सप्तरीमा रोकिएन हात्ती आतंक

 माघ १४, २०७५ सोमबार ९:२०:१३ | शुभनारायण यादव
unn.prixa.net

सप्तरी – जिल्लाको उत्तरी र पूर्वी क्षेत्रमा जङ्गली हात्तीको आतङ्ग कायमै छ । आइतबार राति आएको एक हात्तीको समूहले रुपनी गाउँपालिका वडा नम्बर ६ का वीरबहादुर तामाङको घर भत्काएको छ । 

हात्तीले तामाङको अन्नपात, फर्निचर र घर पूर्ण रुपमा क्षती गरेको रुपनी गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष गोविन्दसिंह थापामगरले जानकारी दिनुभयो ।

त्यसैगरी छ वटाको समूहमा आएको जंगली हात्तीले अग्नीसाईर कृष्णासवरन गाउँपालिका वडा नम्बर २ का बलबहादुर राईको घर पनि भत्काएको छ । राईको घर भत्काएर चामाल, कोदो, मकै र घरभित्र रहेको भाँडाकुडासहित सामान नष्ट गरेको स्थानीय बासिन्दाले बताएका छन् । 

गएको तीन चार दिनमा मात्रै जङ्गली हात्तीको समूहले सप्तरीको पूर्वी क्षेत्रमा २८ वटा घरमा क्षति पुर्‍याउनुका साथै किसानले लगाएको लाखौँको बालीनाली नष्ट गरेको अग्नीसाईर कृष्णासवरन गाउँपालिकाका अध्यक्ष पर्शुराम चौधरीले जानकारी दिनुभयो । 

हात्तीले दैनिक ठूलो जनधनको क्षती गर्दासमेत सम्वन्धित निकायहरु भने मौन भएर बसेको पीडितले आरोप लगाएका छन् । जङ्गली हात्तीका कारण यस क्षेत्रका स्थानीयबासिन्दा रातभर जाग्राम बस्न बाध्य भएका छन् ।

अन्तिम अपडेट: बैशाख ३, २०८१

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया