नयाँ शक्ति पार्टी, नेपालले जनसंवाद यात्रा अभियान थाल्ने

 माघ १२, २०७५ शनिबार १५:४२:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी, नेपालले यही माघ १५ गतेदेखि मध्यपहाडी लोकमार्गमा ‘जनसंवाद यात्रा’ अभियान संचालन गर्ने भएको छ । 

नयाँ शक्ति पार्टी, नेपालले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी ‘असल राजनीति र समावेशी विकास’का लागि भन्दै यही १५ गते मंगलबारदेखि मध्यपहाडि लोकमार्ग अन्तरगत पूर्वमा पाँचथरको चिवा भञ्ज्याङदेखि पश्चिममा बैतडीको झुलाघाटसम्म एक महिने ‘जनसंवाद यात्रा’ अभियान संचालन गर्ने जानकारी गराएको हो ।

असल राजनीति, विकास र समृद्धिको यात्रालाई प्रभावकारी बनाउन जनतासँगै संवाद गरेर सुझाव दिन सो अभियान सञ्चालन गर्न लागिएको पार्टीका संयोजक डा. बाबुराम भट्टराईले जानकारी दिनुभयो । हिमाल, पहाड र तराईका सबै जिल्लालाई छुने भएकाले सो अभियान मध्य पहाडी लोकमार्ग भित्र संचालन गर्ने योजना तय गरिएको पनि उहाँले स्पष्ट पार्नुभयो ।

लोकतन्त्रलाई अझै समृद्ध बनाउन पनि अभियानले सघाउ पुर्‍याउने नयाँ शक्ति पार्टी, नेपालको दावी छ । अभियानमा पार्टी संयोजक भट्टराईको नेतृत्वमा पार्टी हेडक्वाटरका नेताहरु, सम्बन्धित प्रदेश, स्थानीय तह, विभाग र आंगिक तथा पेशागत संगठनका नेताहरु सहभागी हुनेछन ।

पाँचथरको चिवा भञ्ज्याङबाट सुरु हुने ‘जनसंवाद यात्रा’ अभियानका क्रममा पार्टीले स्थानीय स्तरमै जनसभा, जनसंवादलगायतका कार्यक्रम संचालन गर्नेछ ।

अभियानका क्रममा जनताले दिएको सुझाव संघीय सरकार र प्रदेश सरकारलाई पनि जानकारी गराइने योजना पनि संयोजक भट्टराईले बताउनुभयो । जनताकै सहभागितामा मुलुकको समृद्धिको अभियानलाई अघि बढाउन पनि सो अभियानले महत्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ ।

पूर्व प्रधानमन्त्री भट्टराई अर्थमन्त्री भएकै बेलामा मध्यपहाडी लोकमार्ग निर्माणको काम सुरु गरिएको थियो । सोही लोकमार्ग निर्माणको कामको अध्ययन गर्न पनि सो अभियान उपयोगी हुने पनि भट्टराईले बताउनुभयो ।

 

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया