सामाजिक सुरक्षा कार्यक्रममा सूचिकृत भएकामध्ये २ सय ७५ रोजगारतादालाई प्रमाणपत्र

 माघ १४, २०७५ सोमबार १८:१४:५४ | उज्यालो सहकर्मी

काठमाण्डौ – सरकारले सामाजिक सुरक्षा कार्यक्रममा सूचिकृत भएका २ सय ७२ वटा कम्पनीका रोजगारदातालाई प्रमाण पत्र वितरण गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले सोमबार काठमाडौंमा एक कार्यक्रमका बीच सामाजिक सुरक्षा कार्यक्रममा सूचिकृत भएका २ सय ७२ वटा कम्पनीका रोजगारदाताहरुलाई प्रमाण पत्र वितरण गर्नु भएको हो । 

गत मंसीर ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीले सबै श्रमिकले अनिवार्य पेन्सन पाउने गरी सामाजिक सुरक्षा कार्यक्रम घोषणा गर्नु भएको थियो । सोही कार्यक्रम अन्तर्गत प्रदेश ३ बाट मात्रै ६ सय २५ वटा कम्पनीले सामाजिक सुरक्षा कार्यक्रममा सहभागी हुन आवेदन दिएका थिए । तीमध्ये २ सय ७२ जना रोजगारदातालाई प्रमाण पत्र दिइएको हो ।  

कार्यक्रममा बोल्दै मन्त्री विष्टले सो कार्यक्रममा सूचिकृत हुने सबै रोजगारदाता कम्पनीप्रति आभार व्यक्त गर्नु भयो । उहाँले सबै श्रमिकहरुको सुरक्षित र मर्यादित जीवनयापनका लागि सरकारले संचालनमा ल्याएको सामाजिक सुरक्षा कार्यक्रम चुनौतिपूर्ण रहेको उल्लेख गर्दै त्यसको कार्यान्वयन सावधानीपूर्वक अघि बढाउने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो । 

रोजगारदाता कम्पनी, सरकार र श्रमिकहरुको हितमा केन्द्रित सो कार्यक्रम प्रभावकारी कार्यान्वयनका लागि सबै श्रमिक संघ, संगठनसँग केही दिन भित्र छलफल गर्ने मन्त्री विष्टको योजना छ ।

सामाजिक सुरक्षा कार्यक्रममा सहभागिता जनाउनेमा नेपालका ठूलो व्यवसायिक घरानादेखि विभिन्न साना कम्पनीहरु रहेका छन । चौधरी ग्रुप, गोल्छा ग्रुप, जगदम्बा ग्रुप, बालाजु औद्योगिक क्षेत्र, जलविद्युत कम्पनीलगायतका सबै सानाठूला उद्योग सामाजिक सुरक्षा कार्यक्रममा सहभागी भएकाले आगामी दिनमा सो कार्यक्रम प्रभावकारी ढंगले अघि बढने मन्त्री विष्टको विश्वास छ । 
 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया