटी ल्याएर अक्षरस अपनाइन्छ नि हजुर । तपाईँलाई म पाखे, पुरातनवादी, अन्धविश्वासी, अपरिवर्तित भन्ने सोच भएको मान्छे भन्न मन लागेको हुन सक्छ । मलाई मेरी आमाले आफ्नो काखमा निदाउन स्लिपिङ ट्याबलेट होइन परिश्रम गर्न सिकाइन् । घरभरि खाने मीठा परिकार हुँदा थुकै मात्र घुटुक्क निलेर मकैको च्याँख्ला र कोदोको खोले खानु पर्ने हाम्रो प्राचीनतालाई डाइभिटिजले जोगाएकै छ । 

मेरी आमाका पैँताला चिरा परेका छन् । बेलुका सुत्नेखेरमा नौनी घिउ लाएर मीठो निन्द्रा सुत्ने मेरी आमालाई घाम कहाँ पुग्दा कति बज्यो थाहा छ, म कस्तो बिरामी हुँदा कुन झारको जराको रसलाई कसरी, कति पटक चढाएर खुवाउने आफ्नै नियम थाहा छ । खै, मेरी आमा पढेकी मान्छे होइनन् सायद त्यसैले पनि अङ्ग्रेजी र हिन्दीभन्दा नेपाली नाटकघरमा दगुर्छिन् । दुःख कस्तो हुन्छ थाहै छैन । लाग्छ  टेलिसिरियलमा ठगेका कुरा छुट्याउन जान्ने मेरी आमासँग डाक्टरले ढाँटेर पैसा धुत्दा मात्र दुःख लाग्छ । म पनि जान्दिनँ, उनी पनि बुझ्दिनन् ।

यो संसारमा सम्पत्ति कमाएर अन्त्यमा जम्मा गर्ने वास्तविक बैंक भनेकै हस्पिटल हो । सरकारीमा उपचारभन्दा बढी तिरस्कार हुन्छ । प्राइभेटमा उपचारभन्दा बढी लुटमार हुन्छ । टाउको दुख्दा पेटको औषधी भिराए पनि विचरा हामी जान्दैनौँ । घरखेत बेचेर जम्मा गरेको पैसाले नपुगेपछि आफन्त गुहार्दासम्म उपचार हुन्न । 

यदि सरकारी हस्पिटलमा दोजिया सामान्य नारीले महिना–महिनामा स्याहारको अवसर पाइन् भने तिनको पेट थिचिन्छ, योनीमा हात हालिन्छ अनि त्यहाँ सिकारु नर्सको एउटा हँस्याइलो आवाज हुन्छ । न त्यहाँ कुनै गुरु हुन्छन् अनि त्यहाँ किचिमिचि, बेढङ्गको थिचाइमा पाकेको कटहरझैँ बन्छ त्यो पेट । अनुभव सङ्कलन र सर्टिफिकेट बटुल्ने टोकरी ती गर्भवती महिलाले वेदना सहँदा लाजभन्दा बढी भय व्यहोर्छिन् । हो दूरदराजलाई शहरको गन्धले बेर्न सक्दैन ।

राष्ट्रसेवकहरू मोबाइलको अलराममा घुम्छन् । आफन्तवादको स्वार्थमा त्यहीँका हज्जारौँले कुपनमा पैसा मिनाहा पाइरहलान् । मेरो त मन्त्रीको पीएकी श्रीमतीको छिमेकीसम्मको साइनो जोडिन्न अनि मैले उपचारको उपकारलाई अपेक्षा गर्नुभन्दा यहाँ ‘बाँचुन्जेल तिरस्कार मरेपछि पुरस्कार’ दिने समाजकै चिया गफ बन्नु उचित । वेदना चिमोटिएको संसारमा एउटा आसे मान्छे सानो मुख लाएर सेतो कोटको जदौ गरिरहँदा त्यहाँको कर्कस आवाजले सप्रेम दुई दिनको भाका सरिरहन्छ । सुत्केरी हुनेवाली श्रीमतीलाई प्राइभेटमा जाँच गराइरहनुहुन्छ भने तपाईँको बच्चा र आमाको स्वास्थ्य जाँचको प्रत्येक पटक छामछुमको रू. ५०० मात्र, प्रवेशको रू. ४०० अनि भिडियोमा बच्चा चलेको हेर्न रू. ७०० र प्रतिमहिना एक पटक अनिवार्य हेर्नुपर्छ । 

आठ महिनासम्म सबै ठिकै हुन्छ । नौ महिना पुग्न १५ दिन बाँकी हुँदा तपाईँको अर्जेन्ट अप्रेशन गर्नुपर्ने हुन्छ, नत्र तपाईँको आमा र बच्चाकै स्वास्थ्य खतरामा हुन्छ । अनि डाक्टरले पठाउँछन्, उनको हस्पिटलमा । प्रति अप्रेशनले भागमा दश, पन्ध्र हजार जति परिहाल्छ । घायल शरीर बनाइएकी नवसुत्केरी र डेढ दुई लाखको सन्तान लिएर बाबा चाहिँले फेसबुकमा फोटो हाल्छन् । प्रतिक्रिया दिनेहरूले भन्छन्– हार्दिक बधाइ । बधाइको ओइरो । आमाको घाइते शरीरको स्तनमा झुत्ती खेल्ने बच्चासँगै बाबाले एक मुस्कानसहित ती घुस्याहा समूहलाई धन्यवाद अर्पन्छन् । वास्तविकताका कसीमा सेतो कोटको तीतो सत्यमा निःसन्देश सेवाका रङ्गहरू चलिरहन्छन् । 

पैसा नहुने सुत्केरी हुनेवाली दोजिया नारी थापाथली हस्पिटलको पेटीमा सिट नपाएर छटपटाइरहन्छिन् । तिनलाई त्यहाँ ड्युटीमा खटिइरहने प्रत्येक सेतो कोटका बुज्रुक युवा रङहरूले घृणा र बेवास्ता पस्किरहन्छन् । एकै छिनमा मन्त्रीजीले डाक्टरसालाई फोन गरेको सुनिन्छ । उनकी भान्जाकी साथीकी नातेदारको छिमेकीलाई डेलिभरी समस्या छ, हेर्नुपर्ने भएको खबर पाएको बुझिन्छ । तब एकाएक भीआइपी बेड तयार हुन्छ । 

उता गन्हाउने पेटीमा बेसहारे बनेकी ती दोजिया नारीका श्रीमान्लाई अकस्मात् फोन आउँछ, ‘हैन, क्या हो पारा, यो महिनाको भाडा दिनु पर्दैन । आज महिना सुरु भएको ‘टिन डिन’ भो । घरबाट निकाल्ड्यौँ ? कस्टो सरम नभाको मान्छे । टाइममा भाडा नडिनेले अर्काको घरमा बस्न लाज छैन....।’ सुत्केरीलाई छिँडीमै छोडेर श्रीमान् आजको भारी खेप्न कालीमाटी नगए श्रीमतीलाई ज्वानो केले किन्ने ! यत्तिकैमा श्रीमती चाहिँलाई व्यथाले च्याप्छ । कसैले दया गरेर जबरजस्ती अस्पताल भित्रसम्म पुर्या‍उँदा कालीमाटीमा आँसु र पसिना बगाइरहेको भरिया श्रीमानले एउटाको सामान अर्कैकामा हालेकोमा गोधाइ खाइरहन्छन् । तब पनि भावनामा डुबेर नव सन्तानको सपना तुनिरहन्छन् । उही सेतोकोटका ठिटाठिटीको कर्कस आवाजका फटाफट हिँड्ने सरक सरक आवाजमा । 

एउटा हुनेवाला बाबुले भारी बोकिरहँदा त्यहाँ अर्को हुनेवाला बाबुले भारी बोकाएर सुत्केरीलाई हर्लिक्स, काजु, किस्मिस, घिउ.... किनिरहन्छन् । अरे, हत्तपत्त दगुरेर हस्पिटल पुगको फोहोरी भरियालाई भित्र जान मनाही गरिन्छ । बच्चा जन्मिन्छ, आमाले आफ्नो चिनो छोड्छिन् । बच्चाकी आमा मात्र शरीरकी......त्यो रोदन र खुसी न हाँस्न लायक न त रुन नै । सेता कोटवालाहरू काउछो पन्छिए राम्रो मान्छन्, आखिर नौलो लाग्दैन पनि । कसैकसैले चुकचुकाउँछन् । उता मन्त्रीजीको फोनमा अघि बधाई ग्रहण गरेका डाक्टरसाब घर पुगेर आनन्दमा निदाउँछन् । 

प्रत्येक सेतो कोटमा घरबारी र खेतबारीको नाम लेखिँदा शरीरले अलिकति साहस पाएर मनले अशान्ति भिर्छ । जिन्दगीमा नदेखेको रकमको बिटोलाई एकछिन खोजीमेली गरेर बटुल्ने एउटा नागरिक हैरानीको सिरानीमा एउटा कोठामा भाडा लिएर बस्दा तिरेको रकम र बिरामी जोगिनेको दोसाँधमा कति तड्पिन्छ, भक्कानिन्छ । 

भनसुनको कोसिसमा तड्पेको निरीह मान्छे चन्द्रसूर्य अङ्कित झण्डालाई हेर्छ । सगरमाथाको सेतोसँगै अत्तालिएर तर्सिन्छ । खै किन, ऊ हतास छ । अनायास चार पैसाको जोहो गर्ने सपना चकनाचुर भएर फुट्छन् । सेतोकोटको चानचुने रवाफमा अत्तालिएको त्यो नागरिकले नागरिकताको फोटोलाई नियाल्छ । सादा र पुरानो लाग्छ । उसको शिरको ढाका टोपी र कलिलो अनुहारमा छोराको प्रदीप्त अनुहारमा छोरोलाई डाक्टर नबन्न आग्रह गर्ने प्रण गर्छ । 

हो, गरिबका लागि, असक्तका लागि त यो संसार लायक होइन । बरु, आफैँ जस्तो गाउँको नजान्ने मान्छे काठमाडौँमा ढोका खोल्न नजान्दा लाञ्छित भएको अनि चर्पी गर्न नजानेको लज्जास्पद पाखेपनामा गम्छ । जीवन नरक जस्तो मान्दै गर्दा सेतो कोटले सधैँ घोचिरहेको पीडामा सपनामा उसलाई तर्साउँछन् । सबैले जिन्दगीभर कमाएर अन्तिममा थन्क्याउने सेतो कोटमा आईसीयूमा अर्को बिरामी नआएसम्म चार दिन अगावै मरेको लासले पैसाको हाँगा बढाइरहन्छ । 

अर्को बिरामी उभन्दा पैसावाल आएमा बेड चाँडै खाली हुन्छ र नरकधामबाट पार पाइन्छ । काउन्टरमा भनिन्छ, ‘हजुरको थ्री मिलियनको बिल छ ।’ उता सेतो कोट लगाउने कर्कस बोलीका एकजना छिटोछिटो हिँड्दै भित्र छिर्छन् । गार्डले सलोट हान्छ, काउन्टरकीले एक मुस्कानले स्वागत गर्छे । सबै सतर्क हुन्छन् । १५ मिनेटमा ५० बिरामी नियालेर दुई दिनपछिको भाकामा ती साब निस्कन्छन् । थ्री मिलियनले पसिना फुटिरहन्छ । थ्री हजारको हैसियत नहुने बबुराले सोच्छन्– सायद, खाता नम्बर पहिला नै सेतोकोटको नाममा हुन्छ होला....... । 


 

अन्तिम अपडेट: साउन ४, २०७६

तपाईको प्रतिक्रिया