हराए रातो स्टीकर, जोखिमबारे अध्ययन गर्ने तयारी

 माघ १४, २०७५ सोमबार ८:३९:३४ | मदन पौड्याल
unn.prixa.net

काठमाण्डाै – २०७२ सालको भूकम्पलगत्तै जोखिममा रहेका विद्यालय भवनमा रातो स्टिकर टाँसियो । तर भूकम्पका बेला टाँसिएका रातो स्टीकर अहिले देखिँदैनन् । त्यतिबेला अति जोखिममा रहेका विद्यालयमा रातो, पढ्न मिल्ने तर मर्मत गर्नुपर्नेमा पहेँलो र सुरक्षित नै रहेका भवनमा हरियो स्टीकर थियो । तर अहिले रातो र पहेँलो स्टीकर देखिँदैन ।

नयाँ र भूकम्प प्रतिरोधी भवन बनाएर ती स्टीकर हटेका पनि होइनन् । भूकम्पले क्षति गरेकामध्ये झण्डै १५ सय विद्यालयका भवन त बन्नै बाँकी छ । ‘अहिले रातो स्टीकर पनि देखिंदैन, हटाएर पढाएकै छन्, भूकम्पपछि बनेका संरचना बाहेक अरु धेरै संरचना असुरक्षित नै छन्′ कीर्तिपुर नगरपालिकाको विपद् व्यवस्थापन समितिका संयोजक समेत रहेका वडा नम्बर ९ का अध्यक्ष गंगाराम महर्जनले भन्नुभयो । 
विद्यालय भवन मात्रै होइन, स्वास्थ्य संस्थाका भवनको अवस्था पनि यस्तै छ ।

पुराना र कमजोर भवन जोखिममा

पुराना र कमजोर भवनमा बसेर पढ्ने विद्यार्थी र पढाउने शिक्षक यसै पनि जोखिममा छन् । कमजोर स्वास्थ्य संरचनाका भवनबाट सेवा दिने स्वास्थ्यकर्मी र सेवा लिने बिरामीले पनि जोखिमको सामना गर्नुपर्ने अवस्था छ । २०७२ सालको भूकम्पपछि देशभरका विद्यालय र स्वास्थ्यका भवन कत्तिको सुरक्षित छन् भन्ने सोच्नुपर्ने अवस्था छ ।

झण्डै ३९ हजार भवन अध्ययन हुने

सन् २००५ अक्टोबरमा पाकिस्तानमा भूकम्प गयो । भूकम्पमा परी १८ हजार विद्यार्थीले ज्यान गुमाए । तर नेपालमा गएका पछिल्ला दुई भूकम्पमा विद्यालयका भवन भत्किए पनि कसैले ज्यान गुमाउनु परेन । 
२०४५ सालमा गएको भूकम्पबाट एक हजार २ सय विद्यालय भवन भत्के तर रातीको समय हुनाले विद्यार्थीहरु सुरक्षित भए । त्यस्तै २०७२ साल वैशाख १२ गते पनि शनिबार परेकाले विद्यालय भवन भत्केर विद्यार्थीले ज्यान गुमाउनु परेन । तर भौतिक संरचनाबाट हुने क्षति र जोखिम अहिले पनि उत्तिकै छ । किनभने सबै संरचना भूकम्प प्रतिरोधी बनिसकेका छैनन् ।

सामुदायिक र निजी गरी देशभर ३५ हजार २२ वटा विद्यालय छन् । तीमध्ये २९ हजार सामुदायिक विद्यालय छन् । त्यस्तै देशभर ४ हजार १ सय ३७ वटा स्वास्थ्य संस्था छन् । स्कुल र स्वास्थ्य संस्था गरी ३९ हजार १ सय ५९ वटा भवनको अवस्थाबारे अध्ययन गर्न लागिएको छ । 

भूकम्पका बेला २०७२ सालमा ७ हजार ५ सय ५३ विद्यालयमा क्षति भएको थियो । तीमध्ये ४ हजार १ सय ७२ पुनर्निर्माण सम्पन्न भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको तथ्याङ्क छ । एक हजार १ सय ९७ स्वास्थ्य संस्था पुनर्निर्माण गर्नुपर्ने रहेकोमा ६ सय ४३ पुनर्निर्माण भैसकेका छन् । तर भूकम्पले क्षति नभएका विद्यालय र स्वास्थ्य संस्थामा समेत अध्ययन गर्न लागिएको छ ।

विश्व बैंकको सहयोगमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले देशैभरका स्कुल र स्वास्थ्यका भवन अध्ययन गर्न लागेको हो । भूकम्प प्रभावित ३२ जिल्ला बाहेक अरु ४५ जिल्ला आफ्नो कार्यक्षेत्रमा नपर्ने भएपनि अध्ययन गर्न लागेको राष्ट्रिय प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीको भनाइ छ । अध्ययनपछि भूकम्पीय जोखिमको दृष्टिकोणले देशैभरका विद्यालय तथा स्वास्थ्य संस्थाका भवनको अवस्था कस्तो छ भन्ने थाहा हुने उहाँले बताउनुभयो ।

सबलीकरण र पुनर्निर्माण अर्को चरणमा

एक वर्ष भित्रमा ती भवनको जोखिम अध्ययनको काम सक्ने योजना प्राधिकरणको छ । जोखिम न्यूनिकरण गर्नु नै अध्ययनको मुख्य उदेश्य हो । जोखिमको अध्ययन सुरक्षित, सबलीकरण र पुनर्निर्माण गर्नुपर्नेमा केन्द्रित हुनेछ ।

जोखिम देखिएका तर भत्काउन नपर्ने स्कुल र स्वास्थ्य संस्थाका भवनलाई रेक्टोफिटिङ अर्थात् सबलीकरण गरिनेछ । तर बढी नै जोखिमको अवस्था देखिए भत्काएर पुनर्निर्माण गर्न सिफारिस गरिनेछ । सबलीकरण र पुनर्निर्माणको काम भने अर्को चरणमा हुनेछ ।

स्कुल र स्वास्थ्य संस्थाको अध्ययनका लागि पहाडी तथा हिमाली क्षेत्रमा केही चुनौती रहेकाले तीन तहका सरकारसँग सहकार्य गरेर अध्ययन गर्ने पनि प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले बताउनुभयो ।
 

अन्तिम अपडेट: चैत १६, २०८०

मदन पौड्याल

उज्यालोमा कार्यरत मदन पौड्याल राजनीति, प्रशासन र समसामयिक विषयमा कलम चलाउनु हुन्छ। पौड्यालको भूकम्पपछिको पुनर्निर्माणमा दख्खल छ।  

 

तपाईको प्रतिक्रिया