संवैधानिक परिषदको निर्णय फिर्ता गर्न कांग्रेसकाे माग

 माघ १४, २०७५ सोमबार १९:५८:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गएकाे माघ ६ गते बसेको संवैधानिक परिषदको निर्णय फिर्ता गर्न संसदीय सुनुवाइ विशेष समितिसँग माग गरेको छ ।

समितिको सोमबार सिंहदरबारमा बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबाट समितिमा प्रतिनिधित्व गर्ने ज्ञानेन्द्रबहादुर कार्की, जितेन्द्रनारायण देव, भिमसेनदास प्रधान र पुष्पा भुसालले प्रमुख प्रतिपक्षी दलको नेताको अनुपस्थितिमा बसेको बैठकको निर्णय मान्य नहुने भन्दै संवैधानिक परिषदमै सो निर्णय फिर्ता गराउन माग गर्नु भएको हो ।

माघ ६ गते बसेको संवैधानिक परिषदको बैठकले प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाको अनुपस्थितिमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगलगायतका पाँच वटा संवैधानिक आयोगको अध्यक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

उक्त निर्णय संविधान र कानुन विपरीत रहेकाले समितिले संवैधानिक परिषदमै फिर्ता गर्नुपर्ने कांग्रेसको तर्क छ । कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रमुख प्रतिपक्षी दलको नेतालाई सूचना नै नदिई संवैधानिक परिषदले गरेको निर्णय मान्य नहुने पार्टीको अडान रहेको स्पष्ट पार्नुभयो ।

उहाँले संवैधानिक परिषदको उक्त निर्णय संविधान, ऐन, कानुनी प्रक्रिया र पद्धतिको ठाडै उलंघन हुनेगरी आएकाले संसदीय सुनुवाई विशेष समितिमा आएको सो सिफारिसमाथि सुनुवाई गर्न नहुने बताउनुभयाे । 

कांग्रेस केन्द्रीय कार्य समितिको आजको बैठकमा पनि नेताहरुले संविधान विपरीत गरिएको निर्णय संवैधानिक परिषदमा फिर्ता नभए न्यायका लागि अदालत जाने विषयमा पनि छलफल भएको थियो ।

छलफलमा नेताहरुले कानुनविद्हरुसँग आवश्यक परामर्श गरेर अघि बढ्ने विषयमा जोड दिएकाे प्रवक्ता शर्माले बताउनु भयो ।

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया