बम दिदीबहिनीको पत्रकार सम्मेलन: आफूहरुकाे चरित्र हत्या गरिएकाे गुनासाे

 माघ १४, २०७५ सोमबार १७:१०:६ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर: रिपाेर्टर्स क्लब

काठमाण्डाै - निर्मला हत्याकाण्डमा मुछिएका बबिता बम र रोशनी बमले केही मानवअधिकारकर्मी र सञ्चारकर्मीहरुले आफूहरुको चरित्र हत्या गरेको उल्लेख गर्दै आपत्ति जनाएका छन् । 

सोमबार काठमाण्डाैमा दुवै दिदीबहिनीले पत्रकार सम्मेलन गरी आफूहरुको चरित्र हत्या गर्नेगरी प्रतिवेदन जारी गरेको भन्दै केही मानव अधिकारकर्मीप्रति आपत्ति जनाएका हुन् । आफूहरुसँग र छिमेकसँग घटनाबारे कुनै पनि जानकारी नलिइ आफूलाई डान्स बारमा काम गर्ने केटीको रुपमा चित्रण गरी चरित्र हत्या गर्ने काम केही मानव अधिकारवादीहरुले गरेकाले त्यसको खण्डन गर्न पत्रकार सम्मेलन गर्नुपरेको दिदी बबिता बमले बताउनुभयो ।

उहाँले आफूले निर्मला पन्तलाई एक-दुई चोटी घरमा बहिनीसँग आउँदा भेटेको भए पनि नचिनेको दावीसमेत गर्नुभयो । त्यस घटनालाई लिएर मानव अधिकारवादीहरुले आफूहरुको चरित्र हत्या गरेकाले न्याय माग्न काठमाडौं आउनु परेको बबिताले बताउनुभयो ।

बहिनी रोशनी बमले पनि आफूहरुकाे चरित्र हत्या गरेपछि न्याय माग्न काठमाडौं आउनु परेको स्पष्ट पार्नुभयो । उहाँले सो घटनाको सत्यतथ्य बुझिदिन सञ्चारकर्मीहरुलाई पनि आग्रह गर्नुभयो । निर्मला आफ्नो सहपाठी भएपनि दिदी बबिताले नचिनेको रोशनीको पनि दावी थियो ।

बबिता र रोशनी दुवै दिदीबहिनीले आफूहरुलाई दोषी देखाउन राज्यले नसकिरहेका बेला केही मानव अधिकारकर्मीहरुले झूट प्रतिवेदन सार्वजनिक गर्ने र धम्क्याउने गरेको भन्दै आक्रोश व्यक्त गरिरहेका थिए ।

कुनै पनि मानव अधिकारकर्मीहरुले त्यस घटनाबारे आफूहरुसँग र छिमेकीहरुसँग सोधपुछ नगरेको उनीहरुको दावी छ । दिदी बबिताले आफूलाई प्रहरीले दुई पटक गरेर २२ दिन जेलमै राखेर सोधपुछ गरेको पनि पत्रकार सम्मेलनमा बताउनुभयो ।

 

अन्तिम अपडेट: बैशाख ३, २०८१

1 Comments

  • Ganesh Siwakoti

    Jan. 28, 2019, 5:48 p.m.

    सरकारको अकर्मण्यताका कारण यिनीहरुले पनि दुख पाए ... !

  •  0 Reply

तपाईको प्रतिक्रिया