डा. केसीको जीवन रक्षाको माग गर्दै चिकित्सकहरु रिले अनसनमा

 माघ १४, २०७५ सोमबार १४:९:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आमरण अनसनरत वरिष्ठ चिकित्सक गोविन्द केसीको जीवन रक्षाको माग गर्दै चिकित्सकहरुले रिले अनसन सुरु गरेका छन् । चिकित्सा क्षेत्रको समग्र सुधारको माग गर्दै १६ औं पटक महाराजगञ्जस्थित शिक्षण अस्पताल भित्रै रहेको गणेशमान भवनमा आमरण अनसनमा बस्नु भएका वरिष्ठ चिकित्सक केसीको जीवन रक्षाको माग गर्दै त्यही ठाउँमा चिकित्सकहरुले सोमबारबाट रिले अनसन सुरु गरेका हुन् ।

नेपाल चिकित्सक संघको आह्वानमा सुरु गरिएको रिले अनसन सोमबार बिहान १० बजेबाट सुरु गरिएको हो । वरिष्ठ चिकित्सक केसीको जीवन रक्षाका लागि सरकारलाई पहल गर्न दवाव दिन रिले अनसन सुरु गरिएको आवासीय चिकित्सकहरुले बताएका छन । उनीहरुले डा. केसीको माग सम्बोधन नगरे अस्पतालको सबै सेवा छोडेर आन्दोलन गर्न बाध्य हुने चेतावनी पनि दिएका छन् । अहिलेलाई अस्पतालको सेवालाई असर नपर्ने गरी उनीहरुले बिहान १० बजेबाट अपरान्ह ५ बजेसम्म रिले अनसन सुरु गरेका छन् ।

नेपाल चिकित्सक संघका अध्यक्ष मुक्तिराम श्रेष्ठले उपत्यकाका चिकित्सकले शिक्षण अस्पतालमा र बाहिर रहेका चिकित्सकहरुले आफू कार्यरत अस्पताल वा संघको शाखा कार्यालयहरुमा रिले अनसन सुरु गरेको जानकारी दिनुभयो । रिले अनसन सुरु गरेपनि अस्पतालको ओपीडी सेवा भने अवरोध नगर्ने चिकित्सकहरुको भनाई छ । तर डा. केसीको माग सुनुवाई सरकारले तत्काल नगरे उहाँको जीवन रक्षाका लागि अस्पतालको सबै सेवा ठप्प पार्न बाध्य हुने अवस्था आउने पनि संघका अध्यक्ष श्रेष्ठको चेतावनी छ । 

संघले डा. केसीको यस अघिको आमरण अनसनमा पनि साथ दिँदै आएको छ  । सरकारले आफूसँग भएको सहमति विपरित संघीय संसदबाट राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गराएपछि वरिष्ठ चिकित्सक केसीले आमरण अनसनलाई निरन्तरता दिने जनाउनु भएको छ । तर उहाँको स्वास्थ्य अवस्था भने झनै जटिल बन्दै गइरहेको छ ।

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया