मुस्ताङमा हिमपात : हवाई, यातायात, सञ्चार सेवा अवरुद्ध

 माघ १२, २०७५ शनिबार १३:४९:९ | प्रताप बानियाँ
unn.prixa.net

म्याग्दी – शुक्रबार साँझदेखि भएको वर्षा र हिमपातका कारण हिमालपारीको जिल्ला मुस्ताङमा यातायात र विद्युत सेवा अवरुद्ध भएको छ । वर्षासँगै आएको हिउँ सडकमै जमेपछि बेनी–जोमसोम सडकखण्ड अन्तर्गत मुस्ताङको लेतेमा सडक अवरुद्ध बनेको हो । 
    
सडकमा हिउँ जमेपछि सवारीसाधन जाममा फसेको हुँदा सवारी आवागमन अवरुद्ध भएको मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी विश्वेश्वर रेग्मीले टेलिफोनमार्फत बताउनुभयो । उहाँका अनुसार हिमपातपछि शुक्रबारदेखि नै मुस्ताङमा केन्द्रीय प्रसारण लाइनको विद्युत सेवा आपूर्ति बन्द भएको छ । 

विद्युत सेवा बन्द भएपछि अहिले उपल्लो मुस्ताङको लोमान्थाङ क्षेत्रमा सञ्चार सम्पर्क विच्छेद भएको उहाँले जानकारी दिनुभयो । यसैगरी जोमसोम विमानस्थलको रनवेमा हिउँ जमेपछि हवाई उडान बन्द भएको सहायक प्रमुख जिल्ला अधिकारी रेग्मीले बताउनुभयो । अहिले पनि निलगिरी हिमाललगायतका डाँडाहरुमा बादल लागेको र हिमपात भैरहेको छ । जोमसोममा झण्डै १ फिटभन्दा बढी हिउँ जमेको छ । 


    
उपल्लो मुस्ताङको लोमान्थाङ, छोसेर, छोन्हुपसहितका स्थानमा भारी हिमपात भएको र झण्डै २ फिटभन्दा बढी हिउँ जमेको छ । कागबेनी, मुक्तिनाथसहित मुस्ताङका सबै ठाउँमा भारी हिमपात भएको सहायक प्रमुख जिल्ला अधिकारी रेग्मीको भनाइ छ । हिमपातका कारण सवारी आवतजावत र हवाई उडान हुन नसक्ने अवस्था रहेको उहाँले बताउनुभयो । हिमपातपछि चिसो अत्यधिक बढेको बताइएको छ । 


    
मुक्तिनाथ दर्शन र मुस्ताङ घुम्न पुगेका स्वदेशी तथा विदेशी पर्यटकहरुलाई आवतजावतमा रोक लगाइएको छ । अहिले मुस्ताङमा भारतीय पर्यटकहरु पुगेका छन् । उनीहरुलाई होटलमै बस्न आग्रह गरिएको रेग्मीले बताउनुभयो । चिसो मौसम रहेको हुँदा जुनसुकै समयमा पनि वर्षा र हिमपात हुने भएकाले उनीहरुलाई टाढाको यात्रामा ननिस्कन आग्रह गरिएको छ । 


 

अन्तिम अपडेट: चैत १६, २०८०

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया