गोरखकाली रबर उद्योगमा टाँसियो अवकाशको सूचना

 माघ १३, २०७५ आइतबार ९:१७:४५ | किरण लोहनी
unn.prixa.net

गोरखा – गोरखा नगरपालिका वडा नम्वर १३ मझुवा देउरालीमा रहेको गोरखकाली रबर उद्योग करिब ४ वर्षदेखि बन्द छ । तर उद्योग बन्द भए पनि साढे दुईसय मजदुर हरेक दिन २ पटक अनिवार्य रुपमा उद्योगमा पुग्थे । बिहान ७ वजे उद्योगमा जडान गरिएको विद्युतीय हाजिरी मेशिनमा हाजिरी गरेपछि उनीहरु दिनभर आफ्ना अरु कामधन्दामा व्यस्त हुन्थे । अनि बिहानजस्तै दिउँसो ३ बजे हतार–हतार उद्योग पुग्थे र बिदाई हाजिरी गरेर घर फर्कन्थे । 

अब भने त्यो सिलसिला औपचारिक रुपमा टुंगिएको छ । बन्द उद्योगमा हाजिरी मात्रै गरेर जागिर धानिरहेका मजदुर र कर्मचारीलाई अवकाश दिने सरकारी निर्णय उल्लेख गर्दै उद्योगको मूल गेटमा सूचना टाँस गरेपछि पौने ४ वर्षदेखिको बिना कामको हाजिरीको सिलसिला मात्रै टुंगिएन, उद्योग स्थापनाको भण्डै २८ वर्षदेखिको अलमल पनि टुंगिएको छ । स्थापनाको करिब ३ दशकको अवधीमा गोरखकाली रबर उद्योग एक वर्षमात्रै नाफामा गयो, अरु सबै वर्ष घाटा मात्रै । 

बढ्दो घाटाका बीचमा कैयौं पटक मजदुरले नियमित तलब खान समेत नसक्ने अवस्था आयो । विभिन्न सरकारले पटक पटक दिएको ऋणबाट तलबभत्ताको व्यवस्थापन त भयो, तर उद्योग निरन्तर चल्न सकेन । २०७२ सालको भूकम्पपछि भने रबर उद्योग एक पटक पनि चलेन । न सरकारले पुनः सञ्चालनको भरपर्दो आशा जगाइदिन सक्यो, न त बन्द नै यर्‍याे । 

यसरी कागजी कर्मचारी मात्रै भएर बस्नुपर्दा दिक्क भएका कर्मचारी र मजदुरले निष्कर्ष निकाले, बरु हामीलाई अहिलेसम्मको बक्यौता रकम दिएर अवकाश गरिदिए हुन्छ । वर्तमान सरकार र मजदुर कर्मचारीको लय मिल्यो र गएको माघ ३ गतेको मन्त्रीपरिषद बैठकले उनीहरुलाई त्यही दिनदेखि लागू हुने गरि अनिवार्य अवकाश दियो । अवकाश दिइएकोबारे औपचारिक जानकारी गराउन उद्योगको महाप्रवन्धककोसमेत जिम्मेवारी पाएका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव शोभाकान्त पराजुली माघ १२ गते बिहानै उद्योग परिसर आइपुग्नुभयो । 

मूल गेटमा अवकाशको सूचना टाँसेर मजदुर कर्मचारीसँग केहीबेर अन्तक्रिया गरेर फर्किनुभयो । ‘अब तपाईहरुले हाजिरी गरिरहनु पर्दैन, अवकाश पाउनुभएको छ, हामी बक्यौता तलबभत्ता छिट्टै उपलब्ध गराउँछौं ।’ मजदुर नेता र कर्मचारीलाई उहाँले जानकारी दिनुभयो । ५५ वर्षे उमेर हदका कारण अवकाश पाएका ४६ जनालाई प्राथमिकतामा राखेर सरकारले बाँकी तलवभत्ता भुक्तानी गर्दै जाने पौडेलले बताउनुभयो । ‘पहिलो चरणमा हामीले अर्थ मन्त्रालयसँग ३० करोड रुपैया मागेका छौं, त्यो पैसा आएपछि उपदान पाउनुपर्ने ४६ जनाको बक्यौता भुक्तानी गर्छौं, बचेको पैसाबाट बाँकी कर्मचारीको कति महिनाको पुग्छ, त्यति समयको तलब दिन्छौं’ उहाँले भन्नुभयो ।

अवकाश पाएकाहरुको बाँकी तलव र उपदान सुविधामा मात्रै ८ करोड आवश्यक पर्ने उद्योग व्यवस्थापनले जनाएको छ । तीन किस्तामा बाँकी तलब भत्ता भुक्तानी गर्ने मन्त्रालयको लक्ष्य रहेको सहसचिव पौडेलको भनाई छ । ‘आउँदो भदौसम्ममा सबैले पाउनुपर्ने पैसा पाउनुहुन्छ, अब माघ ३ गतेदेखि जागिर सकियो भन्ने बुझ्नुहोस्’ पौडेलले भन्नुभयो ।

तर मजदुर नेता र कर्मचारीहरुले भने पूरै तलब नपाएको दिनसम्म हाजिरी हुन पाउनुपर्ने र यो अवधीको पनि सेवा सुविधा पाउनुपर्ने माग गरेका छन् । ‘हामीले ३ विषयमा उहाँको ध्यानाकर्षण गरायौं’ मजदुर नेता ईश्वर परियारले भन्नुभयो, ‘पूरै तलब नपाएसम्मको अवधीलाई सेवा अवधीका रुपमा गणना गरियोस् भनेका छौं, उमेरहदका कारण अवकाश पाएकाहरुलाई क्षतिपूर्ति सहित बाँकी तलव दिनुपर्छ भनेका छौँ र उद्योग सञ्चालन भएपछि इच्छुकलाई जागिरमा प्राथमिकता दिनुपर्छ भनेका छौं ।’ 

उद्योगका विभिन्न राजनीतिक दल आवद्ध मजदुर संघसंगठनले यसलाई साझा मुद्दा बनाएका छन् । तर उद्योग पुनः सञ्चालन कसरी गर्दा ठीक होला भन्ने विषयमा भने मजदुर कर्मचारी विभाजित देखिएका छन् । कोही सम्पूर्ण जिम्मा निजी क्षेत्रलाई दिनुपर्ने पक्षमा छन् भने कोही सरकारले नै चलाउनु पर्ने विचार राख्छन् । कसैले भने सार्वजनिक नीजि साझेदारीको मोडल उपयुक्त हुने बताएका छन् । रुग्ण ५ उद्योगलाई पुनः सञ्चालन गर्ने योजनामा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय छ । त्यसमध्येको एक गोरखकाली रबर उद्योग सञ्चालनमा चिनियाँ व्यवसायीहरुले चासो देखाएका छन् । 

चिनियाँ प्रविधिमा बनेको उद्योग कहिले चल्ला, कुन मोडलमा चल्ला वा चल्दै नचल्ला, त्यो भोलिका दिनमा खुल्दै जाला । तर मजदुर र कर्मचारीको एउटै स्वर छ, ‘हामी घाँडो भएका रहेछौं, त्यही भएर अवकाश दिइएको होला, जे भए पनि यो देशको गहना हो, यो उद्योग चलेकै राम्रो ।’  

अन्तिम अपडेट: बैशाख ६, २०८१

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया