राष्ट्र बैंकको अध्ययन : पर्यटकीय होटल बढे

 माघ १४, २०७५ सोमबार ७:४९:१७ | रासस
unn.prixa.net

काठमाण्डाै – सरकारले पर्यटन क्षेत्रमा गरेको लगानी तथा प्रचार प्रसारका कारण पछिल्लो दिनमा पर्यटकस्तरीय भौतिक पूर्वाधारको विकासमा गुणस्तरीय उपलब्धि देखिन थालेको छ । 

नेपाल राष्ट्र बैंकले गरेको पछिल्लो एक अध्ययनमा नेपालको प्रमुख पर्यटकीय नगरी पोखरामा पर्यटकस्तरीय होटलको सङ्ख्या वृद्धि भएको पाइएको छ । बैंकका अनुसार पोखरामा धेरै होटल निर्माण भएका छन् । 

प्रतिशतका आधारमा ३१.८ प्रतिशत होटल पोखरा क्षेत्रमा निर्माण भएका छन् । अध्ययनमा समेटिएका जिल्लामा पर्यटकस्तरीय होटल तथा लजको सङ्ख्या १२ प्रतिशतले वृद्धि भई दुई हजार ८६० पुगेको छ भने होटल श्यया सङ्ख्या ८.७ प्रतिशतले वृद्धि भई ७५ हजार ७९२ पुगेको छ । 

बैंकले कूल ७७ मध्ये ४७ जिल्लामा अध्ययन गरेको थियो । आर्थिक वर्ष २०७४/७५ मा गरिएको अध्ययनलाई बैंकले सार्वजनिक गरेको हो । बैंकका अनुसार पर्यटक आगमन सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ । 

पछिल्लो दिनमा घर/भवन नक्सा पास गराउनेको सङ्ख्यामा ४९.२ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०७३÷७४ मा त्यस्तो सङ्ख्या ३१.८ प्रतिशतले वृद्धि भएको थियो । विराटनगर र धनगढी क्षेत्रमा घर÷भवन नक्शा पास सङ्ख्यामा क्रमशः २.४ र ७.३ प्रतिशतले ह्रास आएको छ भने बाँकी अन्य क्षेत्रमा उल्लेख्य दरमा वृद्धि भएको छ । 

आर्थिक वर्ष २०७३/७४ मा घरजग्गा रजिष्ट्रेशन सङ्ख्या १०.५ प्रतिशतले वृद्धि भएकामा समीक्षा वर्षमा ८.५ प्रतिशतले घटेको छ । घर जग्गा रजिष्ट्रेशनवापतको राजस्वमा ०.२ प्रतिशतले वृद्धि भएको छ । 

गएकाे वर्ष यस्तो राजस्व ३९.५ प्रतिशतले बढेको थियो । क्षेत्रगतरुपमा घरजग्गा रजिष्ट्रेशनवापतको राजस्व सङ्कलनमा वीरगञ्ज, पोखरा र सिद्धार्थनगर क्षेत्रमा क्रमशः १०.९, ११.२ र २४.७ प्रतिशतले कमी आएको छ भने बाँकी सबै क्षेत्रमा वृद्धि भएको छ । त्यसमा धनगढी क्षेत्रमा सबैभन्दा बढी अर्थात् ५१ प्रतिशतले र काठमाडौँ क्षेत्रमा सबैभन्दा कम अर्थात् ०.३ प्रतिशतले वृद्धि भएको छ ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया