फोरजी सेवा विस्तारका लागि टेलिकमकाे टेन्डर आह्वान प्रक्रियामा नेकपाकै सांसदहरुकाे आपत्ति

 माघ १३, २०७५ आइतबार १६:१९:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - फोरजी सेवा विस्तार गर्न भन्दै नेपाल टेलिकमले अघि बढाएको टेन्डर आह्वान प्रक्रियाप्रति सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)कै सांसदहरुले असन्तुष्टि जनाएका छन् । 

आइतबार संघीय संसद, अर्थ समितिको बैठकमा बोल्दै सत्तारुढ नेकपाकी सांसद रामकुमारी झाँक्रीले ४ अर्बमै सकिने कामलाई २२ अर्ब खर्च गरेर सो सेवा विस्तार किन गर्नु पर्‍यो (?) भनी सरकारलाई प्रश्न गर्नु भएको हो । उहाँले नेपाल टेलिकमले फोरजी सेवाको नाममा ठूलै आर्थिक घोटाला गरेको आशंका गर्दै तत्काल छानबिन गर्न पनि सरकारसँग माग गर्नुभयो ।

एनसेलले ४ अर्बमा सकेको कामलाई नेपाल टेलिकमले २२ अर्बको बजेट इस्टिमेट गरेर ठूलै आर्थिक चलखेल गर्न खोजेको उहाँको आरोप छ ।

सत्तारुढ नेकपाकै अर्का सांसद मेटमणि चौंधरीले टेलिकमको फोरजी सेवा विस्तारसम्बन्धी परियोजनामा ठूलो आर्थिक चलखेल भएको हुन सक्ने आशंका व्यक्त गर्नुभयो । उहाँले नेपाल टेलिकमले फोरजी सेवा विस्तारको नाममा आर्थिक अनियमितता गर्न खोजेको भन्दै आपत्ति पनि जनाउनु भयो ।

सांसद चौंधरीले नेपाल टेलिकमको सो परियोजनालाई पारदर्शी ढंगले अघि बढाउन पनि सरकारलाई सचेत गराउनु भयो ।

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया