रुख काट्न नपाउँदा ट्रान्समिसन लाइन निर्माणमा समस्या

 माघ १४, २०७५ सोमबार २०:४७:३० | हरि हुमागाईं
unn.prixa.net

काठमाण्डाै - वन क्षेत्रको जग्गा प्रयोग तथा रुख बिरुवा हटाउने अख्तियारी नपाउँदा रणनीतिक महत्वको हेटौँडा ढल्केबर–दुहबी ४०० केभी डबल सर्किट प्रसारण लाइन आयोजनाको काम साढे दुई वर्षदेखि रोकिएको छ ।

डिभिजन वन कार्यालय सप्तरीले आयोजनाको महत्वलाई नबुझ्दा लामो समयदेखि उक्त प्रसारण लाइन निर्माणमा अवरोध भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

रुख कटानको स्वीकृति दिन आयोजनाले पटकपटक गरेकोे आग्रहकोसमेत सुनुवाइ नभएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभयाे ।

रुख हटाउन अवराेध हुँदा सप्तरीमा पर्ने आयोजनाको टावर निर्माण रोकिएको छ । प्रसारण लाइनको निर्माण आगामी एक वर्षभित्र सम्पन्न हुन नसकेमा त्यसले चौतर्फी प्रभाव पार्ने उहाँको भनाइ छ ।

माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको विद्युत् पूर्वाञ्चललगायत क्षेत्रमा लैजानका लागि उक्त प्रसारण लाइन रणनीतिकरुपमा महत्वपूर्ण छ । समयमै ट्रान्समिसन लाइन नबने कूल ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशीको विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गर्न नसकी खेर फाल्नुपर्ने जोखिम रहेकाे घिसिङले बताउनुभयाे ।  

रुख कटानको सम्पूर्ण प्रक्रिया पूरा गर्दासमेत कटान अनुमति प्राप्त नहुँदा प्राधिकरण समस्यामा छ । ‘देशकाे पूर्वदेखि पश्चिमसम्म धेरै जिल्ला पार गर्दै उच्च क्षमताका प्रसारण लाइनको निर्माण गर्नुपर्ने छ, हरेक वन कार्यालयले यसरी नै अवरोध गर्ने हो भने प्रसारण लाइनको निर्माण कसरी गर्न सकिन्छ,’  उहाँले प्रश्न गर्नुभयाे । 

माथिल्लो तामकोशीबाट आगामी कात्तिकदेखि विद्युत् उत्पादन गर्ने लक्ष्य छ । दोलखाको गोंगर–खिम्ती (रामेछाप)–ढल्केबर (धनुषा) २२० केभी प्रसारण लाइनमार्फत आउने विद्युत् ढल्केबर पूर्व र पश्चिममा विद्यमान १३२ केभी क्षमताको प्रसारण लाइनले नधान्ने प्राधिकरणले जनाएको छ ।

हेटौंडा–ढल्केबर–दुहबी २८५ किलोमिटर प्रसारण लाइनमा बनाउनु पर्ने ७९२ टावरमध्ये सप्तरीमा मात्रै १४२ टावर रहन्छ । त्यसमध्ये ११७ वटा टावरको जग हालिसकिएको र बाँकी २५ मध्ये १३ वटा टावर वन क्षेत्रभित्र परेका छन् ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया